प्राकृतिक चिकित्सालाई स्वायत्त नियामक परिषद्को माग, ९ औं राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसमा संघको प्रस्ट धारणा


असार २०, २०८३, शनिबार | राति १०:०७ बजे | 80


प्राकृतिक चिकित्सालाई स्वायत्त नियामक परिषद्को माग, ९ औं राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसमा संघको प्रस्ट धारणा

नबराज काफ्ले

काठमाडौं, असार २०

नवौं राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालले आज बाँसबारी, काठमाडौंमा पत्रकारसँग अन्तरक्रिया तथा नयाँ प्राकृतिक चिकित्सकहरूलाई स्वागत गर्ने कार्यक्रम आयोजना गर्दै एक विस्तृत प्रेस विज्ञप्ति जारी गरेको छ । संघका अध्यक्ष डा. जनक बहादुर बस्नेतद्वारा हस्ताक्षरित यस विज्ञप्तिमा प्राकृतिक चिकित्सा क्षेत्रको वर्तमान अवस्था, हालैका विवादास्पद घटनाक्रमप्रतिको संघको धारणा र सरकारसमक्ष राखिएका दश बुँदे माग समावेश छन् । विज्ञप्ति अनुसार, मानव र प्रकृतिबीचको अन्तरसम्बन्धलाई प्रगाढ पार्दै प्राकृतिक तत्वहरूको प्रयोगबाट रोगीलाई निरोगी र निरोगीलाई स्वस्थ बनाउने चिकित्सा पद्धतिलाई प्राकृतिक चिकित्सा भनिन्छ । यसमा पञ्चमहाभूत (पृथ्वी–माटो चिकित्सा, आप–जल चिकित्सा, तेज–अग्नि चिकित्सा, वायु–वायु चिकित्सा, आकाश–आकाश चिकित्सा) जस्ता जीवनदायी तत्वहरूको साथसाथै चुम्बक, बिजुली, सूर्यकिरण, उपवास, मालिस, भोजन, व्यायाम, आराम, विचार, व्यवहार, जीवनशैली परिवर्तन, एक्युपञ्चर, एक्युप्रेसर, फिजिकल मेडिसिन र प्राकृतिक जडीबुटीको प्रयोग गरी उपचार गरिन्छ । नसर्ने, जीर्ण तथा दीर्घ रोगहरूको उपचारमा प्रभावकारी भूमिका खेल्ने प्राकृतिक चिकित्सा आधुनिक युगको आवश्यकता भएको विज्ञप्तिमा उल्लेख छ । नेपाल सरकारले वि.सं. २०५९ सालको असार २० गते तत्कालीन श्री ५ को सरकारले राष्ट्रिय चिकित्सा प्रणाली अन्तर्गत यसलाई समावेश गर्ने निर्णय गरेको स्मृतिमा वि.सं. २०७४/०६/२३ मा नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयपछि यो दिवस राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका रूपमा मनाइँदै आएको छ । प्राकृतिक चिकित्सा उपचार पद्धतिमा मात्र सीमित नभई रोगको रोकथाम (Prevention), स्वास्थ्य प्रवर्द्धन (Health Promotion), जीवनशैली व्यवस्थापन (Lifestyle Medicine), पुनर्स्थापना (Rehabilitation) तथा समग्र (Holistic) स्वास्थ्य अवधारणामा आधारित स्वास्थ्य प्रणालीका रूपमा विश्वव्यापी रूपमा अभ्यास भइरहेको र दीर्घ रोग, मानसिक तनाव, जीवनशैलीजन्य रोग तथा स्वास्थ्य खर्च वृद्धिका कारण विश्वभर रोकथाममुखी तथा समग्र स्वास्थ्य सेवाप्रतिको आकर्षण बढ्दै गएको सन्दर्भमा प्राकृतिक चिकित्साको महत्व झन् बढ्दै गएको विज्ञप्तिमा जनाइएको छ । विभिन्न मुलुकले Integrative Healthcare Model अन्तर्गत आधुनिक चिकित्सा प्रणालीसँग योग, प्राकृतिक चिकित्सा तथा अन्य पूरक स्वास्थ्य विधिहरूलाई समन्वय गरी स्वास्थ्य सेवा प्रवाह गर्ने