संस्मरणः हंसदा आश्रम र स्वामी विशुद्धदेव
बैशाख २९, २०८२, सोमबार | विहान ०९:३० बजे | 85
पदम दाहाल
मादी न.पा. ६, सङ्खुवासभा
हाल, लोकन्थली, भक्तपुर ।
अक्षय तृतीया भन्नु हरेक वर्षको वैशाख शुक्ल पक्ष तृतीयाको दिन । पवित्र, पावन र बिल्कुल क्षय नहुने दिनका रूपमा लिइन्छ यस दिनलाई । यो दिन कुनै पनि शुभ कार्य गर्नुपर्दाका लागि साइत जुराइ रहनै नपर्ने । शुभ विवाह, शुभ व्रतबन्ध र अन्य कुनै धार्मिक कार्य संस्कारगत कर्म गर्नका लागि अत्यन्त पावनमय दिन । यही दिनको शुभ साइतमा सत्ययुगको प्रारम्भ भएको मानिन्छ । यसै दिनमा भगवान् शिवजी र पार्वतीका बीचमा शुभ विवाह सम्पन्न भएको थियो भनिन्छ ।
अक्षय तृतीयाको दिनमा नै जौको सातु र सर्बतपानी घडामा राखी दानदक्षिणा गरेमा अक्षय पुण्यतीर्थ मिल्छ भन्ने हाम्रो समाजमा मान्यता प्रचलित छ । यस दिन गरिएको दान, धर्म, ध्यान, जपतप, पुण्य आदि युगादि युग तक पुस्ता पुस्तासम्म रहिरहने र कदापि नाश हुने छैन भन्ने कुरामा पूर्ण विश्वास गरिन्छ ।
२०८२ वैशाख १७ शुक्ल पक्ष तृतीयाको दिन । काभ्रेको बनेपा नजिकै जनगालस्थित हंसदा आश्रम स्थलमा पुग्यौँ हामी । हामीले जीवनमा कुनै न कुनै बेला त्यस ठाउँमा पुग्नै पर्ने हुन्छ, कुनै समय मिलाएर भरसक बास बस्तै नभए पनि घुमफिर गरेर फिराँैला नि भनी बारम्बार मलाई मेरा साहित्यकार अनन्य मित्र डा. इन्दुल केसीज्यूले घच्घच्याइरहने गर्नुहुन्थ्यो । यसै पुनीत दिनमा उक्त ठाउँमा पुग्ने सुअवसर जुरेर आइपुग्यो मलाई पनि । साथमा आध्यात्मिक लेखक तथा साहित्यकार आदरणीय दाजु ढुण्डिराज पोखरेल पनि सँगै हुनुहुन्थ्यो । बनेपा बजार नपुग्दै सडकको बायाँतर्फ ठाडो उकालो चढ्दै रामानन्द गिरिजीले निर्माण गरिदिएको भव्य भवनलाई दायाँतर्फ पार्दै हामी अघि बढ्यौँ जसको बायाँपट्टि डाँडामा वनबुट्यानहरूले चारैतिर घेरिरहेको ठाउँमा सनातन चारित्रिक युगपुरुष परमपूज्य स्वामी सच्चिदानन्द विशुद्धदेवद्वारा आश्रम जमाएर बसोवास गरेको तीर्थधाम पायौँ जसलाई हंसदा आश्रम भनेर भनिँदो रहेछ । कण्व ऋषिको आश्रमझैँ लाग्ने चारैतिर वनजङ्गलले ढाकिएको, फलफूलका बोटविरुवा वरिपरि लगाइएको हंसदा आश्रम साँच्चिकै प्राकृतिक मनोरमले भरिपूर्ण थियो । वासन्ती पवनले रुख–बुटालाई हल्लाएर तिनले हामीलाई स्वागत गरिरहेझैँ लाग्थ्यो । यत्रतत्र चराचुरुङ्गीहरू बेग्लाबेग्लै आवाज निकालेर मधुरता थपिरहेका थिए ।
