जूनमा प्रकृति, सपना र नैतिकताको संगम
बैशाख ६, २०८३, आइतबार | राति ०८:४९ बजे | 60
दीपक भेटुवाल `दीपसागर´
नेपाली बालसाहित्यको समकालीन परिदृश्यमा विमला अधिकारी (अधिकारी विमला) एक सक्रिय, संवेदनशील र बालमन बुझ्ने स्रष्टाका रूपमा परिचित नाम हो । वि.सं. २०२३ वैशाख २४ गते पाँचथर जिल्लाको फिदिममा जन्मिनुभएकी उहाँका पिता देवीप्रसाद शर्मा ढुंगाना र माता लुमादेवी हुनुहुन्छ । बाल्यकालदेखि नै शब्द, भावना र कल्पनासँग आत्मीय सम्बन्ध गाँस्दै आउनुभएकी अधिकारी नेपाली साहित्य, शिक्षा र समाजसेवामा समानान्तर रूपमा सक्रिय रहँदै आउनुभएको छ । उहाँको साहित्यिक यात्रा कविता, गीत, गजल, मुक्तक र कथाजस्ता विविध विधामार्फत अघि बढेको देखिन्छ । सरल भाषा, संवेदनशील भाव र बालमन छुने शैली उहाँको लेखनीको प्रमुख विशेषता हो । बालसाहित्यदेखि गजल र हाइकुसम्म फैलिएको उहाँको सिर्जनात्मक विस्तारले पाठकमा सकारात्मक सोच, नैतिक चेतना र कल्पनाशीलताको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ । उहाँका प्रमुख कृतिहरूमा `अधिकारी विमलाका गजलहरू´(गजलसङ्ग्रह), `बालबगैँचा´ (बालकवितासङ्ग्रह), `ईन्द्रेणी´ (हाइकुसङ्ग्रह) र `बुवा´ (शोककाव्य) रहेका छन् । साथै अन्य कृतिहरू समेत प्रकाशनको तयारीमा हुनु उहाँको निरन्तर सृजनशील लेखनको प्रमाण हो । लामो समय शिक्षिकाको रूपमा सेवा गर्नुभएकी उहाँ अहिले पनि विभिन्न साहित्यिक तथा सामाजिक संस्थासँग सक्रिय रूपमा आबद्ध रहँदै साहित्यिक गोष्ठी र कार्यक्रमहरूमा निरन्तर उपस्थित रहनुहुन्छ । यही सृजनात्मक यात्राको एक महत्वपूर्ण उपलब्धि हो—`जून´ बालकवितासङ्ग्रह । यस कृतिमा समेटिएका कविताहरूले बालमनको कोमलता, जिज्ञासा, कल्पना र नैतिक चेतनालाई अत्यन्त सहज र प्रभावकारी ढंगले प्रस्तुत गरेका छन् । उहाँको प्रस्तुत सङ्ग्रहमा `फूल´, `जून´, `घर´, `पुतली´ र `साथी´ जस्ता पाँचवटा कविताहरू समाविष्ट भएका छन् । यीमध्ये केही कविताहरू यसअघि ‘बालबगैँचा’ शीर्षकको कविता सङ्ग्रहमा प्रकाशित भइसकेका भए पनि नयाँ सङ्ग्रहमा तिनलाई थप परिमार्जन र सम्पादन गरी समावेश गरिएको छ । यस प्रयोगले कविताहरूलाई अझ आकर्षक, परिष्कृत र बालबालिकामैत्री बनाएको देखिन्छ । आफ्ना रचनालाई निरन्तर सुधार र परिमार्जन गर्ने लेखकको प्रयासले लेखनलाई थप निखारिएको र प्रभावकारी बनाएको स्पष्ट अनुभूति हुन्छ । विषयवस्तुको दृष्टिले `जून´ विविधता र सन्तुलनको उत्कृष्ट उदाहरण हो । `फूल´ कवितामा प्रकृतिप्रेम र संरक्षणको सन्देश पाइन्छ भने `जून´ मा बालबालिकाको