नीति अवलम्बन गर्न थालेका छन् । प्राकृतिक चिकित्सा शिक्षाको आधारभूत कार्यक्रमलाई BNYS (Bachelor of Naturopathy and Yogic Sciences) भनिन्छ, जुन अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त साढे पाँच वर्षे चिकित्सा शिक्षाको कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ । कक्षा १२ मा विज्ञान संकाय (Physics, Chemistry, Biology) विषय लिई ५०% अंकसहित उत्तीर्ण गरेका र मान्यताप्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विश्वविद्यालय तथा नियामक निकाय (नेपालमा चिकित्सा शिक्षा आयोग) ले तोकेको न्यूनतम शैक्षिक योग्यता, प्राप्तांक तथा प्रवेश मापदण्ड पूरा गर्ने विद्यार्थीले यो कोर्ष अध्ययन गर्न पाउँछन् । BNYS मेडिकल डिग्री रहेको र यस विधाका भारतमा ७४ भन्दा बढी मेडिकल कलेजहरू रहेको विज्ञप्तिमा उल्लेख छ । नेपालमा समेत दुई विश्वविद्यालय-नेपाल संस्कृत विश्वविद्यालय र मनमोहन प्राविधिक विश्वविद्यालय- ले BNYS कोर्ष सिनेटबाट पास गरिसकेको जानकारी दिइएको छ । नेपाल सरकारले पनि BNYS कार्यक्रमलाई राजपत्रमा सूचना प्रकाशित गरी चिकित्सा शिक्षा आयोगमा सूचीकृत गर्दै योग तथा प्राकृतिक चिकित्सा मेडिकल कलेज स्थापना र सञ्चालन मापदण्ड तयार गरिसकेको अवस्था रहेको विज्ञप्तिले जनाएको छ । BNYS कार्यक्रमको साढे पाँच वर्षे अध्ययनपश्चात नेपाल फर्केर त्रिभुवन विश्वविद्यालयबाट समकक्षता लिई नेपाल स्वास्थ्य व्यवसायी परिषद् (NHPC) बाट लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि मात्र प्राकृतिक चिकित्सा अभ्यासमा संलग्न हुन पाइने व्यवस्था रहेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०५९/०३/२० को निर्णय तथा मिति २०५९/०३/२७ को नेपाल राजपत्रमार्फत प्राकृतिक चिकित्सालाई राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीअन्तर्गत औपचारिक रूपमा समावेश गरिएको विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधान, २०७२ को धारा ५१(ज) ले प्राकृतिक चिकित्सा लगायत परम्परागत स्वास्थ्य प्रणालीको संरक्षण, प्रवर्द्धन, विकास तथा प्रभावकारी सञ्चालनलाई राज्यको नीतिका रूपमा स्पष्ट रूपमा स्वीकार गरेको छ । राष्ट्रिय स्वास्थ्य नीति, २०७६ ले आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य प्रणालीहरूको एकीकृत विकास, गुणस्तर अभिवृद्धि, अनुसन्धान तथा सेवा विस्तारलाई प्राथमिकता दिएको छ । नेपाल सरकारका वार्षिक नीति तथा कार्यक्रमहरूले पनि आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा लगायत परम्परागत स्वास्थ्य प्रणालीको संरक्षण, प्रवर्द्धन, विस्तार, अनुसन्धान तथा एकीकृत स्वास्थ्य सेवा विकासलाई निरन्तर सरकारी प्राथमिकतामा राख्दै आएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को निर्णय अनुसार शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीको ७३औं नम्बरमा समेत प्राकृतिक चिकित्सालाई प्राथमिकताका