चुनाव र चरित्र - नेता, उम्मेद्वार र मतदाता सबै उस्तै !
फाल्गुन १०, २०८२, आइतबार | साँझ ०६:२६ बजे | 160
अनन्त बज्राचार्य
देशमा चुनावी तापमान निकै बढेको छ। राजनितिक दलका नेता, कार्यकर्ता देखि लिएर निर्वाचनका उम्मेदवार अनि आम सर्वसाधारण पनि चुनावी माह्वलमा होमिसकेको कुरा सामाजिक सञ्जालका भित्ताहरुले पुष्टि गर्दछ। सामाजिक सञ्जालमा "आफ्ना मनपर्ने" लाई चढाउने र "आफूलाई मन नपर्ने" लाई गलत कुराको प्रचार प्रसार गरेरै भएपनि गिराउने एक किसिमको लहर नै चलेको छ । कतिपय राजनितिक दल, उम्मेदवार तथा दलका कार्यकर्ताले यस कामलाई अभियान कै रुपमा पनि चलाइरहेको पाएं।
डिजिटल युगमा चुनावी प्रचारमा सामाजिक सञ्जालको व्यापक प्रयोग अस्वभाविक पनि होइन । यद्यपि गलत सूचना प्रवाह गरेर मतदातालाई भ्रममा पार्नु भने सरासर गलत नै हो। आम नागरिकले पनि सत्य तथ्य नबुझी "आफ्ना मनपर्ने" उम्मेदवारको बिषयमा राखिएका कुरा रिपोष्ट गर्नु तथा "आफूलाई मन नपर्ने" उम्मेदवारको बारेमा तथ्यहिन आरोपहरु प्रचार गर्नु पनि सही होइन। यसले आम नागरिकमा भ्रम पर्न गइ मतदानको क्रममा गलत निर्णय हुन सक्छ । त्यसो पनि हाम्रो समाजमा "राम्रो" "नराम्रो" छान्नु भन्दा "हाम्रो" छानेर मतदान गर्ने एक किसिमको रोग नै छ । "हाम्रो" लाई छान्यो भने पछि आफ्नो काम गराउन सजिलो हुन्छ भन्ने जस्तो स्व-केन्द्रित स्वार्थले हाम्रो समाजमा पहिले देखि नै जरो गाडेको छ।
निर्वाचन, त्यससंग जोडिएको परिपाटी अनि सामाजिक सञ्जालको प्रयोगको कुरा गर्दै गर्दा आज एउटा पोष्ट देखेपछि हामी मानिसमा हुने एउटा चरित्रको बारेमा लेख्न केही लेख्न मन लाग्यो। करिव ५-७ वर्ष अगाडि बा को स्वास्थ्य परिक्षणका लागि एकजना डाक्टर कहाँ पुगेको थिएं । प्रहरी सेवामा प्राविधिक तर्फका उनी "पत्रकार" भनेपछि फुटेको आँखाले पनि हेर्न रुचाउँदैनन्। आफ्ना फेसबुकको भित्तामा "पत्रकार"लाई "पत्रुकार" भनेर लेख्दै तथानाम गाली गर्छन् अहिले पनि। चेक जाँचको क्र्ममा त्यसबेला मेरो ७० वर्ष कटिसकेका बुवाले एक आम वृद्धले गर्ने प्रतिकृया जनाउनु भयो - "डाक्टरहरुले चाहे पनि नचाहे पनि नानाथरी टेस्ट गराउँछन्" । यो सुनेपछि ती डाक्टर साहेबले आफ्नो पिता उमेरको मेरो बा लाई नराम्रोसंग हकार्दै भन्नू भयो - "एउटा सम्मानित पेशालाई लिएर तपाईले यसरी भन्ने? यो उमेरमा अलि पनि बुद्धि छैन?" उनको यो व्यवहार देखेपछि परिस्थितिलाई बिचार गरेर मैले माफी मागें र अन्तमा "पत्रकार" प्रती उनले लेख्ने स्ट्याटसलाई देखाउँदै "पत्रकारिता" पनि एक सम्मानित पेशा नै हो । तपाईककै यो फेसबुकको भित्ताका बिषयमा तपाईको धारणा के होला डाक्टर साब भनेर मैले सोधें। उनले यस बिषयमा पछि कुरा गरौंला अहिले अरु बिरामी छन् भनेर मलाई फर्काउनु भयो । समय अन्तरालमा पूर्व पत्रकार "सम्मानजनक" पदमा पुगे। संयोग नै भन्नू पर्ला ती प्रहरी सेवामा प्राविधिक तर्फ कार्यरत तिनै डाक्टर साहेवको प्रमोशनको कुरा थियो।