आश्रमभन्दा दुईचार सिंढी मास्तिर डाँडोमा वि.सं. २०५८ सालमा वैशाख १३ गते अक्षय तृतीयाका दिन ब्रह्मलीन हनुभएका सच्चिदानन्द विशुद्धदेवको पार्थिव शरीरलाई समाधिस्थ गरिएको स्थलमा पुग्यौं हामी । हामीलाई त्यस ठाउँमा पुग्न निम्तो दिनुहुने विशुद्धदेवकै चेलाहरू मध्येका एकजना चेला योगका अनुयायी मित्र डा. इन्दुल केसीज्यू हामीभन्दा अगावै त्यहाँ पुगिसक्नु भएको थियो । उक्त सम्माधिस्थल अघिल्तिर हामी डा. इन्दुल, दुण्डिराज पोखे्रल, योगी खेमराज खतिवडा, महात्मा प्राणमूर्ति, प्रताप राना र म लस्करै उभियौं । हामीले आपसमा विशुद्धदेवका बारेमा जेजे जिज्ञासा राख्यौँ त्यहाँका उनका विषयमा जान्नेबुझ्ने डा.इन्दुल, माहात्मा प्राणमूर्ति र योगी खेमराजजीबाट कतिपय जानकारी पायौँ । सबैजना बसेर फोटो खिच्यौँ, भिडिओ पनि लियौं ।
समाधिस्थलको तल्तिरपट्टि रहेको अर्को एक मन्दिरभित्र ब्राह्मणहरूद्वारा पूजाआजा, होमादि, पाठ, आरती आदि भैरहेथ्यो । एकजना विदेशी नागरिक स्वेटन पनि त्यहाँ थिए भने अरू थुप्रै नेपालीहरू उक्त अनुष्ठानमा कोही हात जोडेर कोही ध्यानमग्न भएर त कोही दर्शनार्थीका रूपमा रहेका थिए । उनै सच्चिदानन्द विशुद्धदेवले आजभन्दा २४ वर्ष पहिले अक्षय तृतीयाकै दिन आफ्नो जीवन निर्वाण प्राप्त गरेको दिन हुनाले सायद उनको अजरअमर आत्मा सोही परिवेश र क्षेत्रको वरिपरि घुमिरहेको होला । त्यहाँ भेला भएका भक्तजनहरूले गरिरहेका यावत् अनुष्ठानात्मक कार्यप्रति उनको आत्माले निरीक्षण र अवलोकन गरिरहेको हुनुपर्ने हो भन्ने हामीमा ठहर भयो ।
केही समयपछि ओर्लियौँ हामी हंसदा आश्रमस्थलतिरै । त्यसैको आश्रमको एउटा कोठामा सच्चिदानन्द विशुद्धदेव स्वामीको पित्तलको ढलोटमा निर्मित उहाँको मूर्ति विराजमान थियो । हामी सबैले त्यहाँ पुष्पाञ्जली अर्पण ग¥यौँ । आवासमा रहनुहुने महात्माहरूले परमपूज्य विशुद्धदेवको मूर्ति अधिल्तिर पूजा अर्चना, दीपबाती धूप आदिद्वारा उहाँप्रति आदरभाव र सम्मान प्रकट गर्ने कार्य गर्नुभयो ।
त्यहाँबाट जब बाहिरियौँ हामी उक्त तिथिकै दिनमा दिवङ्गत विशुद्धदेवद्वारा मानव जीवनको रूपान्तरणका लागि उहाँद्वारा प्रतिपादित आध्यात्मिक जागरणका तीनवटा सर्वमूलंचरित्रम् अन्तर्गत मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमान्दारी भनी उल्लेख भएका सच्चिदानन्द विशुद्धदेव महान चारित्रिक योगदान र मानव जीवनको सफलताका बारेमा आश्रमका संरक्षक डा. नीलकण्ठ बाबा, महात्मा, पञ्चशील, महात्मा कल्याण मित्रहरूले मन्तव्य दिने क्रममा स्पष्ट पार्नु भयो । सो अवसरमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष श्री हरि मञ्जुश्रीज्यूले पनि विशुद्ध देवज्यूको चरित्र विज्ञान विषयका बारेमा सङ्क्षिप्त जानकारी दिनुभयो ।
