किड्स कोरा भक्तपुर २०८२ — दोस्रो संस्करणको तयारी पूरा
असार २३, २०८२, सोमबार | साँझ ०६:२६ बजे | 680
२०८२ असार २३,
भक्तपुर साना साइकल प्रेमीहरूका लागि सबैभन्दा प्रतीक्षित इभेन्ट — किड्स कोरा भक्तपुर — को दोस्रो संस्करणका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ। यही असार २८ गते, साइकल कनेक्ट जेन.जी. को आयोजना र साइकल कनेक्ट भक्तपुर को अगुवाइमा भक्तपुरका गल्लीहरू फेरि एक पटक बालबालिकाको जोश र उत्साहले भरिनेछन्। कार्यक्रम संयोजक तानिया श्रेष्ठका अनुसार, यो वर्ष करिब १५० जना सहभागीको अपेक्षा गरिएको छ भने हालसम्म ८० जना बालबालिकाले आफ्नो नाम दर्ता गराइसकेका छन्। उनले भनिन्, “साइकल केवल खेलकुदको साधन होइन, यसले हामीलाई धेरै साथीहरू बनाउन दिन्छ, आत्मबल बढाउँछ र समुदायसँग जोड्छ। साइकलसँग जोडेर हामीले धेरै सामाजिक तथा व्यक्तित्व विकासको काम गर्दै आएका छऔ। हामीले गो-लोकल टिमको सहकार्यमा हरेक महिना स्थानीय उद्योगहरूको पनि अध्ययन भ्रमण गर्दै आएका छौं।” किड्स कोराको मार्ग भक्तपुर दरबार क्षेत्रबाट सुरु भई, भक्तपुर नगरको प्रदक्षीणा पथको करिब ५ किलोमिटरको रमाइलो राउन्ड पूरा गरेर पुनः दरबार क्षेत्रमै समापन हुनेछ। समापनमा सहभागीहरूलाई विभिन्न उपहारको पनि व्यवस्था गरिएको छ। यसबारे साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बाला भन्छन्, “कोराको अर्थ नै आस्था बोकेर कुनै पवित्र वा सांस्कृतिक स्थान घुम्नु हो। सन् २०२१ देखि हामीले “पैडल र पेडल मैत्री शहर” बनाउने लक्ष्यसहित भक्तपुरमा साइकल संस्कृतिको चेतना विकासको लागि विभिन्न कार्यक्रम गर्दै आएका छौं। किड्स कोराको मुल उदेश्य नयाँ पुस्तालाई बाल्यकाल देखि नै साइकल संस्कृतिको महत्व बुझाउनु रहेको छ।” यस इभेन्टलाई सफल बनाउन गोर्खा इको प्यानल, गोर्खा चाइनिज ईट्टा, गोर्खा विन्डोर, एभरेष्ट इंगलिस स्कुल, जेन्युन इंग्लिस स्कुल, नेपाल इको प्यानल, ड उमामी क्याफे, श्रीमान-श्रीमति राइडर्स, ज्याम कर्नर म्युजिक स्टुडियो, रितेश बाइक क्लिनिक, जुजु बाइक्स ले आर्थिक तथा प्राविधिक सहयोग गर्दैछन्। साथै, रिचिन फोटोग्राफी, जेरो वान स्टुडियो, साइकल कल्चर कम्युनिटी, मल्टी टेरेन बाइकिङ, एस्ट्रो फिट क्लब र पायोनियर ओपन क्रु ले कम्युनिटी पार्टनरको भूमिकामा साथ दिनेछन्।