साइकलिङ हब बन्दै भक्तपुर, युवा तथा व्यवसायीहरू पनि उत्साहित


असार २६, २०७९, आइतबार | विहान ०५:५१ बजे | 50


साइकलिङ हब बन्दै भक्तपुर, युवा तथा व्यवसायीहरू पनि उत्साहित

भक्तपुर । पछिल्लो समय नेपालभरि नै साइकल प्रेमी तथा यात्रीहरूको संख्या बढेको देखिन्छ। हरेक महिना जसो देशको विभिन्न स्थानमा हुने साइकल सम्बन्धि कार्यक्रममा साइकलि प्रेमीहरूको बाक्लो उपस्थिति देखिन्छ। यसै क्रममा भक्तपुर जिल्ला पनि साइकलिङ हबको रूपमा परिचित हुदै गइरहेको यहाँका युवाहरू माझ चर्चाको विषय बनेको छ। यहीँ आउँदो असार ३२ गते शनिबार साइकल कनेक्ट भक्तपुरको आयोजनामा हुन गइरहेको कोरा साइलिङ च्यालेन्जको निम्ति नयाँ तथा पुराना साइकल प्रेमी भक्तपुरवासीहरू निक्कै उत्साहित देखिन्छन्। ५० कि.मि., ७५ कि.मि वा १०० कि.मि. को दुरी एकै दिनमा साइकल चलाउने चुनौती कोरा साइकलिङ च्यालेन्ज दोस्रो पटक भक्तपुरमा आयोजना हुदैछ। भक्तपुर दरबार क्षेत्रबाट शुरू हुने उक्त यात्राले भक्तपुरमा रहेका विभिन्न थुम्काहरूबाट साइकल यात्रा गरी भक्तपुर जिल्लाको परिक्रमा गर्नेछ।
सांस्कृतिक तथा प्राकृतिक रूपमा धनी काठमाडौँ उपत्यकामा भक्तपुर जिल्ला मनोरञ्जनात्मक तथा साहसिक साइकलिङको हिसाबमा सबै भन्दा प्राइम लोकेशनको रूपमा उभिन सक्छ। अहिले हरेक शनिबार र बिदाको दिन भक्तपुरको मात्र नभइ काठमाडौँ र पाटनबाट पनि धेरै साइकलिस्टहरू भक्तपुरको विभिन्न स्थानमा साइकलिङ गर्न आउँछन। व्यवस्थित रूपमा भक्तपुरमा साइकलिङको विकास तथा प्रवर्धन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा नै भक्तपुरलाई साइकलिङ गन्तव्यको चिनारी स्थापित गर्न साइकल कनेक्ट भक्तपुर योजनाबद्ध किसिमले अगाडी बढेको साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बाला बताउनुहुन्छ।
सम्भावना चिन्ने र यसमा लगानी गर्ने बाट नै नौलो आयामको शुरूवात हुने विचार राख्दै अहिले भक्तपुरका युवाहरूको स्वास्थ्य तथा वातावरण मैत्री साइकलिङ प्रवर्द्धनमा देखाएको लगनशीलताले पक्कै पनि भक्तपुर र नेपालमा व्यवसायिक रूपमा नै साइकलिङलाई स्थापित गर्न सकिने सम्भावना रहेको युवा उद्दमी  नेपाल इको प्यानेलका कार्यकारी निर्देशक कृष्णभक्त दुवाल बताउनु हुन्छ।
पर्यटन क्षेत्रले नेपाललाई संसारमा चिनाउने मात्र नभइ देशको अर्थतन्त्रमा धेरै टेवा पुराएको छ। नेपाल भित्रिने विदेशी पर्यटकहरूलाई मात्र नभइ स्वदेशी पर्यटकहरूलाई पनि भक्तपुर आइसकेपछि छोटो समयमा धेरै भन्दा धेरै अनुभवहरू संगाल्ने तथा भक्तपुरमा लुकेका धेरै पर्यटकिय गन्तव्यलाई वातावरणीय रूपमा क्षति नगरी प्रवर्धन गर्न साइकलिङ लाई एक उचित तथा रोचक माध्यम बनाउन सकिने पर्यटन व्यवसायी तथा भिलेज हाइल्यान्ड रिसोर्टका सञ्चालक राम सुन्दर बके बताउनु हुन्छ।
कोरा साइलिङ च्यालेन्जको तयारीको लागि नियमित साइकलिङ शुरू गरेका अर्का युवा व्यवसायी ताम्राकार कर्पोरेट ग्रुपका सञ्चालक सदिन ताम्राकार पनि भक्तपुरमा बढिरहेको साइकल संस्कृतिले युवा जमातलाई शारिरिक, मानसिक तथा समाजिक रूपमा सक्रृय बनाएको कुरा व्यक्त गर्नु हुन्छ। त्यसैगरी इनाचोस्थित जुजु बाइक्सका सञ्चालक रमेश कोजुले भक्तपुरमा माउन्टेक बाइक प्रति रूची राख्ने धेरै नै रहेको तर सामान्य सर्भिसिङ गर्न पनि काठमाडौँ जानुपर्ने बाध्यतालाई अन्त्य गर्न यही यो व्यवसाय शुरू गरेकोमा अहिले सर्भिसिङ गर्न र नयाँ साइकल किन्न धेरै आउने गरेकोले व्यवसाय बिस्तार गर्ने सोचाइमा रहेको बताउनु भयो।

Comments