दर्जन कवितामा गुन्जिए गुरु रामप्रसाद पाठशालामा
बैशाख १५, २०८२, सोमबार | विहान ०२:४६ बजे | 135
जयराम बिडारी
काठमाण्डौ , अविरल जनसाहित्य यात्रको ९८ औँ श्रृङ्खलामा सशक्त प्रगतिवादी कवि प्रा.डा.रामप्रसाद ज्ञवालीका एक दर्जन कविता गुञ्जिएका छन् । शनिबार पाठशाला नेपालको सभाकक्ष नयाँबानेश्वरमा आयोजित सो कार्यक्रमको राष्ट्रिय जनसाहित्यिक सङघ नेपालका अध्यक्ष नर्मदेश्वरी सत्यालको अध्यक्षतामा सम्पन्न गरिएको थियो । समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी थिए भने कवितामाथी टिप्पणीकारका रुपमा आसीन थिए समीक्षक प्राडा. रमेशकुमार भट्टराई । कार्यक्रममा दुईसय बेसी उपस्थित रहेका साहित्यानुरागीहरुको बाक्लो उपस्थितिले उक्त कार्यक्रमको गरिमा प्रकट गरिरहेको थियो । उक्त कार्यक्रममा अविरल जनसाहित्य यात्राका पूर्व काव्य विभाग अध्यक्ष डा.हरिप्रसाद सिलवालले सो कार्यक्रमका कविनायक ज्ञवालीका व्यक्तित्व तथा कृतित्वमाथी प्रकाश पारेका थिए । सिल्वालका अनुसार त्रिभुवन विश्वविद्यालयबाट २०४९ को स्नातकोत्तर परीक्षामा सर्वप्रथम भएका ओजस्वी व्यक्तित्व ज्ञवाली वि.सं.२०५४ बाट प्राध्यापन पेसामा प्रवेश गरी हाल त्रि.वि.केन्द्रीय क्याम्पस कीर्तिपुरमा प्राध्यापकका रूपमा कार्यरत रहँदै सिर्जनशील कर्ममा सक्रिय रहेका छन् । हालसम्म उनका कविता सङ्ग्रहका तेह्र ,दुई नाटक कृति, दुई उपन्यास समालोचनाका अठार,बालसाहित्यका सात ,अनुवादको एउटा कृति प्रकाशित भएका छन् । त्यसैगरी दर्जनौँ पाठ्पुस्तकका लेखक समेत रहेका उनले विभिन्न छ ओटा साहित्यिक पत्रिकाको सम्पादन पनि गरेका छन् । स्वदेश तथा विदेशका विभिन्न संघ संस्थाबाट करिब चार दर्जन सम्मान तथा पुरस्कार प्राप्त गरेका ज्ञवालीले २०६७ सालमा ‘नेपाली महाकाव्यमा वर्गीयता र वर्गद्वन्द्वको अभिव्यक्ति’ शीर्षकमा विद्यावारिधि गरेका छन् । राष्ट्रिय जनसाहित्यिक सङ्घका उपाध्यक्ष रमेश पोखरेलद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा कवि ज्ञवालीलाई दिनेश पाण्डे र दामोदर अधिकारीले कविता वाचनका लागि कविनायक सँग सहकार्य गरेका थिए । पहिलो रचना वाचन ‘म कवि’ शीर्षकीय कविता प्रस्तुत गर्दा तालीको गडगडाहटले हल गुन्जिएको थियो । यसैक्रममा दोश्रो कविता ‘सच्चा कवि’ दिनेश पाण्डेले सुनाएका थिए । जागरण र समानताका आवाज पुरुषले नभइ स्वयं नारीले जोडदार रुपमा उठाउनु पर्ने दरकार रहेको भन्दै दामोदर अधिकारीले मन्दाक्रान्ता छन्दमा ‘भन्दिनु निर्मला पन्तलाई’ सुनाएका थिए । जनताले धेरै केही नमागे पनि सत्ता उन्मादमा छ भन्ने कुरा प्रतिबिम्बित गरिएको ‘आक्रोश’ कविता कवि स्वयंले वाचन गरेका थिए । शार्दूलविक्रीडितको सुमधुर स्वरमा दिनेश पाण्डेले ‘धिक्कार मेरो जुनी’ सुनाउँदा माहौलमा रौनकता बढेको थियो । प्रगतिशीलधारका कविका रुपमा मात्र पनि नभई परिचयमा विविधता रहनुपर्छ भन्ने ध्येयले सिर्जित गरिएको प्रेमील कविता ‘प्रेम धेरै फरक पो छ’ कवि स्वयंले सुनाए । स्वाभिमानको खडेरी परेको अवस्थामा त्यही जोगाउनुपर्ने संदेशको कविता दामोदर अधिकारीले सुनाए । यसैक्रममा शार्दूलविक्रीडितमा ‘साच्चै सुन्दर छ्यौ तिमी’ कवि स्वयं ले ,चौबोला छन्दमा दिनेश पाण्डेले शालिग्राम सुनाए । कवि एक जिम्मेवार व्यक्ति हो । उस्ले समाज बदल्नका लागि सचेतता पूर्वक लेख्नु पर्छ । वर्तमानका लागि मात्र पनि कविले इमान्दार भएर लेखेको खण्डमा समाजले लाभ लिन सक्दछ भन्दै इतिहासको चिन्तामा रुमल्लिनु नहुने विचार व्यक्त गर्दै राष्ट्रिय भावले ओतप्रोत भएको कविता ‘म त देश हुँ’ कवि स्वयम्ले सुनाएका थिए,भने पाठशालामै संगीत शिक्षकका रुपमा कार्यरत रहेका दामोदर अधिकारीले अर्को गीतिछन्दमा जाग जाग सुनाउंदा माहौल भावुक भएको थियो । अन्त्यमा अनुष्टुप् छन्दमा डा. ज्ञवालीले आकांक्षा कविता सुनाएर अभ्यागत हरुप्रति आभार व्यक्त गर्दै वाचन श्रृङ्खलालाई बिट मारेका थिए । सो समारेहमा समीक्षक प्रा.डा. रमेशप्रसाद भट्टराईले ज्ञवालीका कविता भित्रका रौंचिरा केलाउँदै उनका कवितामा लयात्मक बिम्बको प्रयोग, सशक्त रुपमा क्रन्तिकारीपन मुखरित भएको बताउँदै ज्ञवालीका कवितामा प्रगतिवादी र समाजसुधारक चेत स्पष्ट प्रतिबिम्बित भएको बताए । वर्तमान समयका अत्यन्त जाज्वल्यमान ,छन्द सारथी , प्रगतिवादी लेखनका शिखर व्यक्तित्वका रुपमा परिचित रामप्रसाद ज्ञवालीका कार्यक्रममा साक्षी बस्ने अवसर मात्र प्राप्त भएन अपितु ती काव्य सुधाको रसपान गर्ने अवसर प्राप्तिले खुशी तुल्याएको बताए । डा. भट्टराईले छन्दलाई सिर्जनामा ढाल्ने कविताको रचनागर्भले कविको लेखनी निर्धारण गर्दछ । कवि ज्ञवालीका कवितामा रचनादर्शन, विषयको गाम्भिर्यता रचनागर्भको समायोजन श्रमको उच्च सम्मान,प्रेम प्रतिको दृष्टिकोण,पर्याचेतना अत्यन्त सशक्त रहेको धारणा व्यक्त गरे । उक्त कार्यक्रमका प्रमुख अतिथिको भूमिकामा रहेका प्रेमनाथ अधिकारीले प्रखर कवि रामप्रसाद ज्ञवालीका सरश,र सुललित रुपमा काव्य सुधा रसपान गर्ने अवसर प्रदान गर्ने आयोजक तथा सर्जक प्रति धन्यवाद व्यक्त गर्दै सो समारोहमा प्रस्तुत गरिएका कविताहरुले द्रवीभूत बनाएको बताए । उनले भव्य रुपमा सम्पन्न गरिएको कार्यक्रमको भव्यताले महासंघको कार्यक्रम केन्द्रित स्थायी भौतिक संरचना निर्माणको योजनाले सार्थकता प्राप्त गर्नेमा आसाको सञ्चार भएको बताए । कार्यक्रममा महासचिव डा.कृष्ण सुवेदीले सिर्जना, प्राध्यापन, छन्दअभियान एवम् शैक्षिक संस्थामा सक्रियता देखाइरहेका सशक्त स्रष्टा रामप्रसाद ज्ञवालीलाई कवितामा माध्यमबाट सुन्ने अवसरले ज्ञवालीका कवितामा प्रयुक्त बिम्ब प्रतीकले हृदयको गहिराईमा हलचल मच्चाउन सक्ने कविताको तागतको रुपमा पाएको बताउँदै आगामी साहित्यिक उन्नयनका क्षेत्र विस्तार हुनेछन् भन्ने शुभकामना व्यक्त गर्दै आगामी अङ्कको एकल वाचनका लागि प्रगतिवादी साहित्यमा अत्यन्त क्रियाशील रहेका स्रष्टा प्रा.डा.विदुर चालिसेलाई प्रस्तुत गर्ने घोषणा गर्दै कार्यक्रमको बिट मारेका थिए ।