देवकोटा दम्पतीको दुई कृति विमोचन


बैशाख १०, २०८२, बुधबार | विहान ०२:३७ बजे | 75


देवकोटा दम्पतीको दुई कृति विमोचन

जयराम बिडारी

काठमाडौं स्रष्टा पदयात्रा नेपालको वार्षिकोत्सवका अवसरमा स्रष्टा ‘खोलाघरे साहिंलो’ गङ्गाप्रसाद अधिकारी तथा समाजसेवी विदुर तामाङ लामालाई सम्मान गर्दै पदयात्री दम्पती चिरञ्जीवी देवकोटा तथा शान्ता देवकोटाको दुई कृतिको विमोचन गर्दै भव्य रुपमा सम्पन्न भयो । शनिवार गोकर्णेश्वर नगरपालिका ९,जम्बुडाँडास्थित फिनिक्स इनमा आयोजित विशेष कार्यक्रममा स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरीको अध्यक्षता तथा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक रिसालको प्रमुख आतिथ्यमा सम्मानित स्रष्टा खोलाघरे साहिंलो,समाजसेवी विदुर तामाङ लामा साहित्यकार चिरञ्जीवी देवकोटा,शान्ता देवकोटा लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिद्वारा चौकोटदेवी मन्दिर यात्राका बारेमा नियात्रा लेखनका क्रममा सो क्षेत्रको भौगोलिक अवस्थिति,धार्मिक,सांस्कृतिक लगायत यसका विकास र प्रचार प्रसारमा उत्कृष्ट सुझाव दिएवापत खोलाघरे साहिंलोको नामबाट परिचित स्रष्टा गंगाप्रसाद अधिकारी तथा सोही कर्ममा सघाए वापत चौकोट देवी मन्दिर संरक्षण समितिका सदस्य तथा समाजसेवी विदुर तामाङ लामालाई दोसल्ला ओढाइ प्रमाणपत्रले सम्मानित गरिएको थियो । उक्त अवसरमा सम्मानित भएका स्रष्टा खोलाघरे साहिंलोले सम्मानका लागि योग्य सम्झिएकोमा आभार व्यक्त गर्दै एउटा रचना वाचन गरेका थिए । भने समाजसेवी विदुर तामाङ लामाले पनि धन्यवाद मन्तव्य दिएका थिए । कार्यक्रममा सम्मानित हुने स्रष्टा र समाजसेवीको सम्मानपत्रको वाचन रुबि सत्यालले गरिन् । उक्त कार्यक्रममा स्रष्टा पदयात्रा टोलीमा संलग्न दम्पती चिरञ्जीवी देवकोटाद्वारा लेखिएको हाइकु-सेन्युसङ्ग्रह ‘उज्यालो आशा’ तथा शान्ता देवकोटाको मुक्तकसङ्ग्रह ‘अभ्यागत’ एकसाथ लोकार्पण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा रहेका नगरप्रमुख रिसालले साहित्य मानव जीवनको एक महत्वपूर्ण पाटो रहेको उल्लेख गरे । उनले गोकर्णेश्वर नगरपालिकाले साहित्यका क्षेत्रमा भाषा कला साहित्यको संरक्षण र सम्बर्धनमा अनवरत योगदान दिने स्रष्टाहरुलाई उचित सम्मान गरिरहेको दृष्टान्त दिंदै त्यस्ता कार्यले नगरको यश बढिरहेकोमा खुशी व्यक्त गरे । सो समारोहमा अभिनव साहित्य समाजका सचिव तथा स्रष्टा पदयात्री परशुराम पराशरले चिरञ्जीवी देवकोटाद्वारा लिखित हाइकु- सेन्युसङ्ग्रह ‘’उज्यालो आशा’’ का बारेमा समीक्षात्मक टिप्पणी गरेका थिए । उनले जापानबाट सुरु भएर विश्वभर फैलिएको हाइकु सत्र अक्षरमा तीन पंक्तिमा लेखिने कविताको सानो स्वरुप भएपनि नेपाली हावापानी माटोको सुगन्धमा सुवासित देवकोटाका हाइकु सेन्युसङ्ग्रहले जीवनका समस्या,विद्रोह,विकृति र उपलब्धिका समस्त पाटोहरुलाई लालित्यपूर्ण तरिकाले प्रकट गरेको बताउँदै कृति सफलताको कामना गरे । सो अवसरमा मन्दिरा मधुश्रीद्वारा शान्ता देवकोटाकृत मुक्तकसङ्ग्रह ‘’अभ्यागत" का बारेमा गहन समीक्षा गरिएको थियो । समीक्षात्मक टिप्पणीका क्रममा मधुश्रीले महिलाहरुलाई लेखनका क्रममा आइपर्ने चुनौती हरुका बीच पनि शान्ता देवकोटाका सृजनात्मक गहनता बोकेको कृति पाहुनाका रुपमा पाठकबीच आउनु सुखद पक्ष रहेको बताउँदै यसले पाठकहरुको साथ र स्नेह पाउनेमा आसावादी रहेको बताइन् । उक्त अवसरमा ‘उज्यालो आसाका’ सर्जक चिरञ्जीवी देवकोटाले आफू पेशागत रुपमा इन्जीनियरिंग क्षेत्रमा क्रियाशील रहेको भए तापनि साहित्य प्रतिको मोहबाट दूर नहरेको बताउँदै कोसेलीका रुपमा हाइकु-सेन्युसङ्ग्रह लिएर आएको बताए ।