राजबाबु श्रेष्ठ सागरकृत कथा सङ्ग्रह ‘फिर्दोसको साँचो’ विमोचन
बैशाख ८, २०८२, सोमबार | विहान ०२:४४ बजे | 50
जयराम बिडारी
काठमाण्डौ हराएका छोराहरू’, ‘यादका बस्तीहरू’ देशको चिना’, जस्ता चर्चित कृतिहरू पाठकमाझ पस्किसकेका साहित्यकार राजबाबु श्रेष्ठ ‘सागर’ को नवीनतम कथा सङ्ग्रह फिर्दोसको साँचो लोकार्पण गरिएको छ । इन्डिगो इंकको आयोजनामा शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षको प्रेक्षालयमा विशेष कार्यक्रमको आयोजना गरी उपस्थित सम्पूर्ण अभ्यागतनै प्रमुख अतिथि रहेको प्रतीकको आधारमा फरक शैली र प्रयोग गरी सो कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त अवसरमा प्रमुख टिप्पणीकार तथा समीक्षक प्रा.डा. रामप्रसाद ज्ञवालीले नेपालको सन्दर्भमा जातभन्दा वर्गीय समस्या मूल हो भन्ने विषयलाई सागरले मुखरित गरेको भए पनि यथार्थता योभन्दा फरक हुन सक्ने विचार व्यक्त गर्दै कृति मन पर्नु वा नपर्नुमा अनेक विषयले काम गर्ने भन्दै कोण प्रतिकोणबाट प्रश्न उठाए । खासगरी कथामा प्रयुक्त कथ्य आफैँमा बाझिनु राम्रो लक्षण नभएको सङ्केत गरे पनि बुनोटको कोणबाट भने कथाहरू साँच्चिकै राम्रा भएको उनको विचार थियो । आवेगले विवेकमाथि जब विजय प्राप्त गर्दछ तब कसरी नैतिकता कसरी खिइन्छ भनेर बेजोड ढङ्गले कथा बुनेको ज्ञवालीले उल्लेख गरे । यौन मात्र हो त कथावस्तु भन्ने विषयमा सागरले पुनर्विचार गर्नुपर्ने ज्ञवालीको राय थियो । उनका कथामा यथार्थवाद, अतियथार्थवाद, आदर्शवाद तथा प्रयोगवादको भरपुर प्रयोग भएको उनले उल्लेख गरे । जीविकाको साहित्य वा जीवनको साहित्य के लेख्ने भन्नेबारे आफूले निर्क्यौल गर्नुपर्ने वा कुन बाटो रोज्नुपर्ने भन्ने लेखककै छनोट हुनुपर्ने भन्ने भन्दै आफ्नो साहित्यले समाजलाई सकारात्मक रूपान्तरण गर्न सक्छ/ सक्दैन भन्ने विषयमा भने चनाखो हुनुपर्ने बताए । सो अवसरमा डा.अर्चना थापाले आफूले फरक उद्देश्यले कथा पढ्ने पढ्ने भन्दै कथाभित्र कथाको प्रयोग अत्यन्त सराहनीय भएको बताइन् । वर्गीय विभेद न्यूनीकरण भएमा जातीय विभेद कम हुन सक्ने भनिए पनि त्यसलाई आफ्नो विचारमा भने सहज स्विकार्न नसकेको बताइन् । फरक संस्कृतिका कुरा ल्याउन सक्नु उनको सबल पक्ष रहेको भए पनि यौनिक भएको विषयमा सागर स्थापित मान्यताबाट माथि उठेको उनको कथन थियो किन्तु महिलामाथि हुने विभेदभन्दा माथि उठ्न नसकेको उनकोधारणा रहेको थियो । टिप्पणीकार अनुपमा रेग्मीले 'फिर्दोसको साँचो'मा अलग अलग खाले एघार वटा कथा छन् जसमा जादुमय यथार्थको प्रस्तुत गरिएको छ । लोक विश्वासलाई कुशलतापूर्वक तरिकाले प्रस्तुत गर्ने सागरले स्वैर कल्पना तथा परामनोविज्ञानलाई प्रयोग गरिएको छ । लैङ्गिकता सशक्त प्रयोग गरिएको छ भन्दै कृति सफलताका लागि शुभकामना व्यक्त गरिन् । कृतिकार राजबाबु श्रेष्ठ ‘सागर’ ले आम पाठकबाट प्राप्त हुने सवै खाले प्रतिक्रियाले आगामी लेखनकर्मलाई मार्गदर्शन र प्रवाहित पार्ने परिचर्चाका क्रममा उठेका प्रसंगलाई समन गर्ने प्रयत्न गरे । उनले दृष्टिका आधारमा निर्माण हुने दृष्टकोण महसुस गर्ने हृदय अनि व्यक्त गरिने शैलीको फ्युजन गर्ने प्रयत्नले पाठकलाई रोमाञ्चित तुल्याउने स्पस्ट पार्दै पात्रको चरित्र चित्रण, तीनका प्रवृत्ति,सौन्दर्य लगायत संस्कार र संस्कृतिलाई कथानकको रुपमा उनिएको जिकिर गर्दै कार्यक्रममा उपस्थित सवैप्रति आभार व्यक्त गरे । सो समारोहमा डा.अशोक थापाले उपन्यासको मूल कथ्यमा प्रवेश गर्दै उपस्थित सबै अतिथि तथा भावकलाई स्वागत गरेका थिए भने चर्चित कार्यक्रम प्रस्तोता हेम भण्डारीले कार्यक्रमको सहजीकरण गरेका थिए ।