साइकल कनेक्ट २१ दिने साइकलिङ च्यालेन्जको पुरस्कार वितरण सम्पन्न, सुनिलले जिते प्याङ्क कस्टम माउन्टेन बाइक


जेठ २८, २०७९, शनिबार | साँझ ०४:३९ बजे | 0


साइकल कनेक्ट २१ दिने साइकलिङ च्यालेन्जको पुरस्कार वितरण सम्पन्न, सुनिलले जिते प्याङ्क कस्टम माउन्टेन बाइक

भक्तपुर । नयाँवर्ष २०७९ को अवसरमा साइकल कनेक्ट भक्तपुरले आयोजना गरेको २१ दिने साइकलिङ च्यालेन्जको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । आम मानिसलाई साइकलप्रति अभिरूचि बढाउन नविन कार्यक्रमहरू गर्ने क्रममा “नयाँ वर्षमा आफैभित्र केही नयाँ खोजौँ” भन्ने मुल मन्त्रसहित २०७९ वैशाख १ देखि वैशाख २१ सम्म प्रथम पटक यो च्यालेन्ज आयोजना गरेको थियो ।
१६ जना सहभागी रहेको उक्त च्यालेन्जमा हरेक दिन कम्तीमा २ कि.मी साइकल चलाउनुपर्ने र साथसाथै अन्य विभिन्न कार्यहरू गर्नुपर्ने थियो । जसअनुरूप सहभागीहरूले अंक प्राप्त गर्ने रोचक प्रतिस्पर्धा रहेको थियो ।
च्यालेन्जको अन्तसम्म सुनिल सुवालले ६९०० अंक सहित प्रथम स्थान हासिल गरेर प्याङ्क कस्टम माउन्टेन बाइक पुरस्कार हासिल गरे । साथै दोस्रो स्थानमा सुधिर पराजुलीले इन्डकसन हिटर पुरस्कार हासिल गरे । तेस्रो र चौठौ स्थान हासिल गर्न सफल बिकास तमाखु र निशान त्वायनाले ताम्राकार कर्पोरट ग्रुपकोतर्फबाट वाटर बोटल प्राप्त गरे । च्यालेन्जमा मोस्ट कन्सिस्टेन्त राइडरको उपाधि निर्जला कोजु, कमिनिका न्याइच्याई र निर्मला कुटुवले हासिल गर्दै जुजु बाइक्सकोतर्फबाट विषेश उपहार प्राप्त गरे ।
प्याङ्क बाइक, ताम्राकार कर्पोरेट ग्रुप, जुजु बाइक्स तथा नेपाल इको प्यानेलको सहयोगमा आयोजना गरिएको उक्त च्यालेन्जमा १६ जना मध्य १४ जनाले च्यालेन्ज सफलतापूर्वक पुरा गरेका थिए । साइकलिस्ट तथा संस्कृतिविद डा. पुरुषोत्तमलोचन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको ख्वप छेंमा आयोजित पुरस्कार कार्यक्रममा सम्पूर्न सफल सहभागीहरूलाई प्रमाणपत्र तथा मेडलले सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा सांस्कृतिक नगर भक्तपुर पैदल र पेदलमैत्री बनाउन आवश्यक रहेको जिकिर गर्दै साइकल कनेक्ट भक्तपुरका सल्लाहकार गणेशप्रसाद दुवालले साइकल कनेक्ट भक्तपुरले हरेक उमेर समुहलाई साइकलमार्फत जोड्दै भक्तपुरको चिनारी फैलाउन आफ्नो स्थानमा योगदान गर्दै आएको बताउनुभयो । सार्वजनिक स्थान र सडकमा गाडीमा सवार यात्री मात्र नभएर पैदलयात्री र साइकल यात्रीहरूको पनि उत्तिकै अधिकार रहेको र अनावश्यक रूपमा ईन्धन र उर्जा खपतलाई कम गर्न साइकल संस्कृतिलाई बढावा दिन आवश्यक कुरामा जोड दिदैँ नेपालको सबैभन्दा पुरानो साइकल पसल प्याङ्क बाइकका सञ्चालक तथा कार्यक्रममा अतिथी तिरेक मानन्धरले लकडाउनपछि नेपालमा साइकल संस्कृति अझ मौलाउदै गएकोमा हर्ष व्यक्त गर्नुभयो । प्रमुख अतिथी डा. पुरुषोत्तमलोचन श्रेष्ठले साइकल भनेको जति चलायो त्यति आनन्द मिल्ने र अरू साधन भन्दा आफूलाई साइकलमा जहाँ गए पनि सहज महशुस हुने अनुभव बताउनुभयो । साथै साइकल कनेक्ट भक्तपुरको भविष्यमा हुने कार्यक्रममा आफू पनि सहभागी हुने इन्छा व्यक्त गर्दै सफलताको शूभकामना व्यक्त गर्नुभयो । कार्यक्रमको अन्तमा साइकल कनेक्ट भक्तपुरका अध्यक्ष तथा कार्यक्रमका सभापति सुमित बालाले च्यालेन्जका सहभागी तथा सहयोगीहरूलाई धन्यवाद दिदै भविष्यमा भक्तपुरमा एक परिष्कृत र असल पैदल र पेदलमैत्री संस्कृतिको विकासको लागि साइकल कनेक्ट भक्तपुरको मुल मान्यताहरूलाई आत्मसात गर्दै अझ रोजक कार्यक्रमहरू गर्ने बताउनुभयो । कार्यक्रममा रियाज कर्माचार्यले साइकल कनेक्ट भक्तपुरको छोटो परिचय तथा बिकेश थुसाले २१ दिने च्यालेन्जको विषयमा बोल्नुभएको थियो ।

Comments