स्वीस रेडक्रसकी स्वास्थ्य बुढ्यौली सल्लाहकार चाँगु नपा भ्रमणमा
मंसिर १६, २०८२, मङ्गलबार | विहान १०:०२ बजे | 115
खरिपाटी, भक्तपुर
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा चाँगुनारायण नगरपालिकामा सञ्चालित स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाको गतिविधिहरुको जानकारी लिने उद्धेश्यले स्वीस रेडक्रसकी स्वास्थ्य बुढ्यौली सल्लाहकार एलेक्जेन्द्रा पापिजले चाँगुनारायण नगरपालिका भ्रमण गर्नुभएकोछ । सल्लाहकार एलेक्जेन्द्रा पापिजलाई चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीबन खत्री, उपप्रमुख रमेश बुढाथोकी र प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठले नगरपालिकामा स्वागत गर्नुभएको थियो ।
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीबन खत्रीले स्वीस रेडक्रसका स्वास्थ्य बुढ्यौली सल्लाहकार एलेक्जेन्द्रा पापिजलाई स्वागत गर्नुहुदै चाँगुनारायण नगरपालिकालाई ज्येष्ठ नागरिकमैत्री नगरपालिका बनाउने कार्यमा नगरपालिकाको पहलमा सहकार्य र सहयोग गर्नुभएकोमा स्वीस रेडक्रसलाई धन्यवाद दिनुभयो । उहाँले नगरपालिकाले वडाहरुमा गठित ज्येष्ठ नागरिक मिलन चौतारी मार्फत ज्येष्ठ नागरिक लक्षित गतिविधि तथा कार्यक्रमहरु सञ्चालन गरी ज्येष्ठ नागरिकको मुहारमा खुशी ल्याउने कार्यमा नगरपालिका लागि परेको बताउनुभयो ।
नगर प्रमुख खत्रीले विश्व स्वास्थ्य संगठनको उमेरमैत्री समुदाय तथा शहरको अन्र्तराष्ट्रिय सञ्जालको सदस्यताको लागि आवेदन दिइसकेकोले निकट भविष्यमानै चाँगुनारायण नगरपालिकाले सदस्यता प्राप्त गरी अन्र्तराष्ट्रिय समुदायसंगको सहकार्य र सहयोग प्राप्त गर्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले चाँगुनारायण नगरपालिकाले सबै सरोकारवालाहरुलाई आमन्त्रण गरेर उमेरमैत्री शहर निर्माणका सन्दर्भमा नगरपालिकाले चालेका कदम तथा अपेक्षा गरेका सहयोग र सहकार्यका क्षेत्रहरुका बारेमा आपसमा छलफलका लागि कार्यक्रमको आयोजना गर्ने जानकारी दिनुभयो । ज्येष्ठ नागरिक सामुदायिक केन्द्र स्थापनार्थ विस्तृत परियोजना प्रतिवेदन तयारीको लागि समेत बजेट विनियोजन गरेको जानकारी दिनुहुदै नगर प्रमुख खत्रीले सहारा परियोजना सञ्चालनका लागि सहकार्य, समन्वय र आर्थिक सहयोगका लागि नेपाल रेडक्रस सोसाइटी र स्वीस रेडक्रसलाई धन्यावद दिनुभएको थियो ।
एलेक्जेन्द्रा पापिजले नगरपालिकाले ज्येष्ठ नागरिकहरुका लागि प्राथमिकताका साथ कार्य गरेको देख्न पाँउदा खुशी व्यक्त गर्नुभयो । उहाँले नीजि क्षेत्रलाई आकर्षित गरी उहाँहरुसंगको सहकार्यमा श्रोत व्यवस्थापन गरी चाँगुनारायण नगरपालिकालाई उमेरमैत्री समुदाय तथा शहर बनाउने कार्यमा लाग्नको लागि शुभकामना दिनुभयो । चाँगुनारायण नगरपालिकाले सञ्चालन गरेको सहारा परियोजना ज्येष्ठ नागरिक नगरबासीहरुको लागि साँचिकै सहारा बन्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले ज्येष्ठ नागरिक लगायत नगरबासी बिरामीहरुका लागि चाँगुनारायण नगरपालिकाले निःशुल्क रगत र अक्सिजनको ब्यवस्था गरेकोमा उक्त कार्यको सह्राना गर्नुभएको थियो ।
परियोजना संयोजक दिनेश थापाले चाँगुनारायण नगरपालिकाले ज्येष्ठ नागरिकहरुका लागि सञ्चालन गरेका कार्यक्रम र गतिविधिहरुका साथै सहारा परियोजना अन्तर्गत भएका कार्यक्रम र त्यसका उपलब्धीहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
