कुन विद्यालयले धेरै शुल्क लियो? — भक्तपुरका अभिभावकको प्रश्न


बैशाख ६, २०८३, आइतबार | राति ०८:३४ बजे | 295


कुन विद्यालयले धेरै शुल्क लियो? — भक्तपुरका अभिभावकको प्रश्न

भक्तपुरमा निजी विद्यालयहरूले अत्यधिक शुल्क लिएको भन्ने विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला स्थानीय अभिभावकहरूले भने यसलाई अतिरञ्जित गरिएको दाबी गरेका छन्।

भक्तपुरका एक अभिभावक कुमार लघुले यहाँका विद्यालयहरूले वर्षौँदेखि नगरपालिकाको तोकिएको मापदण्डभित्र रहेर शुल्क निर्धारण गर्दै आएको बताएका छन्। उनका अनुसार, निजी विद्यालयहरूले वर्गीकरण (क, ख, ग, घ) अनुसार शुल्क लिने व्यवस्था रहेको छ र यसले अभिभावकलाई आफ्नै आर्थिक क्षमताअनुसार विद्यालय छनोट गर्ने अवसर दिएको छ।

“भक्तपुरमा श्रमिक, किसान, व्यापारी, कर्मचारी लगायत सबै वर्गका अभिभावकले आफ्ना छोराछोरीलाई आफ्नो क्षमता अनुसार पढाइरहेका छन्,” उनले भने, “काठमाडौँ र ललितपुरका विद्यालयमा समेत विद्यार्थीहरू बस चढेर अध्ययन गर्न जाने अवस्था छ, जसले विकल्प खुला भएको देखाउँछ।”

उनले सरकारी विद्यालयमा नि:शुल्क शिक्षा भनिए पनि विभिन्न शीर्षकमा शुल्क लिइने गरेको उल्लेख गर्दै अतिरिक्त कक्षाले विद्यार्थीलाई थप सक्षम बनाउने भएकाले अभिभावकहरू स्वयंले पनि त्यसलाई सकारात्मक रूपमा लिने गरेको बताए। “अतिरिक्त कक्षा सञ्चालन गरेर विद्यार्थीलाई सिपालु बनाउने शिक्षकहरू प्रशंसनीय छन्,” उनले थपे।

भक्तपुरमा निजी र सरकारी दुवै विद्यालयको योगदान रहेको उल्लेख गर्दै उनले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गरेर दक्ष जनशक्ति उत्पादनमा भूमिका खेलेको दाबी गरे। साथै, सरकारी विद्यालयहरूले पनि उत्कृष्ट विद्यार्थीलाई आकर्षित गर्ने विभिन्न योजनामार्फत आफ्नो स्तर सुधार गरेको उनको भनाइ छ।

निजी विद्यालय सञ्चालकहरूले ठूलो लगानी, बैंक तथा सहकारी ऋण, कर तिर्ने दायित्व र व्यवस्थापन खर्च व्यहोरेर विद्यालय सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले “मनोमानी रूपमा शुल्क लिएको” भन्ने आरोप तथ्यहीन भएको बताए।

अन्त्यमा उनले प्रश्न गरे, “यदि कसैले अत्यधिक शुल्क लिएको छ भने स्पष्ट रूपमा कुन विद्यालयले लियो भनेर प्रमाणसहित सार्वजनिक गर्नुपर्छ।”

Comments