कमलबिनायक साकोसद्वारा खुला रक्तदान कार्यक्रम


असार २०, २०८३, शनिबार | दिउँसो १२:२२ बजे | 80


कमलबिनायक साकोसद्वारा खुला रक्तदान कार्यक्रम

भक्तपुर, असार २० — कमलबिनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नगाउँ–१०, भक्तपुरको आयोजनामा शनिबार खुला रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ।

संस्थाको युवा तथा खेलकुद उपसमितिको आयोजनामा हुन लागेको कार्यक्रममा “रक्तदान जीवनदान, जीवन बचाऔँ, महादान गरौँ” भन्ने मूल नारासहित सर्वसाधारणलाई रक्तदानमा सहभागी हुन आग्रह गरिएको छ।

संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रम २०८३ असार २० गते शनिबार आयोजना गरिनेछ। रक्तदानमार्फत आकस्मिक उपचार, शल्यक्रिया, सुत्केरी तथा दीर्घरोगी बिरामीका लागि आवश्यक रगतको अभाव न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।

रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा प्रभावकारी सामाजिक सेवामध्ये एक मानिन्छ। स्वास्थ्य मापदण्ड पूरा गरेका स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्न सक्ने भएकाले संस्थाले सदस्य, स्थानीय बासिन्दा, युवा तथा समाजसेवीहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ।

Comments