साथ समावेश गरिएको छ । विश्व स्वास्थ्य संगठन (WHO) ले प्राकृतिक चिकित्सालाई Traditional, Complementary and Integrative Medicine (TCIM) अन्तर्गतको महत्वपूर्ण स्वास्थ्य विधाका रूपमा स्वीकार गर्दै "WHO Benchmarks for Training in Naturopathy" प्रकाशित गरेको छ, जसले प्राकृतिक चिकित्सा शिक्षाको स्तर, दक्षता, पाठ्यक्रम, तालिम तथा पेशागत अभ्यास सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड तोकेको छ । प्राकृतिक चिकित्सा विश्वका १०० भन्दा बढी देशहरूमा विभिन्न कानुनी, शैक्षिक तथा नियामक संरचना अन्तर्गत अभ्यास, शिक्षा, अनुसन्धान तथा स्वास्थ्य सेवाका रूपमा विकसित भइरहेको छ। यस क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिनिधि संस्था World Naturopathic Federation (WNF) ले विश्वभरका राष्ट्रिय प्राकृतिक चिकित्सक संघ, शैक्षिक संस्था तथा नियामक निकायहरूबीच समन्वय, नीति संवाद, अनुसन्धान सहकार्य तथा पेशागत मापदण्ड विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । भारत, अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, जर्मनी, स्विट्जरल्यान्ड लगायत विभिन्न देशका विश्वविद्यालय तथा मान्यताप्राप्त संस्थाहरूमा प्राकृतिक चिकित्सा सम्बन्धी स्नातक, स्नातकोत्तर तथा अनुसन्धान तहसम्म अध्ययन-अध्यापन हुँदै आएको छ । नेपालमा प्राकृतिक चिकित्सा सेवा जनस्तरबाटै प्रारम्भ भई क्रमशः संस्थागत रूपमा विकास हुँदै आएको छ । हाल देशका सामुदायिक, शैक्षिक, गैरनाफामूलक तथा निजी क्षेत्रबाट सञ्चालित योग तथा प्राकृतिक चिकित्सालयहरूले स्वास्थ्य सेवा, स्वास्थ्य प्रवर्द्धन तथा पुनर्स्थापना सेवाहरू प्रदान गर्दै आएका छन् । नेपालमा हाल सामुदायिक तथा निजी क्षेत्र गरी देशभर ३३ वटा विभिन्न योग तथा प्राकृतिक चिकित्सालय, वेलनेस केन्द्र, अनुसन्धान संस्था तथा स्वास्थ्य प्रतिष्ठानहरू सञ्चालनमा रहेका छन्, जसले प्राकृतिक चिकित्सा प्रणालीप्रति जनविश्वास, सेवा पहुँच तथा संस्थागत विस्तार क्रमशः वृद्धि भइरहेको तथ्यलाई प्रतिबिम्बित गर्ने विज्ञप्तिमा उल्लेख छ । सामुदायिक एवं निजी क्षेत्रमा अत्यन्त सफल रहेको यस क्षेत्रको शैक्षिक, संस्थागत तथा सेवामूलक विस्तार हुँदै गए पनि हालसम्म नियामक परिषद्, सरकारी विभाग, स्पष्ट कानुनी कार्यान्वयन, सरकारी दरबन्दी तथा पृथक सेवा संरचनाको पर्याप्त व्यवस्था हुन सकेको छैन । मानकीकृत शैक्षिक प्रणाली, शिक्षण अस्पताल, राष्ट्रिय लाइसेन्स परीक्षा, विशेषज्ञ मान्यता, प्रत्यायन बोर्ड तथा गुणस्तर सुनिश्चितता सम्बन्धी एकीकृत तथा सुदृढ राष्ट्रिय प्रणाली अझै पूर्ण रूपमा विकास हुन सकेको छैन । अनुसन्धान प्रणाली, उपचार प्रोटोकल, जनशक्ति विकास, सार्वजनिक स्वास्थ्य कार्यक्रम तथा मूलधारको स्वास्थ्य प्रणालीसँगको एकीकरण सम्बन्धी नीतिगत तथा संस्थागत संरचनाहरू सीमित अवस्थामा रहेकाले प्राकृतिक चिकित्साको प्रभावकारी राष्ट्रिय एकीकरण अपेक्षित