खेलकुद प्रशिक्षक प्रशिक्षण तालिमको पाँचौ दिन सैद्धान्तिकमा सिमित
कार्तिक ५, २०७९, शनिबार | विहान ०८:३९ बजे | 55
भक्तपुर, कार्तिक ५ । विद्यालय स्तरमै राम्रा खेलाडी उत्पादन गर्ने उद्देश्य सहित भक्तपुर नगरपालिकाले गत कार्तिक १ गतेदेखि ६ गतेसम्म संचालन गरिरहेको विभिन्न खेलहरूको प्रशिक्षण पाँचौ दिन शनिबार पनि चालु रहेको छ । हरेक दिन दुई सत्रमा संचालन भएको प्रशिक्षण शनिबार भने एक सत्रमा मात्रै सम्पन्न भयो । सो दिन विद्यालयमा सिकाइने विभिन्न खेलको पाठयोजना निर्माण र कब्बडीको नियम र अनुशासनको आवश्यकता सम्बन्धि सैद्धान्तिक ज्ञान दिएको थियोे । सो प्रशिक्षणमा भलिबलकाे लेभल २ का प्रशिक्षक विजय कृष्ण बाडेले स्वास्थ्य तथा शारीरिक शिक्षाको कक्षा शिक्षणमा खेलको सीप विद्यार्थी समक्ष सहज र सरल तरिकाले प्रदान आवश्यक पाठयोजनाको निर्माण र त्यसमा आवश्यक उद्देश्य, विषयवस्तु, कक्षा संगठनले गर्ने निपुणताका बारेमा प्रशिक्षार्थी शिक्षकहरूलाई अन्तरक्रिया माध्यमबाट प्रस्ट पार्नुभयो । सोही प्रशिक्षणमा अखिल नेपाल कब्बडी संघका सदस्य, अन्तर्राष्ट्रिय कब्बडी प्रशिक्षक तथा विशेषज्ञ पशुपति प्रजापतिले कब्बडी खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमको जानकारी सहित खेलमा जित्नु भन्दा पनि अनुशासन प्रमुख रहेको बताउँदै कुनै पनि खेल खेल्नु शारीरिक र मानसिक रूपमा तन्दुरुस्त हुनु हो भन्नुभयो । उहाँले कब्बडी खेलमा पाउने बोनस र अंक केकसरी पाउने र गुमाउने हो सो बारे पनि आफ्नो खेल र रेफ्री हुँदाका अनुभव पनि सुनाउनुभयो । भक्तपुर नगरभित्रका १० वटा आधारभूत विद्यालय, २१ वटा संस्थागत मावि, ११ वटा सामुदायिक मावि र १ सैनिक विद्यालय गरेर जम्मा ४३ वटा विद्यालयका शिक्षकहरूले भक्तपुर नगरपालिकाद्वारा प्रशिक्षण दिएका ६ वटा खेलकाे प्रयोगात्मक सीपहरू सिकिरहेका छन् । शनिबार हुन नसकेको कब्बडी खेलको प्रयोगात्मक सीप उपयुक्त समयमा निकट भविष्यमा दिने भक्तपुर नगरपालिकाले दिने जनाएको छ