स्वामी विशुद्धदेवले आफ्नो पार्थिव शरीर विर्सजन हुन लागेको तीन दिन पहिले डा. इन्दुल केसी उहाँलाई भन्नुभएछ ‘म अब चाँडै यस लोकबाट विदा लिंदैछु । त्यसपछिको यस आश्रमको सम्पूर्ण कामको जिम्मेवारी तिमीलाई नै सुम्पिदैछु । अब उप्रान्त सम्पूर्ण कार्य तिमीले गर्नू’ भनी बोलेका महत्त्वपूर्ण भनाइलाई डा. इन्दुल केसीज्यूले आफ्नो मन्तव्य राख्ने क्रममा खुलस्त पार्नुभयो । स्वामीजीका उहाँ अत्यन्त विश्वास पात्र हुनुहुन्थ्यो । सो अवसरमा साहित्यकार हरिमञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध गरिएको उनै सच्चिदानन्द विशुध्ददेवले मानव जीवनलाई सार्थक पार्न दिएका तिनै चारित्रिक सन्देशहरूलाई उल्लेख गरी तयार पारिएको गीतको स्वराङ्कन प्रतिलाई सोही आश्रमका संरक्षक डा.नीलकण्ठ बाबा र महात्मा कल्याणमित्र दुईजनाका हातबाट सार्वजनिकीकरण पनि भयो ।
त्यतिखेर शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, कर्मचारी संगीता केसी, गीतिभास्कर मच्छेश्वर सापकोटा, गायिका सरस्वती सापकोटा, साहित्यकारहरू पदम दाहाल, ढुण्डिराज पोखरेल, चाँगुनारायण साहित्य समाजका अध्यक्ष लालबहादुर भुजेल, पत्रकार मित्र प्रताप राना लगायत विशुद्धदेवको २४ आँै निर्वाण दिवस मनाउन वरपरदेखि भेला हुनुभएका गन्यमान्य भक्तजनहरूको खचाखच उपस्थिति थियो । कार्यक्रमलाई बढो सुन्दर र सटिक रूपमा संचालन गर्ने कार्य वयोवृद्ध साहित्यकार मित्र इन्दुल केसीले गर्नु भएकोे थियो । डा. इन्दुल, हरि मञ्जुश्री र बबिता प्याकुरेलहरूको सम्युक्त गायन भएको, बालकृष्ण सेवाचार्यको वाद्यसंयोजन तथा ध्वनिमिश्रणमा गाइएको उक्त सुमधुर गीतलाई त्यहाँ उपस्थित जनसमुदायले बढो दिलचस्पीपूर्वक रसास्वादन गरेका थिए । सायद चारित्रिक सन्देश प्रवाहलाई विशुद्धदेवको अमर आत्माले पनि त्यतैहुँदो वरिपरि घुमेर गीतको मर्म र भावार्थलाई नियालिरहेको हुँदो हो ।
विशुद्धदेव स्वामी विगतको २०३९ सालमा भारतदेखि नेपालमा प्रवेश गर्नुभो । शुरुमा दाङको बेलझुण्डीमा दुई वर्षसम्म बसी ज्ञानोपदेश गर्नुभो । २०४२ सालमा काठमाडौंतर्फ आई केही समय स्वयम्भूस्थित गीता मन्दिर परिसरमा बास बसी ज्ञान–अभियान समेत संचालन गर्नुभो । नेपाल आउनुभन्दा पहिल्यै उहाँले भौतिकशास्त्र, राजनीतिशास्त्र र दर्शनशास्त्र गरी तीन विषयमा स्नातकोत्तर तहको उपाधि लिइसक्नुभएको थियो । मनोविज्ञान शास्त्रको समेत गहन अध्ययन गरी वेद, वेदान्तशास्त्र, पुराण, योग र आयुर्वेदको पनि गहन अध्ययन गरिसक्नुभएका उहाँले पछि परमगुरु विद्यानन्द विदेहज्यूबाट सन्यास ग्रहण गरी हरिद्वारस्थित कैलाश आश्रममा बसी विशेष शिक्षा–दीक्षा ग्रहणपश्चात् हिमशैलका गुफा ओडार आदिमा बसी आत्मसाक्षात्कार गरी जीवनमा विशुद्धत्व प्राप्त गर्नु भै विशुद्धदेवका रूपमा प्रकट हुनुभएको हो भन्नेबारे पनि विशेष जानकारी प्राप्त भो ।