यसैगरि ‘अभ्यागत’ मुक्तकसङ्ग्रहकी स्रष्टा शान्ता देवकोटाले धन्यवाद ज्ञापन गर्दै ‘अभ्यागत’ आजका मितिदेखी समस्त पाठकहरुको पाहुनाका रुपमा प्रेषित गरिएको बताउँदै आफ्ना पाहुनाहरुलाइ यथोचित स्वागत सत्कार गरिनु नेपाली मौलिक परम्परा रहेको बताइन् । साथै भोलिका दिनमा पाठकीय प्रतिक्रियाका आधारमा प्राप्त हुने यथोचित सल्लाह र सुझावलाई हृदयंगम गरेर सिर्जनात्मक उडान भर्नका लागि सघाउ पुग्ने विचार व्यक्त गरिन् । साहित्यिक क्षेत्रमा क्रियाशील सात उत्साहित युवाहरुद्वारा २०७३ सालको मंसिरदेखि निरन्तर रुपमा संचालन गरिएको पदयात्रा अभियान कोरोना कालमाा केही सुस्ताएपनि त्यसपछिका दिनहरुमा नियमित रुपमा संचालित हुँदै आएका छन् । अभियानका रुपमा संचालनमा रहेको पदयात्रा कार्यक्रमलाई संस्थागत दर्ता प्रकृयामा लगिएपछिको पहिलो वार्षिकोत्सवका रुपमा मनाइएको थियो । वार्षिकोत्सव कार्यक्रममा संस्थाका महासचिव गङ्गाप्रसाद भेटवालद्वारा महासचिवको प्रतिवेदन प्रस्तुत गरिएको थियो भने वसन्त रिजालद्वारा आर्थिक प्रतिवेदन प्रस्तुति गरिएको थियो । कार्यक्रममा प्रस्तुतगरिएका महासचिव र कोषाध्यक्षका प्रतिवेदनहरू उपर डा.बालचन्द्र मिश्र,परशुराम पराशर,वसन्त रिजाल गीता रेग्मी,प्रभा बराल,मन्दिरा मधुश्री खोलाघरे साहिंलो लगायतले छलफलमा भाग लिई संस्थागत सुझावहरु दिंदै सर्वसम्मति रुपमा पारित गरिएको थियो । हरेक महिनाको पहिलो शनिवार विभिन्न भू-भागको यात्रा गर्दै रचना वाचन गर्ने गरिएको स्रष्टा पदयात्रा नेपालको ९३ औं श्रृङ्खलामा भाग लिन स्रष्टाहरु उपत्यकाका विभिन्न स्थानबाट भक्तपुरको बोडे चोकमा भेला भएर त्यसतर्फ प्रस्थान गरेका थिए । कार्यक्रममा शीतल गिरी,डा.बालचन्द्र मिश्र दुर्गा भवानी भट्ट,वसन्त रिजाल,नवराज रिजाल, डिल्लीरमण सुवेदी,शारदा पराजुली,परशुराम पराशर,सुभाष चन्द्र पौडेल ‘भीमफेदिया’ घनश्याम प्रसाई,विमल अर्याल, राजेश खनाल,गंगाप्रसाद भेटवाल, एन.बी. जनकपुरी, प्रतीक घिमिरे, खोलाघरे साहिलो, नानीबाबा अधिकारी,शोभा शरभ,चिरञ्जीवी देवकोटा,शान्ता देवकोटा, डा.यादेवी ढकाल, रुबि सत्याल, राधा बोहरा, वासुदेव ठकुरी, प्रभा बराल , कल्पना आचार्य,गीता रेग्मी,उद्धव रायमाझी, अभय श्रेष्ठ , सुशील आचार्य, कृष्ण सुवेदी ‘निराकार’ निशा केशी, विजया बस्नेत, बुद्धि सागर पौडेल, दीपक भेटुवाल ‘दीपसागर’ , वासुदेव पौडल स्वस्ति शर्मा, प्रेरिता चालिसे,शिवहरि पोख्रेल लगायत धेरै स्रष्टाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष शीतल गिरीद्वारा अभ्यागतहरुलाई स्वागत गर्दै पदयात्राका विषयमा प्रकाश पारिएको थियो भने शारदा पराजुलीद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रम सभ्य एवम् भव्य रुपमा सम्पन्न गरिएको थियो ।

Comments