खोकनामा बीउमाथि बूट


असार १६, २०७७, मङ्गलबार | दिउँसो १२:२३ बजे | 55


राजु छुस्याबाग
स्टकहोल्म
१.२०४६ सालको जन आन्दोलनले पुनर्स्थापित गरेको प्रजातन्त्र सही अभ्यास (पार्दशिता, जवाफदेहिता र योग्यता) को अभाबमा २०५२ सालसम्ममा माओवादिको बीउ बिजारोपण गर्ने अबस्थामा पुगेको थियो। नेतृत्वका सामन्ती र समाजका विभेदकारी र पछौटे संस्कार हाबी हुँदा देखिएका बिकृतिहरु माओवादि हुर्कन मलजल हुन पुगे। तत्कालिन आन्तरिक राजनैतिक शक्तिहरु दरवार र दलहरु बीचको शक्ति संघर्ष र अमेरिका र भारत बीचको हतियार बेच्ने होडमा माओवादिले पाएको विभिन्न दृश्य अदृश्य धाप र प्रसय नै माओवादि बिस्तार र प्रसारको अर्को महत्वपूर्ण घोटक बन्यो। त्यसमाथि झन चाहिने कुरा नसिकेर नचाहिने कुरा सिक्नु राम्रो परम्परा ठान्ने नेपाली समाजको प्रवृतीले माओबादिलाई १७००० को रगतमा आहलै खेल्न दिए।
२.    ’’भ्रष्टाचार कदापि अन्त्य हुन्दैन, केवल अनुपात मात्र कम हुन सक्छ’’ भन्ने ली क्वान यू (ीभभ प्गबल थ्भध) को सिंगापुरमा सन् १९५९ मा प्रथम प्रधानमन्त्रीको रुपमा उदय भयो। उनले सन् १९९० सम्म निरन्तर आफ्नो ३१ बर्षे प्रधानमन्त्रीत्व कालमा सिंगापुरलाई तेस्रो विश्वको बिकासोन्मुख देशबाट प्रथम विश्वको बिकसित देशमा उकाले। आफ्नै पुस्तामा यो परिवर्तन देखेका सिंगापुरका जनताले लीलाई सम्मानले संस्थापक राष्ट्रपिताको संज्ञा दिएका छन्। त्यसैगरि माहाथिर मोहमद (ःबजबतजष्च ःयजबmबम) सन् १९८१ देखि २००३ सम्म मलेसियामा प्रधानमन्त्री भए र उनले पनि आफ्नो २२ बर्षे कार्यकालमा देशलाई उन्नतिको उकालो चढाए।  
३    बितिसकेका प्रधानमन्त्रीहरुका कुरा नगरी नेपाललाई सिंगापुर जस्तै बनाई दिने बाचा सहित हाल जीवित रहेका भूतपूर्व तथा बाहालवाला प्रधानमन्त्रीहरुका बारेमा छोटो टिप्पणी गरौँ। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा ४ पटक प्रधानमन्त्री भैसकेका छन् र जोतिषिले उनलाई ७ पटकसम्म प्रधानमन्त्री हुने योग रहेको कुरा उनी आफैले भनेबाट अझै तीन पटक प्रधानमन्त्री हुने उनको पालो बाँकि नै रहेको छ। देउवाले आफ्नो प्रधानमन्त्रीत्व कालमा भारतसंग २०५२ सालमा गरेको माहाकाली सन्धिप्रति गर्व गर्ने गरेका छन्। बाहालवाला प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीको पनि यो दोस्रो प्रधानमन्त्रीत्व काल हो। ओली पनि माहाकाली सन्धि बार्षिक १ खर्ब २२ अर्ब आम्दानी दिने सन्धि भनी संसदबाट पारित गराउन अगुवाई नै गर्ने तत्कालिन प्रतिपक्षका नेता थिए। तर सन्धि भएको २५ बर्ष भैसक्दा पनि माहाकालीबाट एक पैसा पनि राज्यलाई आम्दानी नहुनुले देउवाको सन्धिप्रतिको गर्ब भूगर्भ लुप्त भएको छ र ओलीको बार्षिक १ खर्ब २२ अर्ब आम्दानी हुने हिसाब पिसाब भै माहाकाली मै बगीरहेको छ। १७००० हजार मध्ये आफूले ५००० को रगतमा आहाल खेलेको खुल्लामंचबाटै घोषणा गरेका पुष्प कमल दाहाल प्रचण्ड पनि दुइ पटक नेपालका प्रधानमन्त्री भैसकेका छन्। उनी भैसी पूजा गरी चर्चित भएका व्यक्तित्व हुन्। डा. बाबुराम भट्टराई भारतको जेएनयूबाट पीएचडि गरेका अर्का