भक्तपुर उवासंघको निर्वाचनः रुकेश—रञ्जित संयुक्त प्यानल हो ?
पुष २५, २०८२, शुक्रबार | राति ०७:३९ बजे | 1755
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णमुरारी न्यौपानै सर्वसम्मत चयन भएका छन् । न्यौपाने यसअघिका वरिष्ठ उपाध्यक्ष हुन् । संघको शुक्रबार भक्तपुरमा भएको ३८ औ वार्षिक साधारणसभा तथा अधिवेशनबाट न्यौपाने अध्यक्षमा चुनिएका हुन् ।
अध्यक्षमा सर्वसम्मत भए पनि उपाध्यक्ष वस्तुगत, महासचिव, कोषाध्यक्षलगायतका पदहरुमा निर्वाचन हुँंदैछ । उपाध्यक्ष वस्तुगतमा पनि महेन्द्र खायमली र विश्वराम दुवाल दुईजना प्रतिस्पर्धामा छन् । दुवाल यसअघिका कोषाध्यक्ष थिए ।
महासचिवमा नवीन प्रजापति र रुकेश रञ्जित दुईजनाले उम्मेदबारी दिएका छन् । प्रजापति वर्तमान महासचिव हुन् । यस्तै कोषाध्यक्षमा राजेश त्वानाबासु र रञ्जित मारिखू दुईजना प्रतिस्पर्धामा छन् ।
सर्वसम्मत हुन नसकेपछि उम्मेदबारहरुले चुनाव प्रचारप्रसार गर्न थालेका छन् । महासचिवका उम्मेदबार नवीन प्रजापतिले लामो फेहरिस्त राख्दै भोट मागेका छन् । उमले सम्पूर्ण मतदाताहरुलाई छुटाछुटै रुपमा एसएमएस पनि पठाइ मत मागेका छन् । उता रुकेश रञ्जित र रञ्जित मारिखूले संयुक्त रुपमा भोट मागेका छन् । दुवैजनाको संयुक्त रुपमा डिजाइन राखेर उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरी संयुक्त रुपमा दुवैजनालाई भोट राख्न मतदाताहरुसँंग अनुरोध गरेका छन् । यसले मतदाताहरुमा रुकेश र रञ्जित एउटै प्यानल बनाएर मिलेर अगाडि वढेको हो भनेर प्रश्न गर्न थालेका छन् ।
पार्टीगत रुपमा रुकेश राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हुन् । उनी रास्वपाका जिल्ला सचिव हुन् । साथै उनी फागुन २१ गते हुने निर्वाचनमा रास्वपाको तर्फबाट भक्तपुर क्षेत्र नं १ का उम्मेदबार सिफारिस व्यक्तित्व हुन् । यही कारण उनको पक्षमा माहौल बनाउन कार्यक्रम उदघाटनस्थल जर्मन होम्स् गठाघरमा रास्वपा पार्टी नेता कार्यकर्ताहरु पनि उपस्थित देखिए । उनका सहकर्मी रञ्जित मारिखू भने पुराना इटा व्यवसायी विष्णुभक्त मारिखूका सुपुत्र हुन् । रञ्जित मारिखूका पुख्र्याैली घर गोल्मढी हो । उनका प्रतिस्पर्धी राजेश त्वानाबासु पनि इटाभटा व्यवसायी नै हुन् । उनी गोल्मढी नजिकै चासुखेल निवासी हुन् ।
पार्टीगत रुपमा रुकेशका प्रतिद्धन्द्धी नवीन प्रजापति जो हालका पनि महासचिव हुन् नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकट मानिन्छ । राष्टिय प्रजातन्त्र पार्टीका पूर्व समर्थकसमेत बताइएका उनी पछिल्ला वर्षहरुमा नेमकिपा समर्थक मानिन्छन् ।
यसो विश्लेषण गर्दा महासचिवका प्रत्यासी रुकेश रञ्जित र नवीन प्रजापति दुईवटा प्यानलबाट अगाडि वढेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । रुकेशको प्यानलबाट रुकेश महासचिव र रञ्जित मारिखू कोषाध्यक्ष प्रष्ट देखिएका छन् भने अर्काे प्यानलमा महासचिवमा नविन प्रजापति र कोषाध्यक्षमा राजेश त्वानाबासु हो कि भन्ने अनुमान छ । यद्यपि यी दुईले संयुक्त रुपमा आधिकारिक भोट मागेका छन् । चर्चा अनुसार महासविचका उम्मेदबार नविन प्रजापतिले उपाध्यक्ष वस्तुगतमा महेन्द्र खायमलीलाई च्यापेर अगाडि वढेका छन् । यस अर्थमा महेन्द्र खायमली, नवीन प्रजापति र राजेश त्वानाबासुको संयुक्त मोर्चा र रुकेश रञ्जित र रञ्जित मारिखूको छुटै मोर्चाको अनुमान लगाउन सकिन्छ ।
उपाध्यक्ष वस्तुगतका दुवै उम्मेदबार भने पार्टीगत रुपमा एउटै हुन् । उनीहरु दुवैजना नेमकिपाका कटर समर्थक हुन् । अझ महेन्द्र खायमली त नेमकिपाबाट विजयी निवर्तमान वडा अध्यक्षसमेत हुन् । उनी भक्तपुर नगरपालिका वडा नं ८ लिवालीका यसअघिका वडा अध्यक्ष हुन् । उनका प्रतिस्पर्धी दुवाल पार्टी समर्थक व्यवसायी हुन् । उनी भक्तपुरबाट प्रकाशित हुँदै आएको ङातापोल राष्टिय दैनिकका प्रकाशकसमेत हुन् ।
यता सदस्यहरुतर्फ ११ जना कार्यसमिति सदस्य रहनेमा १२ जनाको उम्मेदबारी परेको छ । यी पदहरुमा शुक्रबार रातिसम्म सहमति नभए शनिबार निर्वाचन हुने कार्यतालिका छ । यसअघि साधारणसभा तथा महाधिवेशनको उदघाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र ढकालले गरेका थिए । अध्यक्षका सर्वसम्मत कृष्णमुरारी न्यौपाने भने नेपाली कांग्रेसका नेता हुन् ।
निर्वाचन हुने पदहरु
उपाध्यक्ष वस्तुगततर्फ महेन्द्र खायमली र विश्वराम दुवाल
महासचिवमा नवीन प्रजापति र रुकेश रञ्जित र
कोषाध्यक्षमा राजेश त्वानाबासु र रञ्जित मारिखू
सर्वसम्मत निर्वाचितहरु
१ अध्यक्ष कृष्णमुरारी न्यौपाने
२ वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति
३ उपाध्यक्ष एसोसिएट गणेशहरि प्रजापति
४ उपाध्यक्ष साधारण दिनेश गोसाई
५ सचिव गौतम सुजखू
६ सदस्यहरु ११ जना निर्वाचित हुनेमा १२ जना उम्मेदबार अर्थात् एकजना बढी । कोही एकजनाले उम्मेदबारी फिर्ता लिएपछि सवैजना सर्वसम्मत निर्वाचित हुनेछन् ।
फाेटाेमा हेर्नुहाेस्...
