उपल्लो मुस्ताङ भ्रमणः रोमाञ्चक र रहस्यमयी !


फाल्गुन १३, २०८२, बुधबार | दिउँसो ०१:५९ बजे | 235


उपल्लो मुस्ताङ भ्रमणः रोमाञ्चक र रहस्यमयी !

रत्नकुमार श्रेष्ठ
१. पृष्ठभूमिः
नेपाल हिमाल, पहाड र तराईको त्रिवेणी संगमले बनेको यस्तो देश हो, जहाँ उत्तरमा आकाश छुन खोज्ने सगरमाथा उभिएको छ भने दक्षिणतिर हरियालीले ढाकिएको तराईको समथर भूभाग फैलिएको छ । हिमाल र पहाडी श्रृखलाहरुबाट कल कल ध्वनीका साथ बग्ने कञ्चन नदीहरु, झरना, तालतलैया र वनजंगलले यस तपो भूमिलाई साँच्चै स्वर्गतुल्य बनाएका छन् ।
प्रकृतिसँगै यहाँको सांस्कृतिक विविधता पनि अद्भूत छ । विभिन्न जातजाति, भाषा, भेषभूषा र परम्पराले नेपाललाई रंगीन इन्द्रेणीझैँ सुन्दर बनाएको छ । हिमालको काखमा उक्लँदा, पहाडका गोरेटाहरुमा हिँड्दा वा तराईका खेतबारीमा डुल्दा, जहाँ पुगे पनि शान्ति, सौन्दर्य र आत्मीयता अनुभूति हुन्छ । 
हिमालहरु सिर्फ हिउँले ढाकिएका चिसा पहाड मात्रै होइनन् । त्यसलाई जीवन्त बनाउँछ त त्यहाँ वरपरका वनस्पति, जनावर, जनजीवन, संस्कृति र यसप्रतिको भावनाले । हिमालपारिको निर्जन मरुभूमितुल्य ठाउँ पनि कसरी त्यति धेरै जीवन्त हुन सक्छ भन्ने उदाहरण हो – उपल्लो मुस्ताङ । त्यही मुस्ताङ भ्रमणको अनुभूति पोख्न गइरहेको छु म यहाँ ।
संसारका जोकोही, सके जति नजिकबाट हिमाल हेर्न भुतुक्कै हुन्छन् । यही सन्दर्भमा एउटा गीतको एक अंश याद आउछ । “झन पर जान्छु लैलै झन माया लाग्छ बरिलै” भनेझै हिमाल धेरै टाढा भएकाले मात्रै सबैको प्रिय भएको भने पक्कै होइन । यसको आफ्नै बिशेषता र मौलिकता छ ।
धवलागिरि र अन्नपूर्णबीचको निकै गहिरो कालीगण्डकीको खोच काटेर हिमालपारि पुगेपछि दक्षिणतिर देखिने हिउँका डाँडाहरुमा भने खासै कसैको ध्यान जाँदैन । तर, हिमालको लहर नाघेर उपल्लो मुस्ताङ पुग्दा अगाडि देखिने होचा, नाङ्गा तर रहस्यमय लाग्ने रंगीन पहाडहरुमा हामीलाई उत्सुक बनाउने अनेकथोक छन् । नबनाउन पनि कसोरी ! हिमालपारि तिब्बती पठारको भरुभूमिजस्ता लाग्ने भू–परिधि नेपालमा अन्यत्र खासै देख्न पाइन्दैन । नेपालको सुदूरउत्तर पश्चिमी क्षेत्रमा मात्रै यस किसिमको भौगोलिक बनावट छ ।
२. जोमसोम र कागबेनी ः
जोमसोम मुस्ताङको मुख्य प्रवेशद्वार नै हो । यहाँ पुगेपछि बल्ल मुस्ताङ पुगेको भान हुन्छ । तलतिर खोँचमा लुकेको कालीगण्डकी हेर्दै बाटो काटेकाहरुलाई सोहि नदीको माथितिर भने आँखाले नभ्याउने ठाउँसम्म पुग्ने गरी फैलिएका बगरले यस नदीको विशालता सम्झाइरहन्छन् । जोमसोम पुगेपछि सात हजार मिटर हाराहारीका अग्ला तिलिचो र नीलगिरि हिमालहरु दक्षिणतिर देखिन्छन् । नदेखिए पनि आठ हजार मिटरमाथिका अन्नपूर्ण र धवलागिरि हिमशृखलाहरु सबै दक्षिणतिर नै पर्दछन् ।