प्रधानमन्त्री हुन्। उनी नेपालको साँचो बाहिरै भएको अभिव्यक्ति दिई चर्चा खाने प्रधानमन्त्री हुन्। हाल उनी दस बर्षे जनयुद्द असान्दर्भिक भएको भनी आफूले रगतको आहालमा खेलेको अपराधबाट मुक्ति खोज्ने कोशिसमा छन्। माधब कुमार नेपल, झलनाथ खनाल आदि पनि प्रधानमन्त्री भैसकेका तर केहि लछारपाटो नलगाएका पात्रहरु हुन्। २०४६ को प्रजातन्त्र पुनर्स्थापनादेखि हालसम्म एक दर्जन भन्दा बढि प्रधानमन्त्रीहरु भए र उनीहरुले सबैले नेपाललाई कागजको सिंगापुर बनाए।   
४ असार पन्ध्र। धान दिवस। दहि चिउरा खाने दिन। कृषिमन्त्री हरिप्रसाद पराजुलीले २०७२ सालको धान दिवसमा रोपाहा महिलाहरुमाथिअभद्र र अमर्यादित ब्यबहार गर्दा जति नेपाली समाजले लाजको अनुभूत गरेको थियो, ठिक्क एक बर्ष पछि २०७३ सालको धान दिवसकै दिन अर्का कृषिमन्त्री हरिबोल गजुरेलले गमलामा रोपाई गरी त्यतिकै जग हसाएका थिए। र, आज २०७७ सालको धान दिवसकै दिनमा खोकनामा रोपाई गरी धान दिवस मनाइरहेका किसानहरुमाथि प्रहरी दमन र ज्यादती भयो। उनीहरुका रोपाई गर्ने बीउहरुमाथि प्रहरीका बूटहरु बज्रे र खेतहरु कुल्चिए। यतिखेर कृषिमन्त्री मार्क्सवादलाई पानी बराबर पारेका मार्क्सवादका चिन्तक घनश्याम भूसाल छन्। विदेशले कोरोनाका कारण अन्न निर्यात रोक्ने प्रबल सम्भाबना भएको सन्दर्भमा किसानलाई प्रहरी लगाई कुनै पनि बहानामा रोपाइँ गर्न मनाही गर्नु अन्नप्रतिको पाप हो। धान दिवसकै दिन यस्तो स्थिति उत्पन्न हुनु कृषिप्रधान देशको लागि त सरमको कुरा हो , कृषिमन्त्रीका लागि चाहिं के हो कुन्नि ?     
५    हिजो आज सामाजिक संजालमा पूर्ब मुख्य सचिब लिलामणि पौडेलको एउटा भिडियो क्लिप भाइरल भएको देख्न सकिन्छ। भिडियो क्लिपमा पूर्ब मुख्य सचिबज्यूले घुँडासम्म धसिने गरामा द्रुत गतिले धान रोपिरहेका छन। दृश्य निकै चित्ताकर्षक छ। पूर्ब मुख्य सचिबज्यूको जाँगर साह्रै अनुकरणीय छ। तर बिज्ञान र प्रविधिले युक्त यो युगमा उहाँ जस्तो मान्छेले पनि यो हदको पाषाण तरिकाले खेती गर्नु परिराख्दा उहाँलाई कस्तो अनुभूति हुँदो हो ? ठाउँमा हुँदा आफूले कृषिप्रधान देशको लागि केहि कृषिका आधारभूत कुराहरुमा मौलिक परिवर्तन गर्न भूमिका खेलियो कि खेलिएन भन्ने लाग्यो कि नाईं ? खेत रोप्दै गर्दा यो जंगली तरिकाले खेती गर्ने परम्परा कहिलेसम्ममा खलास होला भन्ने सोच उहाँको मगजमा पलायो होला ? अथवा अब जीवनको उतरार्द्दमा यसरि नै हिलो माटो गरी जिउने सोचियो ? खेत रोपेको जाँगरलाई आधार मान्ने हो भने उहाँले यसरि पकै नसोच्नु पर्ने भन्ने लाग्दछ।
६    एकात्मक केन्द्रीय शासन प्रणालीको बिकल्पमा सिंह दरबारको अधिकार नेपाली जनताको घर दैलोमै पुर्याउने लक्ष्य बोकी पछिल्लो समय नेपालले प्रयोगमा ल्याएको संघीयता तब मजाक भो जब नेकपाको झन्डै दुई तिहाइको बहुमत प्राप्त केपी ओली सरकारका बिद्दान अर्थमन्त्री डा. युवराज खतिवडाले आ. व.