सापकोटा थर : हाम्रो कथा , हाम्रो इतिहास
बैशाख ४, २०८३, शुक्रबार | विहान ११:१९ बजे | 195
सुनील सापकोटा, कौसलटार ( भक्तपुर )
सापकोटा थर भएका व्यक्तिहरूको इतिहास समग्र खस ब्राह्मण समुदायको इतिहास संग गहिरो रूपमा जोडिएको देखिन्छ। खस समुदायको उत्पत्तिबारे विभिन्न मतहरू पाइन्छन्। केही विद्वानहरू ले यसलाई मध्य एशिया, ककेसस क्षेत्र वा इरानतिर सम्म जोड्ने प्रयास गरेका छन् भने आधुनिक इतिहासकारहरूले खस समुदाय मुख्यतः हिमालयको पश्चिमी क्षेत्र, विशेषगरी कर्णाली आसपास विकसित भएको मान्यता अघि सारेका छन्। यस आधारमा हेर्दा खसहरू प्राचीनकालमा एक गतिशील घुमन्ते प्रकृतिका र युद्धशील समुदाय थिए भन्ने अनुमान गर्न सकिन्छ। समयक्रममा यिनीहरू विभिन्न स्थानमा बसाइँसराइ गर्दै दक्षिणतिर भारतका मैदानसम्म पुगेका र त्यहाँका सभ्यता तथा संस्कृति संग घुलमिलको पनि देखिन्छ। मानिस जहाँ पुगे पनि अन्ततः फर्केर हेर्ने ठाउँ आफ्नै जरा नै हो। थर केवल नाम होइन। यो हाम्रो इतिहास, पहिचान र सामूहिक स्मृतिको दर्पण हो। “ सापकोटा ” थर बोकेर हिँड्दा यसको उत्पत्ति के हो भन्ने प्रश्न स्वाभाविक रूपमा मनमा उठ्छ। सापकोटा थर खस ब्राह्मण समुदायभित्र पर्ने भएकाले यसको पृष्ठ भूमि खसहरूको इतिहाससँग जोडिन्छ। आधुनिक इतिहासकार हरू जस्तै बाबुराम आचार्य र मानवशास्त्री डोर ब. बिष्टका अनुसार खस समुदायको विकास मुख्यतः नेपालको पश्चिमी हिमाली भूभाग मा भएको मानिन्छ। परम्परागत रूपमा खस ब्राह्मणहरूलाई भारत को कन्नोज क्षेत्र संग पनि जोड्ने गरिन्छ। मध्यकालीन भारतमा दिल्ली सलनतको विस्तारपछि केही समुदायहरू पहाडतिर सरेको भनाइ पाइन्छ। यद्यपि यस्ता कथाहरूलाई पूर्ण इतिहासभन्दा बढी परम्परागत स्मृतिका रूपमा बुझ्नु उपयुक्त हुन्छ। सापकोटा थरको उत्पत्तिबारे समाजमा दुई रोचक किंवदन्तीहरू प्रचलित छन्। पहिलो अनुसार पश्चिम नेपालमा कौडिन्य गोत्रका एक “भट्ट” ब्राह्मण साँपले डसेका मानिसहरूको विष झार्ने सीपमा निपुण थिए। उनको यही विशेषताका कारण “साँप–काटा” भन्ने पहिचान बिस्तारै “सापकोटा” थरमा रूपान्तरित भयो भन्ने विश्वास गरिन्छ। अर्को किंवदन्ती अनुसार पश्चिम नेपालमै “ सर्पकोट ” नामको कुनै गाउँ थियो अरे। त्यहाँ बस्ने मानिसहरूलाई “सर्पकोटे” भनिन्थ्यो अरे। जुन समय संगै भाषिक परिवर्तन हुँदै “सापकोटा” बन्न पुग्यो भन्ने मान्यता छ। यी दुवै कथाहरू फरक भए पनि दुवैमा " साँप र काटा " दुई शब्द को प्रयोग पश्चिम नेपालको सन्दर्भ देखिन्छ। भाषिक रूपमा पनि सर्पकोट स्थान पछी सापकोटामा रूपान्तरण सम्भव देखिन्छ। यद्यपि यी सबै किंवदन्तीहरूलाई पुष्टि गर्ने ठोस ऐतिहासिक प्रमाण भने अझै सीमित छन्। त्यसैले सापकोटा थरको इतिहासलाई तथ्य र कथाको संगमका रूपमा बुझ्नु उपयुक्त हुन्छ। अन्ततः हाम्रो पहिचान केवल कागजमा लेखिएको इतिहास होइन । यो पुस्तौँ देखि सुनिँदै आएको कथा पनि हो। सापकोटा थरको वास्तविक कथा पनि सायद यिनै कथा र तथ्यबीच कतै जीवित छ। धन्यवाद !
