वागीश्वरीमा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन
असार २०, २०८३, शनिबार | साँझ ०४:३८ बजे | 105
भक्तपुर, २० असार
वागीश्वरी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ मा कक्षा १२ को राष्ट्रिय बोर्ड परीक्षा उत्तीर्ण ४ सय ५७ जना विद्यार्थीहरुलाई शनिबार बधाई तथा मार्गनिर्देशन दिँदै दिक्षित गरेको छ ।
दिक्षित विद्यार्थीहरुलाई मार्ग निर्देशन दिने क्रममा प्रमुख अतिथि एवम् भक्तपुर नगरपालिकाका प्रमुख तथा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले देशकै प्रतिष्ठित र अरुको मूल्यांकनमा अग्रपङ्तिमा परेको वागीश्वरी विद्यार्थीको रोजाइको प्राथमिकतामा पर्ने बताउनुभयो । उहाँले अहिलेको सरकारले युवालाई विदेश पलायनबाट रोक्न नसकेको बताउँदै जुनसुकै देशबाट शिक्षा लिएको भएपनि देश र समाजकै हितमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । छिटो परीक्षाफल प्रकाशित गर्ने नाउँमा विद्यार्थीको जीवनमाथि खेलवाद गरेको बताउँदै उहाँले छिटोभन्दा पनि गुणस्तरीय र राम्रो परीक्षाफलतर्फ जानुपर्ने बताउनुभयो । शिक्षाको स्तरमा वागीश्वरीमा कमी नरहेको र पढाइ घोकाइभन्दा अनुसन्धानमुखी कार्यमा ध्यान दिइरहेको उहाँको भनाइ छ । विद्यार्थीहरु अन्य देशको झिलिमिलीमा फस्न नहुने बताउँदै उहाँले ज्ञान विज्ञानको केन्द्रका रुपमा भक्तपुरलाई परिचित गराउन भक्तपुर नपाले विभिन्न कार्यक्रम ल्याएको स्पष्ट पार्नुभयो । हरेक व्यक्तिले विज्ञता हासिल गर्नुपर्नेमा जोड दिँदै उहाँले आमा बुबाका लागि भन्दा देश र समाज निर्माण गर्नका लागि आफ्नो क्षमता र रोजाइ अनुसार गन्तव्य चयन गर्नुपर्ने औंल्याउनुभयो । उहाँले भक्तपुर नपाले अनुसन्धानात्मक कार्यमा जोड दिँदै अनुसन्धानवृत्तिको बन्दोबस्त गरेको, शैक्षिक ऋणको व्यवस्था गरेको स्पष्ट पार्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य ज्ञानसागर प्रजापतिले कक्षा १२ पछिका विद्यार्थीको जिम्मेवारी बढ्दै जाने बताउँदै उहाँले खुशी खोसिएका विद्यार्थीका लागि उच्च अंकले उत्तीर्ण विद्यार्थीहरुले साथ सहयोग दिई शतप्रतिशत उत्तीर्ण बनाउनुपर्ने बताउनुभयो । उहाँले शिक्षा केवल कागजी प्रमाणपत्र नभई यसलाई सिप र संस्कारसहितको शिक्षाका रुपमा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले नजिकको तीर्थ हेला भन्ने झैँ वागीश्वरीकै विद्यार्थीले वागीश्वरीलाई नचिन्दा धेरै दुःख पाएको स्पष्ट पार्दै देशकै नमूना वागीश्वरीका विद्यार्थी पनि संस्कार र अनुशासनमा नमूना नै हुनुपर्ने बताउनुभयो । वागीश्वरीका विद्यार्थी कुनै पनि चुनौतीको सामना गर्दै देशका हरेक क्षेत्रमा लागिरहेको उल्लेख गर्दै उहाँले यहाँका विद्यार्थीको क्षमता नै कलेजको शक्ति भएको स्पष्ट पार्नुभयो । वागीश्वरीको उज्ज्वल भविष्यमा विद्यार्थीहरुले साथ दिने अपेक्षा गर्दै उहाँले वार्षिक करोडौं रुपैयाँ छात्रवृत्ति दिइरहेको वागीश्वरी कलेज गैरनाफामुखी सामुदायिक कलेज भएको बताउनुभयो ।
वागीश्वरी कलेज अफ म्यानाजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले भक्तपुर जिल्लाकै उत्कृष्ट गन्तव्य वागीश्वरी रहेको चर्चा गर्दै उहाँले क्षमता अभिवृद्धिका नयाँ कार्यक्रम वागीश्वरीले ल्याएको बताउनुभयो । साथै वागीश्वरीको नयाँ कार्यक्रमका रुपमा त्रिभुवन विश्वविद्यालयबाट बीबीए, बीसीए, बीआइटीलाई ल्याएको उहाँको भनाइ छ ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वागीश्वरी कलेजले चार वर्षमा चारवटा क्षमता र सिप दिने गरी कार्यक्रम ल्याएको बताउनुभयो । साथै विद्यार्थीहरुलाई उद्यमशीलतामा जोड दिँदै कोही पनि बेरोजगार बन्नु नपर्ने गरी आत्मनिर्भर बनाउने उहाँको जोड छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले विज्ञानमा ८५.४ प्रतिशत, व्यवस्थापनमा ७६.५० प्रतिशत, मानविकीमा ८६.६७ प्रतिशत र शिक्षामा ८९.२० प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएको बताउँदै समाज परिवर्तन र व्यक्तित्व विकासका लागि शिक्षा क्षेत्रमा नेपालमै सम्भव छ भन्ने प्रमाणित भएको बताउनुभयो । उहाँले पढाइपश्चातको ज्ञान र सिप देश र समाजकै लागि उपयोग गर्नुपर्ने बताउँदै भक्तपुर जिल्लाकै क्यूएए गुणस्तर प्राप्त सामुदायिक कलेज वागीश्वरी रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा स्वागत गर्दै वागीश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले विद्यालयको गतिविधिहरु श्रम र उत्पादनमूलक क्षेत्रसँग जोडेर अघि बढेको बताउनुभयो । गुणस्तरीय शिक्षासँगै समय र खर्चको बचत गर्न पनि वागीश्वरी नै रोज्नुपर्नेमा उहाँको जोड छ ।
कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानाजमेन्टका विद्यार्थी युनिका तुल्सिवाख्य, वागीश्वरी कलेज तेस्रो वर्षका विद्यार्थी लक्मी तामाङ, कक्षा १२ विज्ञानतर्फबाट ३.९५ ग्रेड लिइ उत्तीर्ण विद्यार्थी विमलकुमार थापाले आफ्नो अनुभव बताएको उक्त कार्यक्रममा विद्यार्थीहरुबाट गीत, संगीत र नृत्यको प्रस्तुती भएको थियो । कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरुबाट उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