जोमसोमबाट कागबेनीसम्म हिँडेर ३ देखि ४ घण्टामा पुग्न सकिन्छ । अचेल मोटरबाटो राम्रो भएकाले धेरैजसो मानिस गाडिमै जाने गर्छन् । तर, त्यो बाटोमा नहिँड्दा मुस्ताङको एउटा अभूतपूर्व अनुभव मिल्दैन । बि.सं. २०६३ मा हामी जोमसोमबाट हिडेर मुक्तिनाथ जाँदा बाटोमा कागबेनीमा खाना खाएका थियौँ । त्यस बखतको सम्झना र अनुभूति मेरो मानसपटलमा अझ ताजै छ । दक्षिण्तिर नजिकै देखिने हिमाल हेर्दै गर्दा बेलाबेला उडाउला जस्तो हावामा उचालिँदै बगरबाट उडाएर ल्याउने बालुवा मिसिएको धुलो छल्न आँखा चिम्सो पारेर मध्यान्हमा हिँडनुको बेग्लै मज्जा आउथ्यो । त्यतिमात्र कहाँ हो र ? कालीगण्डकीको बगरको यात्रा शुरु हुन अगाडिनै हामीले हाम्रो अनुहारमा आँखामा गगल्स, र बाँकी मुहारलाई गम्छा वा मफलरले बेरेर ढाक्नु पथ्र्यौ । तब मात्र हावाले उडाएर मुहारमा प्रहार हुने बालुवाका कणहरुबाट बच्न सकिन्थ्यो । नेपालीहरुको जिब्रोमै झुण्डिएको “जोमसोमै बजारमा बाह्र बजे हावा सरररर...”भन्ने गीतको हरफ लेखकले पक्कै यही ठाउँ कतै पुग्दा लेखेको हुनुपर्छ । त्यस ठाउँमा पुग्दाको वातावरणले मलाई यहि गीतको सम्झना दिलायो ।
कागबेनी हिन्दु धर्मावलम्वीहरुका लागि आफ्ना पुर्खाहरु सम्झेर पूजा अर्चना गर्ने पवित्र ठाउँ हो । प्रायः यहाँ आउने व्यक्तिहरुले पितृका नाममा श्राद्ध गर्दछन् । कागबेनी पुगेपछि दुई बाटो आउँछन् ।  पूर्वतिर उकालो लागे मुक्तिनाथ पुगिन्छ । मुक्तिनाथ हिन्दु र बौद्व धर्मावलम्बीहरुका लागि धार्मिक स्थलका रुपमा परिचित छ भने पदयात्रीका लागि थोराङ ला हुँदै मनाङ पुग्ने मार्गका रुपमा । तिलिचो र मनाङ हुँदै मुस्ताङ फर्कन पनि यही बाटो धेरैले प्रयोग गर्छन् ।
३. उपल्लो मुस्ताङको यात्रा ः
तल्लो मुस्ताङ र उपल्लो मुस्ताङको यकिन सीमा नभए पनि कागबेनी कटेपछि उपल्लो मुस्ताङ सुरु भएको मानिन्छ । कागबेनीबाट कालीगण्डकीको तीरैतीर उत्तरतिर लागे उपल्लो मुस्ताङ पुगिन्छ । हिँडेर पाँच दिन लाग्ने बाटो अहिले एकै दिनमा मोटरबाटो हुँदै पुग्न सकिन्छ । कागबेनीबाट ताङ्बे गाउँ हुँदै छुसाङ पुगेर उकालो बाटो सुरु हुन्छ । यो बाटोमा जीवाशेष भएको चट्टान धेरै भेटिन्छ, जसलाई शालिग्राम पनि भन्ने गरिन्छ । कालो चिल्लो गोलाकार ढुंगाबीच रेखा छन् भने त्यसभित्र जीवाश्म हुने सम्भावना हुन्छ । ती जीवाश्मले  करोडौ वर्ष त्यहाँका हावापानी सहेका हुन्छन् । कति पुराना हुन् भन्ने त्यसभित्र कुन प्रजातिको अवशेष हो भन्नेमा भर पर्छ । सामुद्रिक प्राणीको अवशेष धेरै भेटिनुले त्यस क्षेत्रबाट हजारौँ किलोमिटर टाढा पर्ने समुद्र र हिमालपारि तिब्बती पठारको कुनै समयकालको सम्बन्धबारे सोचमग्न बनाउँछ ।
