डिजेल र मट्टितेलको मूल्यमा वृद्धि


माघ १७, २०८२, शनिबार | राति ०८:३१ बजे | 90


डिजेल र मट्टितेलको मूल्यमा वृद्धि

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो।

इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ बढेर आएपछि निगमले मूल्य समायोजन गरेको हो।

आईओसीबाट डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ६६ पैसा बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै प्रतिलिटर ३ रुपैयाँ मात्र बढाइएको निगमले जनाएको छ।

बढेको मूल्य आइतबार बिहान ००:०१ बजेदेखि लागू हुनेछ।

निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले मूल्य घटाइएको छ।

आईओसीबाट एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ४५ रुपैयाँ ४९ पैसाले बढेर आए पनि निगमले हाललाई ग्यासको बिक्री मूल्य भने यथावत राखेको छ।

Comments