बुद्ध जयन्तीको अवसरमा भक्तपुरमा बौद्ध सम्पदा अध्ययन भ्रमण साइकल यात्रा हुने
बैशाख २९, २०७९, बिहीबार | विहान ०७:३९ बजे | 5
नेपालको लुम्बिनीमा जन्म लिनुभएका विश्व शान्तिका अग्रदुत भगवान् बुद्धको जन्म, सम्यक सम्बोधिलाभ तथा महापरिनिर्वाण भएको त्रिसंयोगको पवित्र पूर्ण दिन बैशाख पुर्णिमा बुद्ध सम्बत २५६६ औं बुद्ध जयन्तीको अवसरमा बुद्ध जयन्ती समारोह समिति, मुनि बिहार भक्तपुर तथा साइकल कनेक्ट भक्तपुरको संयुक्त आयोजनामा भक्तपुरमा रहेका बौद्ध सम्पदाको अध्ययन भ्रमण साइकल यात्रा हुने भएको छ। बैशाख ३१ गते शनिबारको दिन बिहान ७ बजे भक्तपुर ईनाचोमा अवस्थित मुनि बिहारबाट शुरू हुने उक्त यात्रामा सहभागीहरुले भक्तपुरमा रहेका विभिन्न महाबिहार, बाहा, बहि तथा चैत्यहरूको अध्ययन भ्रमण गर्ने कार्यक्रम रहेको छ।
साइकल यात्रा धर्मोत्तम महाबिहार (मुनि बिहार)– खँचा बाट शुरु भइ ईन्द्रवर्ण महाबिहार – ईनाचो, मंगल धर्मदिप महाबिहार ( झौरबही)– गोलमढी, लुँ बहा, सुकुलढोका – चतुरब्रह्म महाबिहार – साकोठा बाट टौमढी हुदै अखण्डशील महाबिहार – बोलाछेँ, नासमना हुदैँ खौमा बहा – खौमा, पद्मपानी लोकेश्वर (लस्क द्य) – इनाछेँ, जेतवर्ण महाविहार – तेखापुखु, कुटु बही– भार्वाचो, थथु बही– नः पुखू, पुण्य जेतवन महाबिहार– इटाछे बाट भक्तपुर दरबार स्वायर – बालाखु – त्रीपुरासुन्दरी – छुमागणेश – महालक्ष्मी – वाउँ बहा, बेखाल , प्रशन्नशील महाबिहार– क्वाथन्दौ बाट नवदुर्गा– गछें हुदै आदिपद्म महाविहार– सूर्यमढी बाट जेंंला – वाचु टोल हुदैँ पुनः मुनि बिहारमा पुगेर समापन हुने छ। सम्पदा अध्येता तथा लेखक गणेशराम रञ्जितले कार्यक्रमका सहभागीहरूलाई भक्तपुरमा रहेका विभिन्न बौद्ध सम्पदा सम्बन्धित इतिहास तथा किंवदन्तीको बारे सो यात्राको दौरान बताउनु हुनेछ। भक्तपुरका युवा पुस्तालाई यहाँ रहेका सम्पदाहरूको विषयमा ज्ञान वृद्धि गराउने तथा सम्पदाको महत्व र संरक्षणको बारे सचेत बनाउन यस अध्ययन भ्रमणको कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा सहभागी भएर सम्पदाबारे अध्ययन अवलोक गर्न तथा भक्तपुरमा साइकल संस्कृतिलाई विकास गर्न सबैलाई निमण्त्रणा गर्दै भगवान बुद्धको शान्ति, मैत्री र करूणाको सु–सन्देश फैलाउन सबैले आ–आफ्नो स्थानबाट योगदान गर्न आयोजकको तर्फबाट साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाले आह्वन गर्नुभएको छ।