स्तरमा हुन सकेको छैन । राष्ट्रिय स्वास्थ्य बीमा प्रणाली अन्तर्गत सेवा समावेशको अभाव, डिजिटल स्वास्थ्य प्रणालीमा न्यून समावेशीकरण तथा सरकारी स्वास्थ्य संरचनाभित्र पर्याप्त जनशक्ति व्यवस्थापन नहुँदा सेवा विस्तारमा चुनौती देखिएको छ। साथै प्राकृतिक चिकित्सा सम्बन्धी उद्योग, आरोग्य तथा वेलनेस अर्थतन्त्र सम्बन्धी स्पष्ट नीतिगत ढाँचा तथा नैतिक र कानुनी संरचनाहरूको अभावका कारण यस क्षेत्रको दीर्घकालीन संस्थागत विकास, लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता सुदृढ गर्न थप पहल आवश्यक देखिएको विज्ञप्तिमा उल्लेख छ । डा. चेतन ए.एम. पौडेलको पक्राउपछि योग तथा प्राकृतिक चिकित्सक तथा समग्र प्राकृतिक चिकित्सा, नियामक निकायको कार्यक्षेत्र र भूमिका तथा राज्यको दायित्वबारे विभिन्न प्रश्नहरू उठेको अवस्थामा योग तथा प्राकृतिक चिकित्सक संघले आफ्नो धारणा यसरी स्पष्ट पारेको छ:- "डाक्टर" पदवी प्रयोगसम्बन्धी :योग तथा प्राकृतिक चिकित्सा (BNYS Medical Degree) भारतस्थित Rajiv Gandhi University of Health Sciences लगायत भारतका विभिन्न विश्वविद्यालयमा अध्यापन हुने कोर्ष रहेको र ती विश्वविद्यालयहरूबाट MBBS, BHMS, BAMS तथा BNYS लगायत स्वास्थ्य विज्ञानका विभिन्न विधामा स्नातक उपाधि प्राप्त गर्ने विद्यार्थीहरूलाई विश्वविद्यालयद्वारा प्रदान गरिने शैक्षिक प्रमाणपत्र तथा दीक्षान्त (Convocation) प्रमाणपत्रमा नाम अगाडि "DR" उल्लेख गरिने गरेको संघले जनाएको छ । विश्वविद्यालयले यी सबै योग्यताधारीलाई डाक्टरका रूपमा सम्बोधन गरिरहेको अवस्थामा नेपालमा अन्य चिकित्सा विधाले सोही विश्वविद्यालयले दिएको डाक्टर उपाधि प्रयोग गरिरहँदा BNYS स्नातकलाई डाक्टर होइन भन्नु सरासर गलत रहेको संघको दाबी छ । भारतको राज्यसभाले पनि BNYS डिग्रीधारीहरूले डा. उपाधि प्रयोग गर्न पाउने निर्णय गरिसकेको उल्लेख छ । शैक्षिक योग्यता तथा उपाधि प्रदान गर्ने निकाय विश्वविद्यालय भई काउन्सिल नियमनकारी संस्था मात्र रहेको, काउन्सिलको मुख्य काम विश्वविद्यालयले प्रदान गरेको शैक्षिक योग्यता तथा उपाधिलाई दर्ता गर्ने, कोड अफ एथिक्स जारी गर्ने र सोही अनुसार चिकित्सा अभ्यास कानुनी रूपमा भए नभएको नियमन गर्ने रहेको र कुनै पनि काउन्सिलको ऐनमा चिकित्सक उपाधि प्रदान गर्ने भन्ने उल्लेख नरहेको हुँदा प्राकृतिक चिकित्सकले प्रयोग गर्दै आएको "डा." उपाधिको प्रयोग गैरकानुनी नभई विश्वविद्यालयले प्रदान गरेको उपाधि भएको र प्राकृतिक चिकित्सा अभ्यास भने NHPC मा दर्ता भएको आधारमा हुने संघले स्पष्ट पारेको छ । नेपाल मेडिकल काउन्सिल एलोपेथिक चिकित्सकहरूको दर्ता र नियमनका लागि स्थापित संरचना भएको तर अन्य विधाका चिकित्सकहरू आयुर्वेद काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद् (NHPC) जस्ता अन्य काउन्सिलहरूमा दर्ता हुने गरेको संघले जनाएको छ । योग तथा प्राकृतिक चिकित्सा र होमियोप्याथी प्रणालीका