छुसाङ पुगेर खोलापारि फर्केर हेर्दा कुनै कलाकारले बनाएको सुन्दर चित्रझै लाग्ने सुनौलो भीर छ । अझ बिहानको घाम त्यहाँ पर्दा लाग्छ, त्यो सुनकै रास नै हो । एउटा भनाइ नै छ छुसाङमा एक रात बास बसेर बिहानै त्यस भीर हेर्न छुटाँउँदा धेरै कुरा छुट्छ । अझ भेडाको बथानले उडाएको धूलो कालीगण्डकीको किनारको हावामा बिस्तारै विलय नहुन्जेल आँखा पनि झिम्किन मान्दैन । छुसाङबाट कालीगण्डकी तरेर लोमान्थाङ उकालो लागेपछि चैले भन्ने ठाउँमा पुगिन्छ ।  त्यहाँबाट दक्षिणतिर फर्केर हेर्दा तल पिँधमा ध्याकर गाउँबीच लहरै नापेरै रोपिएजस्ता काँडे बुट्यानका थुम्काले भरिएको पहाड र उपल्लो भागमा सेता हिमालका पंक्तिहरु देखिन्छन् । जुन अत्यन्तै रोचक र मनमोहक देखिन्छन् ।
४. कृषि उपज, वनस्पती, घरेलु तथा वन्यजन्तुहरु ः
समुद्री सतहबाट ३,००० मिटरभन्दा माथि उचाइमा वर्षको अधिक समय चिसो हुन्छ । खेतीपाती खासै हुँदैन । त्यो विषम मौसमी अवस्थामा पनि वर्षा सकिएर शरद ऋतुका बेला पुग्ने यात्रीले फापर बारीमा फूलले रौनकता छाएको देख्न पाउँछन् । चिसो ठाउँ भए पनि धेरै बादल नलाग्ने र पारिलो घाम भएकाले उवा, फापर र कतै कतै आलु खेती गर्न यो क्षेत्रमा सम्भव भएको हो भन्ने भनाइ छ । यहाँ स्याउको खेती गर्ने गरिन्छ । उपल्लो मुस्ताङ पुगेर तलतिर हेर्दै मुस्ताङलाई कुनै आकृतिमा सम्झने  हो भने लाग्छ– हिमालको शिर भएको स्याउघारीको शरीरमा, फापर बारीको बर्को ओडेको, खच्चरका बलिया गोडामा उभिएको कुनै पात्र हो–मुस्ताङ ।
चैलेको डाँडादेखि लोमान्थाङसम्मको यात्रामा देखिने उजाड मरुभूमिझै लाग्ने  होचा डाँडा, र गेगरको बगर आइरहन्छ । खोलाबिनाको बगर घिसिपिटि गर्दै तर्नु पनि एक नौलो अनुभव हो । नाङ्गा पहाडबीच अलिअलि पानी रसाएर स–साना पोखरी बनेका हुन्छन् । तिनै पोखरीको आसपासमा काँडे बुट्यान पनि खुसीले हलक्क परेको देखिन्छ । त्यस किसिमको ठाउँ त्यहाँका वन्यजन्तुको पानी र आहारका लागि निक्कै फलदायी हुन्छ । केही समय कुरेर बस्ने हो भने पोखरी वरिपरि नाउरको बथान वा हिमाली मार्मोटसमेत देख्न सकिन्छ । नाउर जंगली भेडाको एक प्रजाति र हिउँचितुवाको  मुख्य आहार हो । फ्याउमुसो भनिने हिमाली मार्मोट हेर्दा ठूलो मुसो जस्तो देखिन्छ  । समूहमा बस्ने ती साना सुन्दर जनावर जमिनमा लुकामारी गरेको दृश्य अलौकिक हुन्छ ।
त्यस क्षेत्रका अधिकांश घरका ढोकामा भोटेखरायोको टाउको झुण्डाएको देख्न सकिन्छ । ती ढोकामा टाँसिएका खरायोलाँई स्थानीय भाषामा भोरुङ भनिन्छ । खरायोले बाघ, मुसा, गधालगायत विभिन्न नौ जनावरको प्रतिनिधित्व गर्ने र घरको सुरक्षा गर्ने विश्वासले ढोकामा टाँस्ने गरेको स्थानीयहरु बताउँछन् । चराङबाट थोरै अगाडि पुगेपछि कालीगण्डकीको किनार छोडेर लोमान्थाङको बाटो उत्तरतिर लाग्छ । तिब्बतबाट समेत आउने, लोमान्थाङ हुँदै बहने नदीमा धी गाउँनेर पूर्वतिरबाट आउने कालीगण्डकी मिसिएपछि नदीको नाम कालीगण्डकी बन्छ । 