पत्रकारलाई मन नपराउने तिनै प्र्हरीका डाक्टरलाई पत्रकारबाट "सम्मानजनक" पदमा पुगेका तिनै पूर्व पत्रकारको खाँचो पर्यो प्रमोशनको लागि्! अघिपछि कहिल्यै फोन नगर्ने तिनै डाक्टरले मलाई फोन गर्यो। तिनलाई थाहा थियो - ती "सम्मानजनक" पदमा पुगेका ती पूर्व पत्रकार मेरो साथी हुन् भनेर । हाम्रो समाजमा बिद्यमान "शक्तिको भक्ति" देखेर म एकछिन अवाक् भएं। स्मरण रहोस् कि, तिनै पूर्व पत्रकारका बिषयमा ती डाक्टर साहेबले तथानाम भन्ने गर्थे, लेख्ने गर्थे ! डाक्टरको इच्छा अनुसारको काम बनेन। नियम अनुसार जे हुनु थियो त्यही भनेको हुनु पर्छ। आसन्न निर्वाचनमा पनि तिनै ब्यक्तित्व एक सशक्त उम्मेदवारको रुपमा मैदानमा छन् । अहिले फेरि तिनै डाक्टरको फेसवुक वालमा ती ब्यक्तित्वका बिषयमा पहिले जस्तै तथानाम गाली देख्छु। कुनै आधार बिनाको आरोप देख्छु। अत्यन्तै ब्यक्तिगत मामिलामा पनि अनेक थरी लेखिएको देख्छु। हाम्रो समाजमा “शक्तिको भक्ति” गर्ने, स्वार्थअनुसार धारणा बदल्ने प्रवृत्ति गहिरोसँग जरा गाडेर बसेको छ। यही कारणले प्रजातान्त्रिक अभ्यास गरेको दशकौँ बित्दा पनि अपेक्षित रूपान्तरण महसुस हुन सकेको छैन। संविधानमा नागरिक अधिकार सुनिश्चित भए पनि व्यवहारमा भ्रष्टाचार, अनियमितता र नेपोटिजम व्यापक छन्। नागरिक असन्तोष र पटक–पटकका विद्रोह यही विफलताको परिणाम हुन्। आसन्न निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन—यो हाम्रो चेतना, मूल्य र जिम्मेवारीको परीक्षा पनि हो। स्वार्थ, “हाम्रो–तिम्रो” मानसिकता र शक्ति–पूजाको संस्कार त्यागेर देशको दीर्घकालीन हित सोच्ने समय आएको छ। असल छ। असल नेतृत्व छान्नुअघि हामीले आफ्नै सोच परिमार्जन गर्न जरुरी छ। लोकतन्त्र कागजमा मात्र होइन, व्यवहारमा पनि सुदृढ हुनुपर्छ—र त्यसको सुरुवात नागरिकको विवेकपूर्ण निर्णयबाटै हुन्छ। नागरिकको चेतना, उनीहरूले अँगालेका मूल्य र निर्णय गर्ने क्षमताले नै कस्तो नेतृत्व निर्माण गर्ने भन्ने निर्धारण गर्छ। समाज सचेत, नैतिक र जिम्मेवार भएमा त्यही संस्कारको प्रतिबिम्ब नेतृत्वमा पनि देखिन्छ। त्यसैले असल नेतृत्वको खोजी गर्नु अघि सचेत र जिम्मेवार नागरिक बन्नु आजको आवश्यकता हो ।
