चन्द्रप्रसाद न्यौपानेकाे शास्त्रीय छन्द कविताहरूको दस्तावेज ‘छन्दकवि काेश’ प्रकाशित


बैशाख २४, २०८२, बुधबार | विहान ०१:५५ बजे | 125


काठमाडाैं, वैशाख । महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेद्वारा लिखित नेपाली साहित्यको शास्त्रीय छन्दमा लेखिएको कविता र कविहरूको इतिहास, दस्तावेजको रूपमा प्रकाशित महत्वपूर्ण ग्रन्थ 'छन्दकवि कोश' प्रकाशित भएको छ।

छन्दकवि काेश नेपाल प्रज्ञा–प्रतिष्ठानसँगकाे समन्वयमा प्रकाशन गरिएको हाे । ग्रन्थमा समावेश कविहरूमध्ये कतिपयका सिर्जना मात्र उपलब्ध छन् भने कतिपयका नाम मात्र समावेश गरिएको छ। 

महाकाव्यकार न्यौपानेद्वारा लिखित यो ग्रन्थमा १ हजार ९३ जना कविका जीवन र काव्यसाधनाको परिचयसहित छन्दमा रचित श्लोकहरू समेटिएको छ।

हालसम्म शास्त्रीय छन्दमा लेख्ने करिब ३३ प्रतिशत नेपाली कविका नाम समेटिएको यो कोशले नेपाली कविता इतिहासको महत्वपूर्ण पक्ष उजागर गर्ने प्रयास गरेको छ। साथै, झण्डै ३ सय जना कविहरूको नामावली सूचनाका रूपमा समावेश गरिएको छ। लेखक न्यौपानेका अनुसार छोटो समयमा सबै कविलाई समेट्न नसकिएको भए पनि आगामी खण्डहरूमा बाँकी रहेका कविहरूलाई समेट्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

शोधको क्रममा लेखकले दशकौँ पुराना उपनिषद्, महाकाव्य, पुराणलगायतका शास्त्रीय ग्रन्थहरू पल्टाउँदै नेपाली भाषामा लेखिएका कविताहरूको अध्ययन गरेका छन्। उनले पुराना र दुर्लभ पुस्तकालयहरूमा महिनौँ बिताएर खोज अनुसन्धान गरेका थिए। कविहरूका विवरण संकलनमा जन्म मिति र नेपाली वर्णानुक्रमको आधारमा विषयसूची तयार पारिएको छ।

समालोचना तथा साहित्य इतिहास विभागका प्रमुख डा. मधुसूदन गिरीले उक्त ग्रन्थलाई “महत्त्वपूर्ण खोज अनुसन्धान” को रूपमा मूल्याङ्कन गर्दै प्रकाशन प्रक्रियालाई अगाडि बढाएका थिए। लेखकले डा. गिरीको साथै, सुझावदाताहरू, परिवार र जीवनसङ्गिनी होममाया न्याैपानेप्रति आभार प्रकट गरेका छन्। ग्रन्थमा वार्णिक र मात्रिक छन्दमा आधारित कविता मात्र समावेश गरिएको छ भने श्लोकहरूका सन्दर्भ सामग्री सिद्धान्तअनुसार सूचीबद्ध गरिएको छ।

शास्त्रीय छन्द नेपाली कविता लेखनको ऐतिहासिक पद्धति हो जुन संस्कृत शास्त्रहरूमार्फत विकसित भएको हो। नेपाली भाषा साहित्यमा यसको प्रयोग क्रमशः वृद्धि हुँदै आएको छ। यिनै छन्दहरूमा लेखिएका हजारौँ कविहरूमध्ये भेटिएका र पुष्टि भएका स्रष्टाहरूको सन्दर्भसहितको परिचय यस कोशले समेटेको छ।

‘छन्दकवि कोश’ नेपाली साहित्यमा शास्त्रीय छन्दको दस्तावेजीकरण गर्ने पहिलो प्रयासमध्ये एक हो, यसले साहित्य, इतिहास र अनुसन्धानी पक्षलाई एकसाथ समेटेको छ। यसले भविष्यका साहित्य–अनुसन्धाताहरूलाई मार्गदर्शन गर्ने विश्वास गरिएको छ। कोशको आगामी संस्करणमा अझ विस्तृत कविसङ्ख्या समेटिने लेखकले जानकारी दिएका छन्।
 

Comments

ताजा खबर