रास्वपा भक्तपुर जिल्ला अधिवेशनबारे मौन बस्न नसकेको भन्दै शिल्पकारले सार्वजनिक गरे सार्वजनिक अपिल
जेठ २९, २०८३, शुक्रबार | राति १०:२४ बजे | 260
मौन बस्न नसकिएको यथार्थ : भक्तपुर जिल्ला अधिवेशनबारे सार्वजनिक अपिल
आदरणीय भक्तपुरवासी जनसमुदाय, आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू, पार्टीका आदरणीय अग्रजहरू, निष्ठावान् कार्यकर्ताहरू, शुभचिन्तक साथीहरू तथा घण्टीका सम्पूर्ण मित्रहरू,
सबैभन्दा पहिले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भक्तपुर संगठनलाई आजको अवस्थामा पुर्याउने यात्रामा मैले कति योगदान, समय, त्याग र समर्पण गरेको छु भन्ने कुराको मूल्याङ्कन म स्वयंले होइन, पार्टी पङ्क्ति, शुभचिन्तक जनसमुदाय र इतिहासले गर्नेछ भन्ने विश्वास राख्दछु।
विशेषतः भक्तपुर क्षेत्र नं. १ मा दशकौँदेखि स्थापित परम्परागत राजनीतिक संरचनालाई चुनौती दिँदै वैकल्पिक राजनीतिको आवाजलाई जनतामाझ स्थापित गर्ने अभियानमा मैले निर्वाह गरेको भूमिका, चुनावी रणनीति निर्माणमा पुर्याएको योगदान तथा संगठन निर्माणमा गरेको निरन्तर प्रयासको मूल्याङ्कन समयले अवश्य गर्नेछ।
यस ऐतिहासिक अभियानका क्रममा अग्रपङ्क्तिमा देखिनुभएका वा नदेखिनुभएका दर्जनौँ साथीहरू, स्वयंसेवकहरू, शुभेच्छुकहरू तथा परिवर्तनप्रेमी नागरिकहरूको योगदान अतुलनीय छ। घण्टी चिन्हलाई भक्तपुरमा स्थापित गर्न दिनरात खट्ने ती सबै साथीहरूप्रति म हार्दिक सम्मान व्यक्त गर्दछु।
यसका साथै, स्थानीय स्तरमा अन्याय, विभेद र उत्पीडनविरुद्ध आवाज उठाइरहेका समुदाय र अभियानहरूलाई राजनीतिका मूलधारसँग जोड्ने प्रयासमा समेत मैले आफ्नो भूमिका निर्वाह गरेको छु। त्यही उद्देश्यका साथ मैले व्यक्तिगत लाभभन्दा माथि उठेर संगठनात्मक जिम्मेवारी साझा गर्दै समावेशी र जनमुखी राजनीतिक अभ्यासलाई प्राथमिकता दिएको थिएँ। मेरो लक्ष्य कहिल्यै पद प्राप्ति थिएन; बरु लोकतान्त्रिक संस्कार, जनउत्तरदायी नेतृत्व र वैकल्पिक राजनीतिको संस्थागत विकास थियो।
भक्तपुर जिल्ला अधिवेशन सम्पन्न भएपछि देश तथा विदेशबाट सयौँ शुभचिन्तक, साथीभाइ, पार्टीका कार्यकर्ता तथा वैकल्पिक राजनीतिप्रति आस्था राख्ने नागरिकहरूले निरन्तर सम्पर्क गरी अधिवेशनको परिणाम, त्यसको पृष्ठभूमि तथा मेरो धारणा बुझ्न चाहनुभएको छ। तपाईंहरूले देखाउनुभएको यो अगाध विश्वास, माया र चासोप्रति म हार्दिक आभार व्यक्त गर्दछु।
तर, प्रत्येक व्यक्तिलाई छुट्टाछुट्टै भेटेर वा फोनमार्फत सम्पूर्ण पृष्ठभूमि र घटनाक्रम विस्तारमा जानकारी गराउन प्राविधिक रूपमा सम्भव नभएकाले यो सार्वजनिक अपिलमार्फत आफ्नो आधिकारिक धारणा राख्न आवश्यक ठानेको छु।