नगरपालिकामा भएको भेटघाट कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डे, मन्त्री धर्मराज कार्की, कार्यालय प्रमुख उमा थापा, कार्यक्रम संयोजक राजु राउत, स्वीस रेडक्रस नेपालकी प्रतिनिधि छोदेन लामा, कार्यक्रम सहायक सञ्जय अवाल लगायत अन्य महानुभावहरुको उपस्थिती रहेको थियो ।
अलेक्जान्द्राले नगरापलिकामा भेटघाट पश्चात् वडा नं १ को ज्येष्ठ नागरिक मिलन चौतारीको भ्रमण गर्नुभएको थियो । वडा नं १ को जेष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष भरत प्रसाद न्यौपानेले एलेक्जेन्ड्रा पापिज लगायत स्वीस रेडक्रस, भक्तपुर रेडक्रस र नगरपालिकाका प्रतिनिधिहरुलाई स्वागत गर्नु भएको थियो । वडा नं १ को ज्येष्ठ नागरिक मिलन चौतारीका सल्लाहकार माधब प्रसाद न्यौपानेले आफ्नो मिलन चौतारीले गरेका गतिविधिहरूको जानकारी गराउनुभएको थियो । जेष्ठ नागरिक मिलन चौतारी १ का अध्यक्षको अध्यक्षतामा सञ्चालित स्वागत कार्यक्रमको प्रमुख आतिथ्यता वडा नं १ का वडा अध्यक्ष सिजन कार्कीले गर्नुभएको थियो । अतिथीहरुको भ्रमणको क्रममा पुरुष जेष्ठ नागरिकहरू लुडो खेलमा र महिला ज्येष्ठ नागरिकहरु धुप बाट्ने काममा व्यस्त हुनुहुन्थ्यो ।
सामाजिक परिचालक पारु थापा र ज्येष्ठ नागरिक मिलन चौतारीका सदस्यहरुले मिलन चौतारीको कार्यालयका भित्ताहरुमा फोटो मार्फत फ्लेक्समा प्रदर्शन गरिएका कार्यक्रम तथा गतिविधिहरुको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा एलेक्जेन्ड्रा पापिजले जेष्ठ नागरिक मिलन चौतारीको दिगोपनको लागि वडाका सरोकारवाला निकायहरूसंगको साझेदारीमा जोड दिँदै जेष्ठ नागरिक मिलन चौतारीलाई क्रियाशील रूपमा लानको लागि विभिन्न सल्लाह सुझाव प्रदान गर्नुभएको थियो । उहाँले उपस्थित ज्येष्ठ नागरिक आमा बुबाहरुसँग अन्र्तक्रियात्मक छलफल गर्नुभएको थियो । सहभागि आमाबुबाहरुले स्वीट्जरल्याण्डमा ज्येष्ठ नागरिकहरुका लागि सञ्चालित गतिविधिहरुको बारेमा जिज्ञाशा राख्नुभएको थियो भने अलेक्जान्द्राले स्वीट्जरल्याण्डमा भएका तथा गरिएका प्रयासहरुका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले वडाको नेतृत्वदायी भूमिका र ज्येष्ठ नागरिक मिलन चौतारीका पदाधिकारी तथा सदस्यहरुको सक्रियताका कारण ज्येष्ठ नागरिकहरुका लागि वडास्तरमा प्रभावकारी रुपमा गतिविधि र कार्यक्रमहरु सञ्चालन भएको बताउनुभयो ।
कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष सिजन कार्कीले वडाले बार्षिक रुपमा बजेट तयार गर्दा ज्येष्ठ नागरिकहरुलाई प्राथमिकतामा राख्ने गरेको बताउनुभयो । उहाँले यस वर्ष पनि ज्येष्ठ नागरिक लक्षित कार्यक्रमका लागि ५ लाख रुपैया बजेट विनियोजन गरेको जानकारी दिनुभयो । अध्यक्ष कार्कीले सहारा परियोजना सञ्चालनमा नगरपालिकासंग सहकार्य, समन्वय र सहयोगको लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा र स्वीस रेडक्रस प्रति आभार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागि ज्येष्ठ नागरिकहरुले स्वीट्जरल्याण्ड लगायतका विकसित मुलुकमा रहेका ज्येष्ठ नागरिकहरुका गतिविधि र नेपालमा हुने गतिविधिहरुलाई अहिलेको विकसित सुचना प्रविधिको प्रयोग गर्दै अनुभव आदान प्रदान गर्ने व्यवस्था मिलाउनको लागि नगरपालिका, नेपाल रेडक्रस र स्वीस रेडक्रसलाई अनुरोध गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा सबै जना सहभागिहरु नाचगान गरी मनोरञ्जनात्मक बातावरणमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