अन्य क्षेत्रमा ४,००० मिटरको उँचाइसम्म पुग्ने रुख बुट्यानले पनि मुस्ताङलाई धेरै तलै छाडेको छ । बर्षा गराउने बादल हिमाल तरेर पारिसम्म पुग्न नसक्ने हुनाले ज्यादै कम मात्रा पानी पर्ने यस क्षेत्रमा रुखहरु त्यति हुर्कन सक्दैनन् । भोटे पीपल प्रजातिको रुखले भने यो कठिनताका बावजुद उपल्लो मुस्ताङमा अलिकति भए पनि हरियाली थपेको छ । थोरै पानीमा हुर्कन सक्ने यी रुख स्थानीय बासिन्दाका लागि बरदान नै हो । घरायसी प्रयोजनमा यही रुख प्रयोग हुन्छ । बसन्त ऋतुका बेला पात पहेँलो हुने हुनाले त्यस बखत त्यहाँ पुग्ने पर्यटक देख्छन्–भोटे पीपलका रुखहरुले रंग भरेको मुस्ताङ ।
५. खोजमुलक ऐतिहासिक महत्व ः
आँखैअघि हजारौँ बर्ष पहिलेको मान्छेको इतिहास कही देख्न सकिन्छ भने त्यो उपल्लो मुस्ताङमै हो । वरपरका भीरपाखामा आदिमानव बसोवास गर्ने गुफाका दृश्य मुस्ताङमा नौलो होइन । विभिन्न अध्ययन अनुसन्धानहरुले २५०० बर्षभन्दा पुरानो मानव कंकाल यसै क्षेत्रमा फेला पारेको प्रमाणित छ । के कारण हजारौ बर्ष पहिले पनि मान्छेले त्यस कठिन ठाउँमा बसोवास गर्ने निर्णय गरे ? यो प्रश्नको उत्तर स्पष्ट छैन ।  पहाडभित्रै खोपिएका दरबार जति धेरै हेर्यो उति रहस्यमय लाग्छ । लोमान्थाङबाट पैदलै केही घण्टामा छोसेर पुगेर ती गुफा नछिर्नु मुस्ताङ नपुग्नुसरह हो ।
पछिल्ला केही सय बर्षमा आइपुग्दा, भारत–नेपाल–चीनको व्यापारिक नाकाका रुपमा मुस्ताङको बाटो प्रयोग हुन थालेपछि भने वरपरका धेरै राज्यले मुस्ताङ क्षेत्र आफ्नो नियन्त्रणमा राख्न प्रयत्न गरेको थाहा हुन्छ ।
लोमान्थाङ उपल्लो मुस्ताङको केन्द्र हो । इतिहास भन्छ–यस क्षेत्र हजारौँ बर्ष छुट्टै राज्यको रुपमा थियो । त्यो समय विश्वका अधिकांश ठाउँमा स–साना राज्यहरु हुने गर्थै । त्यो कठिन भूगोलमा उभिएको लोमान्थाङले कहिले हिमालवारिका त कहिले हिमालपारिका तिव्वती राज्यसँगको लडाई, अधीन र स्वतन्त्रता सबैको अनुभव गरेको तथ्यहरु छन् । वरपरका डाँडाहरुमा रहेका जीर्ण गढी, तत्कालीन राजाको दरबार भएको गाउँ नै घेरिएका अग्ला पर्खालहरुले चुपचाप लोमान्थाङको असुरक्षित इतिहासबीचको प्रयास झल्काउँछ ।
झट्ट हेर्दा नाङ्गा मरुभूमिझै लाग्ने उपल्लो मुस्ताङ भरिपूर्ण छ ।  मोटर चढेर कोराला नाकासम्म पुग्दा देखिने नौलो उजाड पहाडभन्दा वास्तविक मुस्ताङ भिन्न छ । सम्भव भए जोमसोमबाट पैदलै कोरोला पुगे त्यो भरिपूर्ण मुस्ताङ महसुस  गर्न सकिन्छ । कुनै एक प्रसंगमा आइन्सटाइनले भनेका थिए– “रहस्यमय हुनु नै सबै वास्तविक कला र विज्ञानको स्रोत हो र यो नै सबैभन्दा सुन्दर चिज हो, जसलाई हामी अनुभव गर्न सक्छौँ ।” मुस्ताङ त्यस्तै नेपालको एक रहस्यमय ठाउँ हो, जहाँका सबै कथा गहिराइमा नबुझे पनि धेरैले अनुभव गर्न सक्छन् । वरिपरि हिउँको पहाडले बेरेर नेपाल र चीनको २४ नं.को सीमा स्तम्भमा उभिएर नेपालको सुर्य चन्द्र अँकित झण्डा ठडाउँदा मनमा एक किसिमको तरँग र भावना उत्पन्न हुन्छ अनि भन्न मन लाग्छ–
    हिमालको काखमा टेकेर झण्डासहित सीमा छुन्छु आज,
    शव्दभन्दा गहिरो हुन्छ यहाँ मौनताको आवाज ।
    कोरोला नाका– बाटो र सीमा मात्र होइन,
    सपना र पहिचान भेटिने साझा चौतारी पनि हो ।

समाप्त


 

Comments