माधव वियोगीलाई स्रष्टा सम्मान/ पुरस्कार प्रदान गरिने


चैत १९, २०८२, बिहीबार | राति ०९:२५ बजे | 65


माधव वियोगीलाई स्रष्टा सम्मान/ पुरस्कार प्रदान गरिने

नेपाली साहित्यमा महाकाव्य ,खण्डकाव्य, कविता,कथा,निबन्ध,समालोचना,जीवनी , गजल, गीत आदि पुस्तक प्रकाशन गर्नाकोसाथै नेपाली भाषाको श्री वृद्धिमा विविध विषयमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएका साहित्यकार माधव वियोगी/ माधवप्रसाद घिमिरेलाई ‘लीलाध्वज थापा त्रैमासिक स्रष्टा सम्मान तथा पुरस्कार’ प्रदान गरिने निर्णय भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाबाट जानकारी हुनआएको छ । नेपाली मौलिक सामाजिक उपन्यास विधामा सर्वप्रथम मदन पुरस्कार प्राप्त यशस्वी उपन्यासकार तथा कवि लीलाध्वज थापाको नाममा स्थापना गरिएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानले यो सम्मान प्रदान गर्न लागेको हो । अर्घौ कालिका झाँझरमारे , कस्कीमा जन्मिनुभएका वियोगी हाल पोखरा न . पा . २६ मा बसोबास गर्दै आउनुभएकाे छ । उहाँले एम् .ए . / वि . ए . / वि. एड. अध्ययन पूरा गर्नुभएकाे छ । उहाँ जनप्रिय बहुमुखी क्याम्पसको प्रमुख समेत हुनुहुन्थ्यो । उहाँले छन्द बचाउ अभियान ,महाकाव्य लेखन अभियान, गृह पुस्तकालय अभियान, छन्द प्रशिक्षण आदिमा सक्रीय कार्य गर्नुका साथै वियोगीले महाकाव्य ८, खण्डकाव्य ८, समालोचनाका ७, कवितासंग्रह २, तथा निबन्ध,छन्दसुत्र, जीवनी, लोककथा, गजल र गीतका पुस्तक पनि प्रकाशित गर्नुभएको छ । उहाँ पत्रकारिता, कानूनी परामर्श सेवा , शिक्षण पेशाका साथै ३ दर्जनभन्दा बढी साहित्यिक र सामाजिक संस्थामा संलग्न हुनुहुन्छ । उहाँले अन्तराष्ट्रिय नेपाल भारत साहित्यरत्न सहित पुरस्कार, सम्मानपत्र, कदरपत्र अभिनन्दनपत्र आदि चार दर्जनभन्दा बढी साहित्य संघ–संस्थाबाट सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएकाे छ । हाल उहाँ छन्द विश्वविद्यालय स्थापनार्थ सरकारमा प्रस्ताव पेश गरी प्रयत्नरत हुनुहुन्छ । प्रतिष्ठानले त्रैमासिक रूपमा प्रदान गर्दै आएको स्रष्टा सम्मान तथा पुरस्कार यसपटक वियोगीलाई प्रदान गर्ने निर्णय गरेको हो । रु. १० हजार राशिको उक्त सम्मान तथा पुरस्कार आगामी २०८२ साल चैत्र २८ गते प्रतिष्ठनको रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रममा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी दिनुभएकाे छ ।

Comments