एक्टिभ स्कुलद्धारा विद्यार्थीहरु दीक्षित
चैत २८, २०८२, शनिबार | दिउँसो १२:४३ बजे | 370
सागर गुरागाईं
मध्यपुर थिमि – मध्यपुर थिमि नपा ६ चपाचोस्थित एक्टिभ ईंग्लिस स्कुलद्धारा कक्षा युकेजीको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई दीक्षित गरिएको छ । स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं निर्देशक आशाहरि प्रजापतिको सभापतित्वमा भएको उक्त दीक्षान्त कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नपा ६ का वडाध्यक्ष ज्ञानदास प्रजापतिले किताबी ज्ञानसँगै विद्यार्थीहरुको व्यवहारिक प्रयोगात्मक एवं नैतिक शिक्षालाई एक्टिभ स्कुलले प्राथमिकता दिएकोमा खुशी व्यक्त गर्दै शुभकामना दिनुभयो । कार्यक्रममा मध्यपुर थिमि नपा ६ की महिला नगरसभा सदस्य अरुणा कारंजित, मथिनपा शिक्षा शाखाकी धना गिरी लगायतका अतिथि वक्ताहरुले बालबालिकाहरुको सर्वागिंण विकासका लागि दीक्षान्त कार्यक्रमसँगै अतिरिक्त क्रियाकलाप मार्फत प्रतिस्पर्धि नागरिक तयार गर्न सकिने बताउनु भयो । स्कुलका निर्देशक आशाहरि प्रजापतिले एक्टिभ स्कुलको ३० वर्षे शैक्षिक एवं भौतिक प्रगति बुदाँगत रुपमा प्रस्तुत गर्दै पढाइसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत उमेर अनुसार रोबोटिक एवं डिजिटल कक्षा मार्फत शिक्षण सिकाई गरिरहेको जानकारी दिनुभयो । एक्टिभ स्कुलका प्रिन्सिपल विजय प्रजापतिले स्कुलको बार्षिक शैक्षिक प्रगति प्रतिवेदन संक्षिप्त रुपमा पेश गर्दै बालबालिकाहरुको व्यवहारिक सिकाईमा पनि प्राथमिकता दिएको बताउनु भयो । कार्यक्रममा विद्यार्थीहरुलाई रातो टिका, टोपी, प्रमाणपत्र, फुलका गुच्छा एवं खादा सहित दीक्षित गरिएको थियो । सिद्धिकाली चोकस्थित शुभश्री बैंक्वेटमा भएको उक्त कार्यक्रममा कक्षा नर्सरी, एलकेजी र युकेजी अध्ययनरत विद्यार्थीहरुले विभिन्न भेषभूषामा सजिएर आकर्षक नृत्य, गीत, सन्देशमूलक प्रहशन एवं प्रतिभा प्रदर्शन गरेका थिए । कार्यक्रममा स्कुलका शिक्षिकाहरु उर्मिला प्रजापति, शान्ति लामा, प्रमिला नकर्मी लगायतले विद्यार्थीहरुको पढाइ, व्यवहारिक ज्ञानदेखि आगामी शैक्षिकसत्रमा गरिने कृयाकलापहरुको समेत जानकारी दिनुभएको थियो । उक्त कार्यक्रममा शिक्षिकाहरु राधिका सुवेदी, सर्मिला प्रजापति र प्रमिला नकर्मीलाई वहाँहरुले पु¥याउनु भएको शैक्षिक योगदानको कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा नर्सरी, एलकेजी र युकेजीमा अध्ययनरत विभिन्न खेलकुद र अध्ययनमा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा पुर्वप्राथमिक तहमा अध्ययनरत विद्यार्थी र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
