यात्रा प्रेतात्मासँगको अवलोकन
बैशाख ९, २०८२, मङ्गलबार | विहान ०७:१३ बजे | 165
डा इन्दुल केसी
१. प्राक्कथन
‘यात्रा प्रेतात्मासँग’ पुस्तकका लेखक श्री रत्नकुमार श्रेष्ठ हुनुहुन्छ । उहाँले यो पुस्तक एक प्रति मलाई उपहार दिनुभयो । पुस्तकको शीर्षकले नै मलाई आकर्षित ग¥यो । मैले अभिरुचिपूर्वक पढेँ । यो पुस्तक २०५९ सालमा शुरु गरी २०७९ सालमा मात्र लेखन कार्य सम्पन्न गर्नुभएको रहेछ । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको २१६ पृष्ठको पुस्तक भित्र विभिन्न शीर्षकका २० वटा लेखहरु रहेछन् । यसको सम्पादन साहित्यकार श्री विमल भौकाजीले गर्नुभएको रहेछ । नेपाली साहित्यको क्षेत्रमा यात्रा, नियात्रा, तिर्थयात्रा, पर्यटकीय यात्रा आदिबारे लेखिएका धेरै पुस्तकहरु पाइन्छन् । ती पुस्तकका लेखकहरुले आफूले यात्रामा देखेका, भोगेका अनुभवहरुको विवरण आ–आफ्नै तरिकाले प्रस्तुत गरेका हुन्छन् ।
मैले यात्रा नियात्रा सम्बन्धि धेरै पुस्तकहरु पढेको छु । तर यो पुस्तकको विषय वस्तु अलि भिन्न तर धेरै विशेषतायुक्त छ । भुत, प्रेत जस्ता पे्रतात्मासँग लेखक स्वयम्ले देखेभोगेको कुराको यथार्थ विवरण प्रस्तुत भएको कुराजस्तै म स्वयम्ले पनि देखेको छु, भोगेको छु । तर यहाँ म केवल रत्नकुमार श्रेष्ठजीको पुस्तकमा केन्द्रित भई लेखिरहेको छु ।
भौतिकवादीहरु भुत, प्रेत, पिशाच, बोक्सी, धामी, झाँक्रीहरुमा विश्वास गर्दैनन् । भगवान शिवजी स्वयम्का हर्गनहरु भुत, प्रेत, डंकिनी भन्ने कुरा शिवपुराण वर्णित छन् । शिवको स्वरुप विरभद्र – भैरव अनि उनका गणहरु भुत, प्रेत भन्ने कुरा उल्लेख छ । वर्तमान समयमा टिभीको मस्ता च्यानलमा तन्त्र, मन्त्र, तान्त्रिक क्रियाकलापहरु प्रशारण भइरहेको कुरा धेरैलाई थाहा छ ।
२. लेखक रत्नकुमारको लेखकिय
‘बाल्य अवस्थामा अन्र्तमनको सोच आत्मादेखि परमात्मासम्म’ शीर्षकमा भन्नुहुन्छ, “भौतिक संसारमा दैवी शक्ति, भुतप्रेत, आत्मा र प्रेतात्मा उपस्थिति हुन्छ भन्ने आफूले कसरी विश्वास गरुँ ? भौतिकवाद र अध्यात्मवादको लडाईमा म दुवैमा आफु समान रुपले विश्वास राख्ने व्यक्ति । आफुले विद्यालयमा अध्ययन गरेअनुसार मानिसले यथार्थवादी, आधुनिक, वस्तुनिष्ठ र वैज्ञानिक धारणामा मात्र विश्वास गर्नुपर्छ । भुतप्रेत, देवी देवता भन्ने कुरा अन्धविश्वास हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको आफूलाई अत्यन्त नै घत लागेको कविता उल्लेख गर्नुहुन्छ ः
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्रिमा जाने हो ?
कुन सामग्री पुजा गर्ने, साथ कसरी लाने हो ?
