भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता सुरु


असार १६, २०७९, बिहीबार | विहान ०६:१६ बजे | 10


भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आयोजनामा भएको तीनदिने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताको बिहीबार लिबाली कभर्ड हलमा खेलकुद सामाग्री हस्तान्तरण गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले खेलकुद नागरिक जीवनको अभिन्न अंग भएको बताउनुहुँदै खेलकुदको माध्यमबाट देशभरका नगरपालिकाहरूबीच सम्बन्ध विस्तार गर्न अन्तरनगर खेलकुद प्रतियोगितालाई निरन्तरता दिइने बताउनुभयो ।
भक्तपुर नपाले खेलाडीहरूलाई उत्साहित गर्न नगरस्तरीय र विद्यालयस्तरीय खेल प्रतियोगिताहरू गर्दै आइरहेको बताउनुहुँदै नगरपालिकाले वडा—वडामा गठित खेलकुद समितिहरूलाई सक्रिय पार्ने बताउनुभयो ।
नगरकोटको खानेपानीको मुहानसँगै निर्माणाधीन खेलमैदानतर्फ प्रदेश सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउनुहुँदै लाखौँ जनताले उपभोग गरिरहेको खानेपानीको मुहान सुक्नेगरी जथाभावी गैरजिम्मेवार काम गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले खेलकुदका कारण समाजमा सुरक्षित भएर बाँच्ने आधार तय हुने बताउनुहुँदै देशको सार्वभौमिकता रक्षाको निम्ति खेलाडीहरु अग्रसर भएर लाग्नुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला खेलकुद समितिका अध्यक्ष किरण थापाले विद्यालय जीवनबाट खेलकुदमा अग्रसर भई देशको निम्ति योगदान गर्नुपर्ने बताउनुहुुँदै यस किसिमको प्रतियोगिताले भक्तपुरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पु¥याउने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा कार्यपालिका सदस्य सुनिता अवाल र भनपा वडा नं. ३ का वडाध्यक्ष उपेन्द्र सुवालले पनि बोल्नुभएको थियो ।
भक्तपुर नपाको आयोजनामा भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता असार १६, १७ र १८ गतेसम्म हुने र उक्त प्रतियोगितामा कबड्डी, एथ्लेटिक्स, भलिबल र कराँते गरी चारवटा खेल सञ्चालन हुने आयोजनक समितिले जनाएको छ ।

Comments