तपोभूमि नेपाललाई नै केन्द्रबिन्दु बनाई विश्व मानवको चरित्ररूपी महाज्ञान रोप्नमा उहाँ लाग्नुभयो । त्यो ठाउँ भनेकै जनगालस्थित हंसदा योगआश्रम थियो । योगासनको माध्यमबाट शारीरिक तन्दुरुस्ती, प्राणायामको माध्यमबाट मानसिक सन्तुलन र ध्यानको माध्यमबाट मानव जातिमा आत्मजागरण गराउने जस्ता कार्यलाई उहाँले जारी राख्नुभो । आखिर २०५८ साल वैशाख १३ गते अक्षय तृतीयाको दिन ब्रह्मलीन हुनु भो उहाँ र जीवन निर्वाण प्राप्त गर्नुभो सोही ठाउँमा ।
उहाँ भनेको यस ब्रह्माण्डको एक दिव्यज्योति पुरुष हो । प्रत्येक मानव जीवनले उहाँले देखाएको सत्मार्गको बाटोमा लाग्ने हो भने उहाँका आदर्श सद्विचारको परिपालना गर्ने हो भने कोही कसैलाई पनि जीवनमा दुःख दर्द आइ पर्दैपर्दैन । उहाँले बताए अनुरूप मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमान्दारी जस्ता कुरा कायम गरी जीवनरूपी गाडीलाई अघि बढाउने हो भने कहिल्यै पनि हामीले जीवनमा असफलता भोग्नै पर्दैन । उनी हाम्रा निम्ति प्रेरणाका स्रोत हुन्, मार्गदर्शक हुन् र प्रखर चेतना प्रदान गर्ने चिन्तक हुन् । एकजना महान गुरू मानौं उनलाई र सच्चिदानन्द प्राप्त गरौं, आत्मशान्ति लिन सकूँ र विश्व कल्याणकारी कार्यमा आफूलाई समर्पित गर्न सकाँै भन्ने महान विचार दिने महापुरुष हुन् विशुद्धदेव । उनको ’चरित्र विज्ञान’ भित्रको ज्ञान र शिक्षा लिई मानवलाई अनैतिक र अविद्यारूपी खाडलबाट मुक्ति पाउन अनि सन्मार्गमा लाग्न उनले सदैव प्रेरणा दिइरहेका छन् ।
आजको सञ्चार र प्रविधियुक्त अस्तव्यस्त समाज र विश्व समुदायका लागि उनको कृति अत्यन्त मूल्यवान् छ । झन् अहिलेको नेपालको परिप्रेक्ष्यमा त यहाँका नेतादेखि कार्यकर्ता सम्मलाई व्यष्टिदेखि समष्टिसम्मका लागि अध्ययन र अध्यापन गर्न गराउन आवश्यक कृति हो ‘चरित्र विज्ञान’ । मानव जातिको मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमान्दारिताका कलाहरू विकसित पार्न सके एकएक चरित्रशाली मान्छे जन्मिनेछन् यहाँ, तबमात्र विश्व कल्याण सम्भव छ । अक्षय तृतीयाका दिन निर्वाण प्राप्त गर्ने विशुद्धदेव जस्तै बनौँ हामी पनि । उनकै समाधिस्थल नजिकै रहेको हंसदा आश्रमको जस्तो एकान्त, शान्त र मनोरम प्राकृतिक स्थलमा पुगी हामी पनि उनका सूत्र, मन्त्र, सिद्धान्त र प्रयोगको परिपालना गरौं । बस् ।