तेस्रो नेश्नल हर्टिकल्चर एक्स्पो २०८२ हुने


पुष २८, २०८२, सोमबार | राति ०९:०८ बजे | 225


तेस्रो नेश्नल हर्टिकल्चर एक्स्पो २०८२ हुने

संगम लामा 
काठमाडौँ । ‘तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो २०८२’ हुने भएको छ । नर्सरी व्यवसायी संघ नेपालले एक सूचना जारी गर्दै उक्त एक्स्पो हुने जनाएको हो । एक्स्पो यही चैत १२ गतेदेखि १५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने जानकारी दिएको हो ।
संघका अनुसार नेपालमा तीव्र गतिमा विस्तार हुँदै गएको फूल नर्सरी, फलफूल नर्सरी, कृषि तथा वन नर्सरी तथा जडीबुटी नर्सरी क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले यो बृहत प्रदर्शनी आयोजना गर्न लागिएको हो।
‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार’ भन्ने मूल नारासहित आयोजना हुने एक्स्पोमा देशभरका नर्सरी व्यवसायीहरूको सहभागीता रहनेछ।
एक्स्पोमा सहभागी हुन इच्छुक नर्सरी व्यवसायीका लागि स्टल बुकिङ प्रक्रिया आगामी माघ २ गते (शुक्रबार) बिहान १० बजेदेखि सुरू हुने संघले जनाएको छ। बुकिङ संघको कार्यालय मैतिदेवीमा प्रत्यक्ष उपस्थित भएर गर्नुपर्ने व्यवस्था गरिएको छ। स्टल बुकिङ ‘पहिला आउनेलाई प्राथमिकता’का आधारमा गरिने जनाइएको छ।
प्रदर्शनीमा १५ फिट अगाडि र २० फिट पछाडि रहेको एक स्टलको व्यवस्था रहनेछ। संघका सदस्य नर्सरी व्यवसायीका लागि प्रतिस्टल २७ हजार रुपैयाँ शुल्क तोकिएको छ भने गैर सदस्यका लागि ४० हजार रुपैयाँ कायम गरिएको छ।
सदस्यले बुकिङका क्रममा स्टल भाडाको ५० प्रतिशत अर्थात् १३ हजार ५ सय रुपैयाँ बुझाउनुपर्नेछ भने गैर सदस्यले पूर्ण रकम बुझाएर रसिद लिनुपर्ने व्यवस्था गरिएको छ।
मेलाको पूर्व तयारी चैत ११ गते बिहान ७ बजेदेखि चैत १२ गते बिहान ७ बजेसम्म सञ्चालन हुनेछ। एक्स्पो अवधिमा उत्कृष्ट प्रस्तुतिका आधारमा विभिन्न विधामा पुरस्कार वितरण गरिने संघले जनाएको छ।
उत्कृष्ट हार्टिकल्चर प्रस्तोता, उत्कृष्ट फूल प्रस्तोता, उत्कृष्ट ल्यान्डस्केप डिजाइन, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट सजावटी बिरुवा, उत्कृष्ट फूल्ने बिरुवा, उत्कृष्ट फलफूल बिरुवा तथा उत्कृष्ट औषधीय तथा सुगन्धित बिरुवा विधामा विजेतालाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ।
यसका साथै दीर्घकालीन नर्सरी व्यवसायी सम्मान २०८२ र विशेष उत्पादक नर्सरी व्यवसायी सम्मान २०८२ पनि प्रदान गरिने संघले जनाएको छ। संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविन कुमार गौतमले नर्सरी व्यवसायको प्रवद्र्धन, व्यवसायीबिच अनुभव आदानप्रदान र बजार विस्तारका लागि एक्स्पो महत्वपूर्ण अवसर हुने बताएका छन्।

फाेटाेमा हेर्नुहाेस्...

तेस्रो नेश्नल हर्टिकल्चर एक्स्पो २०८२ हुने

Comments