मत परिवर्तन गरिदिनु भन्दा चाहिँ गर्न सक्नुहुन्न ?


फाल्गुन १८, २०८२, सोमबार | राति १०:०० बजे | 455


मत परिवर्तन गरिदिनु भन्दा चाहिँ गर्न सक्नुहुन्न ?

करुणा बजगाई
छोरा–छोरीको लागि ज्यान दिन सक्नुहुन्छ, ऋण लिएर पढाउन सक्नुहुन्छ, आफू भोकै बसेर उनीहरूको पेट भर्न सक्नुहुन्छ, उनीहरूले नभने पनि मनको कुरा बुझ्न सक्नुहुन्छ । तर उनीहरूकै लागि, उनीहरूले कराएर–चिच्याएर एक पटक मात्रै आफ्नो अमूल्य मत परिवर्तन गरिदिनु भन्दा चाहिँ गर्न सक्नुहुन्न ? हजुरहरूलाई पार्टी त्याग्नुस् भनेको होइन, बस एक पटकका लागि आफ्नो मत परिवर्तन गरिदिनुस् भनेको हो । अहिले हजुरका छोरा–छोरीलाई सबैभन्दा धेरै चाहिएको कुरा देशमा परिवर्तन हो, र त्यो परिवर्तन हजुरको एउटै मतले सम्भव छ । जबसम्म मत परिवर्तन हुँदैन, तबसम्म अवस्था पनि परिवर्तन हुँदैन । तर हजुरहरू सबै कुरा गर्न तयार हुनुहुन्छ, आफ्ना सन्तानले सबैभन्दा बढी चाहेको कुरा बाहेक । पार्टीका ठूला नेताहरू हजुरकै सन्तानमाथि गोली चलाउन तयार हुन्छन्, तर हजुरहरू भने मत परिवर्तन गर्न तयार हुनुहुन्न ? नेताले गोली हान्ने आदेश दिँदा धोका हुँदैन, तर एक पटक सन्तानको भविष्यका लागि मत परिवर्तन गर्दा चाहिँ पार्टीलाई धोका हुन्छ ? मैले बुझ्न नसकेको कुरा यही हो—के गरेको छ यस्तो यो पार्टीले हाम्रा आमा–बुबालाई, जसलाई एक पटकका लागि पनि छोड्न नसकिने ? घर–घरमा यही विषयमा झगडा भइरहेको छ । मेरो २१ वर्षको अनुभवमा कुनै पनि पार्टीले म वा मेरो परिवारका लागि केही गरेको जस्तो लाग्दैन, तर अझै पनि उही पार्टी र उही पुराना नेता नै दोहोरिइरहेका छन् । “अब बदलिन्छन्” भन्ने कुरा तीन दशकदेखि सुनिरहेका छौं, तर तीन दशकमा नबद्लिएका अब कहिले बदलिने ? गल्ती केवल सिद्धान्तको होइन, सत्ता सम्हालेर बसेका नेताहरूको हो, जसले आफ्ना वाचा पूरा गरेका छैनन् । रोजगारी छैन, युवाहरू विदेशिन बाध्य छन्, गरिबी बढिरहेको छ, एउटा पेट पाल्नसमेत कति गाह्रो छ । तीन दशकमा उनीहरूले देशका लागि के गरे ? आफ्नै भुँडी भरे, पुस्तौंपुस्ता पुग्ने गरी भ्रष्टाचार गरे, आफ्ना सन्तानलाई विलासी जीवन दिए । देश बेच्न तयार छन् आफ्ना सन्तानका लागि, तर हाम्रा आमा–बुबा भने आफ्ना सन्तानका लागि एक पटक मत परिवर्तन गर्न पनि तयार हुनुहुन्न ? यदि यो पटक पनि नबुझ्यौं भने, हाम्रा छोरा–छोरी जसले परिवर्तनका लागि सडकमा उत्रिए, साथीहरूको लास बोके, रगत देखे, त्यो सबै व्यर्थ हुनेछ । भोलि उनीहरू बाँच्लान् तर एउटा जीवित लासझैँ, जहाँ बाँच्नुको अर्थ र सम्मान दुवै हराइसकेको हुनेछ । आमा, बुबा, श्रीयम र बाँकी ७५ जना कुनै पार्टीका कार्यकर्ता थिएनन्, उनीहरू कसैका सन्तान थिए । एकछिनका लागि सोच्नुस्—त्यो भिडमा म भएको भए ? त्यो गोली, त्यो लाठी, त्यो रगत मेरो भएको भए ? अझै पनि ‘पार्टी’ नै भन्नुहुन्छ ? मान्छेभन्दा माथि पार्टी कसरी हुन सक्छ ? हामी सन्तानको ज्यानभन्दा ठूलो कुनै झण्डा हुँदैन । मत हाल्दा कम्तीमा हामीलाई सम्झेर हाल्नुस् । धन्यवाद ।

Comments