लक्ष्मीप्रसाद देवकोटाले देह त्यागको अन्तिम घडीमा ईश्वरको उपस्थितिलाई पूर्णतः स्वीकार गर्नुभएको थियो ।”
३. पुस्तकमा उल्लेख भएका घटना विवरण
रत्नकुमार श्रेष्ठजीको यस पुस्तकमा उल्लेख भएका घटनाहरुको स्थानः
क) काठमाडौं, नक्साल, बागबजार, पुतलीसडक
ख) धरान, दार्जलिङ
लेखकका आफन्त नातेदारहरुको घर, डेराको घरमा घटित घटनाहर लेखक स्वयमले प्रत्यक्षदर्शीको रुपमा देखेको अनुभव गरेका अनेकौं कुराहरु यस पुस्तकमा बडो आकर्षित ढंगमा प्रस्तुत गरिएका छन् । उक्त घटनारु हुँदा विचित्रको विभिन्न आवाजहरु आउने जस्तैः
“पानी पानी” भन्ने आवाज, भाडा मस्काएको आवाज, ड्रेसिङ टेबुल खोलेर श्रृङ्गार प्रसाधनका सामग्रीहरु मिलाएको आवाज आउने, बिचित्र कन्दन गरेर कुराहरु सुन्ने, पीडितसँग प्रेतात्माले दोहोरो वार्तालाप गर्ने, प्रेतात्माले टाढा रहेको वस्तुको बारेमा संकेत बताउने, प्रेतात्माले प्रभावित व्यत्ति उभिन्न नसकेर सर्प मदारिएर घ्रसिएर मात्र यात्रा गर्न सक्ने, प्रेतात्माले खोला, नदी पार गरेर जान नसक्ने, प्रेतात्माले बलिरहको बत्ती निभेको अनुभाव गराउने, आफूलाई भोजनको माग गर्ने र साथमा पानी राख्न नछुटाउनु भन्ने, पीडितले हात, खुट्टा दुबै खुम्चाएर दाह्रा कित्ने, सौतेनी डाहा जस्तो धारणा पनि प्रेतात्मालाई हुने, म नमरेकै अवस्थामा मलाई जलाइएको भन्ने दाबी गर्ने, प्रेतात्माले समेत आफ्नो पतिलाई दिनमा एकपटक एक घण्टाको लागि भेट्न पाउँ भनी अनुरोध गर्ने र पतिलाई कुनै प्रकारको हानी नपु¥याउने बाचा गरेको विवरण समेत यस पुस्तकमा उल्लेख गरिएको छ । यसमा घटित घटनाहरु लेखक स्वयम्ले प्रत्यक्षदर्शीको रुपमा अनुभव गरेको चर्चा यस पुस्तकमा गरिएको छ । सोही क्रममा अमृत साइन्स कलेज, काठमाडौका प्राध्यापक र कलेजका विद्यार्थीहरुको समूहले समेत ती घटनाहरु प्रत्यक्षदर्शीहरुको रुपमा अनुभव गरेको कुरा पनि पुस्तकमा उल्लेख गरिएको छ ।
४. समस्या समाधानका प्रयास
भुतप्रेतबाट सताइएका व्यक्तिहरुको उपचारको क्रममा अस्पताल, डाक्टर, वैद्य, धामी, झाँक्री, झारफुके, तान्त्रिक, मुस्लिम तान्त्रिक, गुभाजुहरुको उपचारसेवा प्रयोग गरिएको र उहाँहरुले भने अनुसारका पूजा, पाठ र अन्य विभिन्न विधिहरु समेतको अनुष्ठानरु गरिएको कुरापनि यस पुस्तकमा चर्चा गरिएका छन् ।
५. अन्तमा
पुस्तकभित्रका घटनहरुमा समावेश गरिएका पात्रहरुको नाम उल्लेख गर्दा व्यक्तिगत जीवनमा असर नपरोस् भनेर सत्य घटनामा आधारित भएपनि काल्पनिक नाम राखिएको कुरा लेखकीय मन्तव्यमा उल्लेख भएको छ । यसरी नै धार्मिक ग्रन्थका कुरा र केहि वैज्ञानिक आधारहरु समेतलाई समाञ्जस्यता कायम गरिएको भनी लेखक भन्नुहुन्छ । यो पुस्तक भुत, प्रेत, दैविक शक्तिको बारे अध्ययन अनुसन्धान गर्न चाहने अध्येताहरुको लागि तथा भुतिया फिल्म तयार गर्ने प्रोडुसरहरु समेतको लागि उपयोगी हुन सक्ने उच्चस्तरको पुस्तक रहेको देखिन्छ । नेपाली साहित्य जगतमा यस किसिमको प्रेतात्मासँग सम्बन्धित यो पुस्तकले विशेष स्थान पाउने छ भन्ने मलाई लागेको छ । लेखक रत्नकुमार श्रेष्ठजीको कलमबाट भविष्यमा यस्तै अन्य गहन पुस्तकहरु प्रकाशित हुनेछ भन्ने अपेक्षाका साथ लेखकलाई मूरी मूरी धन्यवाद ।
०००