०७७र७८ को बजेट वक्ततव्यमा काठमाडौं उपत्यकामा ४ वटा स्मार्ट सिटी (उपशहर) बनाउने योजना अगाडि सारे। संघ राज्यको अबधारणा अनुसार शक्ति पृथकीकरणका आधारमा मुलुकलाई समानुपातिक बिकासको द्रुत गतिमा दौडाइ केन्द्रीय साँस्कृतिक, बैचारिक, भौतिक तथा यावत अतिक्रमण र प्रभुत्वबाट मुक्ति दिने मानसिकताको बिकास गर्नु हो। तर ४ लाख जनसंख्याको लागि तयार गरिएका काठमाण्डौ उपत्यकाका बिकास संरचनामा ४० लाख जनसंख्या थुपारेर फेरि त्यसैमा थप भौतिक संरचना तथा स्मार्ट सिटी बनाउन खोज्नु (क) संघ राज्य अबधारणाको बर्खिलाफ हो (ख) समानुपातिक बिकास लक्ष्य बिपरित गई ग्रामिण क्षेत्रलाई अबहेलना र अविकास गर्नु हो (ग) काठमाण्डौ उपत्यकाका संस्कृति, जीवनको गुणस्तर, उर्बर भूमि नाश गर्नु हो र नेवार समुदायलाई बिस्थापित गर्नु हो।
७    यी प्रसङ्ग बेप्रसङ्गका किस्साहरु यहाँ उल्लेख गर्नुका कारणहरु पनि छन् (क) उही कार्यले फरक परिणाम आउन्दैन भन्ने तथ्य जबसम्म नेपाली जनताले बुझ्दैनन तबसम्म जतिसुकै रगत बगाए पनि ती रगतहरुमा आहाल खेल्ने मात्रै काम हुन्छ र प्रतिफल शुन्य हुन्छ। २०४६ सालको परिवर्तनदेखि हालसम्म राज्यको स्रोत साधनमा हालीमुहाली गर्ने तप्का अविच्छिन्न उहीं छ। पार्टी प्रणालीमा पनि स्थिति उस्तै छ। एउटा निश्चित अबधिमा परिणाम नदिएका नेतृत्वलाई बिस्थापित नगरी उनीहरुकै भक्तिभाव गर्नु महान नेपाली जनताको महान भूल भएको छ। पंचायत पश्चातको यो ३० बर्षमा नेपाली जनताले बिकासको शुन्यभव अनुभूति गर्नुमा आफूलाई शासन गर्ने प्रतिनिधि छान्ने तौर तरिकामा भिन्नता नल्याउनु नै जिम्मेवार छ। (ख) खोकनाका जनताका हकमा पनि यहीं आधारभूत सिद्दान्त आकर्षित छ। प्रतिफल शुन्य हुने क्रिया गत चुनाबमा दोहोर्याएका हुनाले अहिले रोपाई गर्ने खेतमा प्रहरीको बूट भोग्नु पर्यो। त्यहाँ न स्थानीय तहका वडाध्यक्ष देखियो न प्रदेश सांसद देखियो न त संघीय संसदका जनप्रतिनिधि नै देखियो। देखिने कुरा पनि थिएन किनभने नेतृत्वले तीन तहको संघ राज्यको अबधारणा शक्ति पृथकीकरणका आधारमा मुलुकलाई बिकासको द्रुत गतिमा दौडाउन ल्याएको नभई आफ्ना नातागोता, नेता तथा कार्यकर्ताहरुलाई कुशलतापूर्बक तीनै तहमा ब्यबस्थापन गर्न ल्याईएको थियो। अर्को चोटिको चुनाबमा खोकनाका जनताले कस्तो क्रिया गर्ने निर्णय गर्ने हो, आउने प्रतिक्रिया त्यसमै निर्भर रहन्छ। खोकना एउटा प्रतिनिधि उदाहरण मात्र हो नत्र यो आम नेपाली प्रवृति हो। (ग) कुनै कुरोलाई पनि अध्ययन अनुसन्धान र नाप तौल नगरिकन क्रिया प्रतिक्रिया गर्ने नेपाली प्रवृति कति हदसम्म खतरापूर्ण छ भन्ने कुरा सन् १९३६ मा पूर्णियाबाट लेडी अफ क्रिसाण्डेलले उडाएर ल्याएको जहाजलाई श्री ३ महाराज जुद्द शम्सेरले नागार्जूनबाट गोली हानी खसाल्न खोजेबाट प्रष्ट हुन्छ। अर्को तर्फ आफ्नै पुस्तामा देशलाई तेस्रो विश्वको बिकासोन्मुख देशबाट प्रथम विश्वको बिकसित देशमा उकालेका सिंगापुरका ली क्वान यू (ीभभ प्गबल थ्भध) जस्ता धुर्ब तारा पनि हाम्रै अगाडि उदाहरण छ। तसर्थ आफूलाई शासन गराउन आफैले मत खसाली जिताएका शासक कस्तो छान्ने भन्ने कुराले नै आफ्नो भबिष्य तय हुने हुनाले शासक छान्ने आनीबानीमा पूर्णतस् हेरफेर ल्याउनु अपरिहार्य छ। नत्र हिरालाई किराले खाने पक्का छ ।

Comments