आकांक्षा, लक्ष्यप्राप्ति र उज्ज्वल भविष्यप्रतिको विश्वास अभिव्यक्त गरिएको छ । `घर´ कविताले गाउँप्रेम र मौलिक पहिचानको महत्त्व उजागर गरेको छ भने `पुतली´ ले स्वतन्त्रता र कल्पनाशीलताको उडानलाई जीवन्त बनाएको छ । `साथी´ कवितामा सामाजिक व्यवहार, अनुशासन, एकता र मित्रताको मूल्य सहज रूपमा प्रस्तुत गरिएको छ । यी सबै विषयहरू बालमनोविज्ञानसँग मेल खाने र उनीहरूलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने खालका छन् । भाषाशैलीका हिसाबले यो कृति अत्यन्त सरल, सरस र लयात्मक छ । छोटा–छोटा पङ्क्तिहरू, सहज शब्दचयन र दोहोरिने लयले बालबालिकालाई सजिलै सम्झन र गुनगुनाउन सक्ने बनाएको छ । विशेषगरी नेपालीसँगै अंग्रेजी अनुवादको समावेशले यस कृतिलाई द्विभाषिक शिक्षाको दृष्टिले पनि थप उपयोगी बनाएको छ । संरचनागत रूपमा कविताहरू छोटा, स्पष्ट र उद्देश्यपूर्ण छन् । प्रत्येक कवितामा सुरुवात, विस्तार र निष्कर्ष स्पष्ट रूपमा देखिन्छ, जसले बालपाठकलाई सन्देश ग्रहण गर्न सहज बनाउँछ । बिम्ब र प्रतीक प्रयोगमा फूल, जून, पुतली जस्ता तत्वहरू अत्यन्त प्रभावकारी रूपमा आएका छन् । यी प्रतीकहरूले बालमनमा सौन्दर्य, आशा र उडानको भावना जागृत गराउँछन् । `जून´ कल्पना बालबालिकाको सपना र आकांक्षाको सशक्त रूपक बनेको छ । यद्यपि, काव्यिक जटिलता भन्दा सरल र प्रत्यक्ष बिम्बहरूको प्रयोग गरिएको छ, जुन बालसाहित्यका लागि स्वाभाविक र उपयुक्त मानिन्छ । नैतिक र शैक्षिक रूपमा पनि यो कृति अत्यन्त सबल देखिन्छ । राम्रो व्यवहार, अध्ययनको महत्त्व, वातावरण संरक्षण, अनुशासन र एकताको सन्देश स्पष्ट रूपमा प्रस्तुत गरिएको छ । यद्यपि कतिपय स्थानमा सन्देश प्रत्यक्ष रूपमा प्रस्तुत हुँदा काव्यिक स्वतन्त्रता केही सीमित भएको महसुस भने हुन्छ । समग्रमा `जून´ बालकवितासङ्ग्रह नेपाली बालसाहित्यमा एक महत्वपूर्ण र उपयोगी कृतिका रूपमा स्थापित हुने देखिन्छ । यसले मनोरञ्जनसँगै शिक्षणको उद्देश्यलाई सफलतापूर्वक प्रतिनिधित्व गरेको छ । सरल भाषा, सकारात्मक सन्देश, बालमनोविज्ञानअनुकूल प्रस्तुति र द्विभाषिक स्वरूप यसको प्रमुख सबल पक्ष हुन् । नैतिक र शैक्षिक दृष्टिले यो कृति सबल देखिन्छ, जहाँ राम्रो व्यवहार, अध्ययनको महत्त्व, वातावरण संरक्षण, अनुशासन र एकताको सन्देश स्वाभाविक रूपमा प्रस्फुटित भएको छ । प्रस्तुत कृतिमा बालबालिकालाई सपना देख्न, राम्रो बन्न र जीवनप्रति आशावादी रहन प्रेरित गर्छ । यसरी `जून’ ले नयाँ पुस्तामा नैतिकता र सिर्जनात्मकताको सशक्त बीउ रोप्ने काम गरेको देखिन्छ ।
.jpg)