जिल्ला अधिवेशन र मेरो धारणा
जिल्ला अधिवेशनको क्रममा देखिएका केही प्रक्रियागत प्रश्नहरू, प्रतिनिधित्वसँग सम्बन्धित विषयहरू तथा निर्णय प्रक्रियाबारे मसँग गम्भीर असहमति र चिन्ताहरू छन्। ती विषयमा आवश्यक आधार, तथ्य र प्रमाणहरू सुरक्षित रहेका छन्। तर, भइसकेको निर्वाचनलाई बदर गराउने वा त्यसलाई लिएर संगठनलाई थप विवाद, विभाजन र अनिश्चितताको दिशामा धकेल्ने बाटो रोज्नु पार्टीको दीर्घकालीन हितमा उचित हुँदैन भन्ने निष्कर्षमा म पुगेको छु।
त्यसले नवगठित जिल्ला समितिलाई अनिर्णयको अवस्थामा पुर्याउने, कार्यकर्ताबीच अनावश्यक तिक्तता बढाउने तथा अन्ततः पार्टीको प्रतिष्ठा, एकता र संगठनात्मक स्थायित्वमा नकारात्मक प्रभाव पार्ने जोखिम देखेर मैले फरक निर्णय लिएको हुँ।
त्यसैले पार्टीको वृहत् हित, संगठनको गरिमा र उच्च राजनीतिक संस्कारलाई केन्द्रमा राख्दै जेठ २३ गते सम्पन्न जिल्ला अधिवेशनबाट आएको परिणामलाई मैले स्वीकार गरेको छु।
तर, परिणाम स्वीकार गर्नुको अर्थ प्रक्रियासँग सम्बन्धित प्रश्नहरू समाप्त भए भन्ने होइन। लोकतान्त्रिक संगठनमा परिणामभन्दा पनि परिणामसम्म पुग्ने प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत हुनु अत्यन्त आवश्यक हुन्छ भन्ने मेरो विश्वास यथावत् छ।
मेरो उम्मेदवारी र दृष्टिकोण
पार्टी स्थापना कालदेखि संगठन निर्माण र सुदृढीकरणमा सक्रिय रूपमा संलग्न रहँदै भक्तपुर नगर समितिको सभापतिको जिम्मेवारी निर्वाह गर्ने अवसर मैले पाएको थिएँ। यस क्रममा संगठन विस्तार, कार्यकर्ता परिचालन, वैचारिक बहस तथा वैकल्पिक राजनीतिको सन्देश जनतामाझ पुर्याउने कार्यमा निरन्तर योगदान गर्ने प्रयास गरेँ।
जिल्लामा संगठनात्मक गतिशीलता बढाउने, वैचारिक स्पष्टता विस्तार गर्ने र संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले मैले आगामी जिल्ला नेतृत्वमा आफ्नो आकाङ्क्षा प्रस्तुत गरेको थिएँ। प्रारम्भिक चरणमा जिल्ला सभापति पदमा रुचि व्यक्त गरेको भए पनि विभिन्न साथीहरूको सुझावलाई सम्मान गर्दै पछि आफ्नो आकाङ्क्षालाई जिल्ला सचिव पदमा केन्द्रित गरेको थिएँ।
मेरो धारणा स्पष्ट थियो—निर्वाचित जनप्रतिनिधिहरू राज्य सञ्चालन, कानुन निर्माण र जनताका मुद्दामा केन्द्रित हुनुपर्छ। संगठनको दैनिक सञ्चालन र विस्तारको जिम्मेवारी लामो समयदेखि संगठनमा सक्रिय कार्यकर्ताहरूले वहन गर्नु नै संगठनकै हितमा हुन्छ। यस विषयमा मैले सम्बन्धित नेतृत्वसँग पटकपटक संवाद र सहमतिका प्रयास गरेको थिएँ। तर अपेक्षित समझदारी निर्माण हुन सकेन र विषय अन्ततः निर्वाचन प्रक्रियासम्म पुग्यो।