लागि नेपालमा हालसम्म छुट्टै परिषद् वा दर्ता संरचना नबनेको अवस्थामा नेपाल स्वास्थ्य व्यवसायी परिषद् (NHPC) मा दर्ता गर्ने गरिएको छ। योग तथा प्राकृतिक चिकित्सक २०५३ सालको ऐन अनुसार नेपाल स्वास्थ्य व्यवसायी परिषद् (NHPC) मा दर्ता भएका हुनाले यसलाई अवैधानिक भन्न नमिल्ने संघको तर्क छ । NHPC को प्रस्तावना तथा काउन्सिलको उद्देश्यमा NMC र नेपाल नर्सिङ काउन्सिल (NNC) मा दर्ता हुन योग्य चिकित्सक र नर्सिङ बाहेक अन्य स्वास्थ्यकर्मी दर्ता गर्ने उल्लेख गरिएको र यसको ऐनमा कतै पनि चिकित्सक दर्ता नहुने वा योग्य पारामेडिक्सहरूको मात्र काउन्सिल हो भन्ने नलेखिएको, बरु शैक्षिक प्रमाणपत्रको आधारमा सबै तहलाई दर्ता गर्ने भनी लेखिएको संघले जनाएको छ। BNYS स्नातकहरू योग तथा प्राकृतिक चिकित्सा क्षेत्रका दक्ष चिकित्सक भएकाले उनीहरूले बिरामीको प्रारम्भिक मूल्याङ्कन, स्वास्थ्य परीक्षण, ल्याब डाइग्नोसिस, रेडियो डाइग्नोसिस लगायतका निदान पद्धतिको सहयोगले रोग निदान गर्न सक्ने र यो कुरा नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले जारी गरेको "Code of Ethics for Naturopathy Professionals" को दफा ५.२ "Scope of Practice for Registered Professionals in Level A Naturopathy and Yogic Sciences" को उपदफा १० मा पनि "Prescribe, Interpret laboratory & imaging results" भनी उल्लेख भएको संघको दाबी छ । योग तथा प्राकृतिक चिकित्सकको आचारसंहिता अनुसार आकस्मिक अवस्थामा बिरामीलाई Over the Counter Drugs (OCD) सिफारिस गर्न मिल्ने तर उपचारकै रूपमा कुनै पनि एलोपेथिक औषधि चलाउन नमिल्ने भन्दै कुनै योग तथा प्राकृतिक चिकित्सकले यस्तो कार्य गरिरहेका भए सो कार्य नगर्न संघले अनुरोध गरेको छ । संघको यस धारणासँग सहमति जनाउँदै योग ध्यान आरोग्य सञ्जाल नेपालका महासचिव नबराज काफ्लेले पनि आफ्नो एक्येबद्धता (solidarity) व्यक्त गरेका छन् । उनले प्राकृतिक चिकित्सा क्षेत्रलाई वैज्ञानिक, व्यवस्थित र मर्यादित बनाउने दिशामा योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालले अघि सारेको मागहरू समयसान्दर्भिक र आवश्यक रहेको बताएका छन् । नेपालभरका योग तथा प्राकृतिक चिकित्सा प्रवर्द्धनमा संलग्न संस्था, सञ्जाल तथा व्यक्तिहरूबीच यस विषयमा एकरूपता र सहकार्य आवश्यक रहेको उनको भनाइ छ । काफ्लेले हालैको प्रकरणपछि यस क्षेत्रका पेशेवरहरूमाथि उठेका प्रश्नहरूलाई तथ्यमा आधारित संवादमार्फत सम्बोधन गर्नुपर्ने र प्राकृतिक चिकित्सा क्षेत्रको दीर्घकालीन संस्थागत सुदृढीकरणका लागि नियामक परिषद् गठनलगायतका मागहरूमा राज्यले चाँडै ध्यान दिनुपर्ने धारणा राखेका छन् । योग ध्यान आरोग्य सञ्जाल नेपाल स्वयं पनि योग तथा प्राकृतिक चिकित्सा प्रवर्द्धन र स्वास्थ्य नीति निर्माण प्रक्रियामा सक्रिय रहेको सन्दर्भमा यो एक्येबद्धता संघको अभियानलाई थप बल पुग्ने देखिएको छ । प्रस्तुत विषम परिस्थितिका बीच योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालले यस क्षेत्रलाई वैज्ञानिक, व्यवस्थित, उत्तरदायी तथा राष्ट्रिय स्वास्थ्य प्रणालीसँग समन्वित स्वास्थ्य सेवाका रूपमा संस्थागत विकास गर्न नेपाल सरकार तथा सम्बन्धित निकायहरूसमक्ष निम्न विषयहरूमा यथाशीघ्र आवश्यक पहल गर्न हार्दिक अनुरोध गरेको छ :- १. प्राकृतिक चिकित्सा क्षेत्रको प्रभावकारी नियमन, दर्ता तथा व्यवस्थापनका लागि स्वायत्त र सक्षम नियामक परिषद्को गठन २. संघीय सरकारी संरचनाअन्तर्गत प्राकृतिक चिकित्सा सम्बन्धी पृथक विभाग, महाशाखा वा समर्पित सरकारी संयन्त्रको स्थापना ३. BNYS लगायत योग तथा प्राकृतिक चिकित्सा सम्बन्धी शैक्षिक कार्यक्रमहरूको स्पष्ट कानुनी, शैक्षिक तथा व्यावसायिक मान्यता सुनिश्चित गर्दै पेशागत अधिकारको संरक्षण ४. सरकारी अस्पताल, स्वास्थ्य संस्था तथा सार्वजनिक स्वास्थ्य प्रणालीमा योग तथा प्राकृतिक चिकित्सा सेवाको क्रमबद्ध विस्तार गरी आवश्यक सरकारी दरबन्दी तथा जनशक्ति व्यवस्थापन ५. शिक्षण अस्पताल, अनुसन्धान केन्द्र तथा गुणस्तरीय शैक्षिक-क्लिनिकल संरचनाहरूको विकास ६. राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत योग तथा प्राकृतिक चिकित्सा सेवाहरू समावेश गरी आम नागरिकको पहुँच सुनिश्चित गर्ने व्यवस्था ७. रोकथाममुखी, समग्र तथा जीवनशैली-आधारित स्वास्थ्य सेवाको प्रवर्द्धनका लागि राष्ट्रिय स्वास्थ्य प्रणालीमा समन्वित स्वास्थ्य सेवा अवधारणा (Integrative Healthcare Approach) अवलम्बन ८. "आरोग्य पर्यटन वर्ष २०२७" लाई सफल बनाउन योग, प्राकृतिक चिकित्सा तथा वेलनेस क्षेत्रलाई राष्ट्रिय आरोग्य तथा स्वास्थ्य पर्यटन नीतिको प्राथमिक क्षेत्रमा समावेश ९. जनचेतना अभिवृद्धि, वैज्ञानिक अनुसन्धान प्रवर्द्धन, पेशागत सम्मान संरक्षण तथा अन्तर्राष्ट्रिय स्तरको दक्ष जनशक्ति विकासका लागि दीर्घकालीन नीति, कार्यक्रम तथा बजेट व्यवस्था १०. योग तथा प्राकृतिक चिकित्सालाई नेपालको सार्वजनिक स्वास्थ्य, आरोग्य प्रवर्द्धन तथा दिगो स्वास्थ्य प्रणाली निर्माणको महत्वपूर्ण आधारका रूपमा स्वीकार गर्दै आवश्यक कानुनी, नीतिगत तथा संस्थागत वातावरण निर्माण संघको विश्वास छ कि योग तथा प्राकृतिक चिकित्सा प्रणालीले रोगको समूल निवारणमुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली प्रवर्द्धन तथा दीर्घकालीन रोग व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ। त्यसैले यस क्षेत्रलाई वैज्ञानिक, संस्थागत तथा नीतिगत आधारमा राष्ट्रिय स्वास्थ्य प्रणालीसँग समन्वित रूपमा विकास गर्नु समयसापेक्ष आवश्यकता रहेको संघले जनाएको छ । अन्त्यमा, योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालले सम्पूर्ण सरोकारवाला निकाय, सञ्चारमाध्यम, नीति निर्माता तथा आम नागरिकसमक्ष तथ्यपरक संवाद, संस्थागत सहकार्य तथा पेशागत सम्मानको वातावरण निर्माणमा सहयोग पुर्‍याइदिन हार्दिक अनुरोध गरेको छ ।

Comments