भक्तपुरमा डेंगु र एन्टिबायोटिक प्रतिरोध (AMR) बारे जनचेतना कार्यक्रम
असार २०, २०८३, शनिबार | दिउँसो १२:४८ बजे | 160
भक्तपुर, असार २० — डेंगु संक्रमणको जोखिम बढ्दै गएको र एन्टिबायोटिकको अविवेकी प्रयोगका कारण देखिएको एन्टिमाइक्रोबियल रेसिस्टेन्स (AMR) चुनौतीलाई मध्यनजर गर्दै भक्तपुरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा स्वास्थ्यकर्मीले डेंगु रोगको रोकथाम, लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने उपाय तथा एन्टिबायोटिकको जिम्मेवार प्रयोगबारे जानकारी गराएका थिए। प्रस्तुतिकरणका क्रममा "AMR साझा समस्या हो", "समाधान पनि साझा प्रयासबाट मात्र सम्भव छ", "One Health समन्वय आवश्यक छ" र "स्थानीय तहबाट परिवर्तन सम्भव छ" भन्ने सन्देश दिइएको थियो।
सहभागीहरूलाई वितरण गरिएको सूचना सामग्रीमा डेंगु एडिस एजिप्टी र एडिस एल्बोपिक्टस जातका लामखुट्टेको टोकाइबाट सर्ने, यी लामखुट्टे विशेषगरी बिहान र बेलुकी बढी सक्रिय रहने तथा घर वरिपरि जमेको सफा पानीमा प्रजनन गर्ने भएकाले त्यस्ता स्थान नियमित सफा गर्न आग्रह गरिएको थियो।
स्वास्थ्यकर्मीले डेंगु नियन्त्रणका लागि घर, विद्यालय र समुदाय स्तरमै "खोजौं र नष्ट गरौं" अभियान प्रभावकारी हुने बताए। साथै चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन नगर्न, पूरा मात्रा पूरा गर्न र आवश्यक नपर्दा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरिएको थियो। यस्ता अभ्यासले AMR को जोखिम घटाउन मद्दत पुग्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा सहभागीहरूले समुदायको सक्रिय सहभागिता, सरसफाइ, पानी जम्न नदिने बानी तथा स्वास्थ्य संस्थासँगको समन्वयमार्फत डेंगु नियन्त्रण र एन्टिबायोटिक प्रतिरोध न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गरेका थिए।
नेपालमा पछिल्ला वर्षहरूमा डेंगु सार्वजनिक स्वास्थ्यको प्रमुख चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण, समुदायमा जनचेतना र बहुपक्षीय समन्वयलाई डेंगु रोकथामको मुख्य उपायका रूपमा जोड दिँदै आएका छन्।
फाेटाेमा हेर्नुहाेस्...