अधिवेशन प्रक्रिया र कार्यविधिसम्बन्धी असहमति
अधिवेशनको सम्पूर्ण प्रक्रियालाई नजिकबाट नियाल्दा प्रतिस्पर्धाको वातावरण सबै पक्षका लागि समान र सहज रहेको अनुभूति मैले गर्न सकिनँ। विशेष गरी प्रतिनिधित्व निर्माण, निर्णय प्रक्रिया तथा नेतृत्व छनोटको तयारीका क्रममा केही यस्ता गतिविधिहरू देखिए, जसले निष्पक्षता र समान अवसरको सिद्धान्तमाथि प्रश्न उठाउने अवस्था सिर्जना गर्यो।
मैले समयमै सम्बन्धित निकायहरूमा आफ्ना चिन्ता र असहमतिहरू राखेको थिएँ, तर ती विषयहरू अपेक्षित गम्भीरताका साथ सम्बोधन भएनन् भन्ने मेरो बुझाइ रह्यो।
जिल्ला अधिवेशनका क्रममा प्रतिनिधित्वको संरचना र केही संगठनात्मक निर्णयहरूबारे उठेका गम्भीर प्रक्रियागत प्रश्नहरूको निष्पक्ष समीक्षा हुनु आवश्यक छ। लोकतान्त्रिक संगठनको विश्वसनीयता परिणाममा मात्र होइन, प्रक्रियाको निष्पक्षतामा पनि निर्भर रहन्छ। त्यसैले आज पनि म ती विषयहरूलाई व्यक्तिगत विवादका रूपमा होइन, संस्थागत सुधारका विषयका रूपमा हेर्न आग्रह गर्दछु।
मेरो वैचारिक सङ्घर्ष
पार्टीभित्र देखिएका विकृति, विसङ्गति र बेथितिविरुद्ध प्रश्न उठाउनु तथा सुधारको आग्रह गर्नु मेरो राजनीतिक अभ्यासको निरन्तर हिस्सा रहँदै आएको छ। फरक मत राख्नु, विधिको पक्षमा बोल्नु र संगठनभित्र आत्मसमीक्षाको आवश्यकता औँल्याउनु कुनै व्यक्ति वा समूहविरुद्धको अभियान होइन; बरु लोकतान्त्रिक संगठनलाई बलियो बनाउने प्रयास हो।
मेरो सङ्घर्ष कुनै व्यक्ति विशेष, कुनै पद वा कुनै गुटसँग होइन। मेरो सङ्घर्ष केवल संगठनभित्र विधिको सर्वोच्चता, आन्तरिक लोकतन्त्र, पारदर्शिता र राजनीतिक संस्कारको पक्षमा हो।
अन्त्यमा
म सम्पूर्ण भक्तपुरवासी जनसमुदाय, पार्टी पङ्क्ति, शुभचिन्तक तथा नागरिक समाजसमक्ष आग्रह गर्न चाहन्छु कि व्यक्तिलाई होइन, विधिलाई केन्द्रमा राखेर मूल्याङ्कन गर्नुहोस्।
हामी सबैको साझा लक्ष्य रास्वपा पुराना दलहरूको अर्को संस्करण नहोस् भन्ने खबरदारी राख्दै वैकल्पिक, सुसंस्कृत, बलियो, लोकतान्त्रिक, पारदर्शी र जनउत्तरदायी संगठन निर्माण गर्नु हो।
व्यक्तिहरू आउँछन्, जान्छन्; पदहरू परिवर्तन हुन्छन्। तर संगठनको चरित्र, मूल्य र संस्कार दीर्घकालीन हुन्छन्। त्यसैले म भविष्यमा पनि वैकल्पिक राजनीतिको मूल मर्म, विधिको सर्वोच्चता, आन्तरिक लोकतन्त्र र संगठनको हितका पक्षमा दृढतापूर्वक उभिरहने प्रतिबद्धता व्यक्त गर्दछु।
सत्य कहिल्यै पराजित हुँदैन। विधि र लोकतान्त्रिक मूल्यहरूको विजय अन्ततः सुनिश्चित छ।
जय घण्टी!
रामेश शिल्पकार
निवर्तमान सभापति
भक्तपुर नगर समिति
राष्ट्रिय स्वतन्त्र पार्टी, भक्तपुर
फाेटाेमा हेर्नुहाेस्...
.jpg)