झ्याउरे लोक छन्दमा अधिकारी बिमलाको ‘बुबा’ शोककाव्य लोकार्पित


2025-04-20 01:08:44

News Image

जयराम बिडारी

काठमाण्डौ काव्य घर नेपाल मिडिया तथा झ्याउरे छन्दलय कविता लेखन पुनर्जागरण अभियान को संयुक्त आयोजनामा वैशाख ४ गते अधिकारी विमलाद्वारा सिर्जित ‘बुबा’ शोककाव्य काठमाण्डौ अनामनगर स्थित सामाजिक विकास भवनमा विशेष कार्यक्रमको आयोजन गरी लोकार्पण तथा झ्याउरे छन्दलय कविता बाचन कार्यक्रम सम्पन्न गरिएको छ । काव्य घर नेपाल मिडियाका संस्थापक अध्यक्ष राजकुमार खड्गाको सभापतित्वमा प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्रा.डा.गोविन्दराज भट्टराई गुञ्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठ, प्रा.डा.रमेश शुभेच्छुक, प्रा.डा.सीता सुवेदी पन्थी लगायत अन्य अतिथिहरुद्वारा सामुहिक रुपमा कृतिको लोकार्पण गरिएको थियो । प्रमुख अतिथिद्धारा व्यानर पढेर उद्घाटन गरिएको उक्त कार्यक्रममा गंगा खतिवडाद्वारा अभ्यागतलाई स्वागत गरिएको थियो । कार्यक्रममा प्रा.डा.रमेश शुभेच्छुकद्वारा स्रष्टा अधिकारी बिमलाका जीवनका उहापोह बारे प्रकाश पार्दै स्रष्टा परिचय गरिएको थियो । सो समारोहमा कृतिको समीक्षाको जिम्मेवारी प्रा.डा.सीता सुवेदी पन्थीद्वारा निभाइएको थियो । समीक्षाका क्रममा अधिकारी बिमलाका धार्मिक प्रवृत्तिको पारिवारिक वातावरण शैक्षिक जनचेतना अभियानका लागि बुबाले निभाउनु भएको योगदान लगायतको कतिपय प्रसंगलाई समेटिएको झ्याउरे लोक छन्दमा सिर्जित ३४ उपशीर्षकका कविता सङ्ग्रह मौलिक नेपाली झ्याउरे छन्दमा उनेर सुन्दर मालाको रुपमा माला बुनेको बताउँदै सिर्जनशील गतिविधि अझै थप फराकिलो रुपमा बढ्दै कृति सफलताको कामना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै प्रा.डा.गोविन्दराज भट्टराईद्वारा झ्याउरे हाम्रो नेपाली मौलिक मुटुको ढुक्ढुकी भएकाले यसलाई विश्व जगतमा परिचित गराउनु पर्नेमा जोड दिइएको थियो । उनले झ्याउरे पुनर्जागरण अभियानमा सक्रिय रुपमा क्रियाशील रेणुका भट्टराईको प्रशंसा गर्दै अधिकारी बिमलाले झ्याउरे अभियानमा बुबा शोककाव्य मार्फत अर्को एउटा ईँटा थप्ने कार्यले खुशी तुल्याएको बताउँदै कृति सफलताको शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा कृतिकार अधिकारी बिमलाले आफ्ना पिताको बियोगमा सृजित कृति ‘बुबा शोककाव्यको लोकार्पण समारोहमा उपस्थित भई आफूलाई हौसला प्रदान गर्न पाल्नु भएका अभ्यागतहरु प्रति कृतकृत्य रहेको बताउँदै आभार व्यक्त गरिन् । उक्त अवसरमा गंगा कर्माचार्य,पेशलकुमार लुइटेल, चेवन बस्नेत ठूलाघरे, पदम दाहाल, कृष्णप्रसाद पौडेल,आल्फि फाक्लुपा,अमर अधिकारी ‘किर्तिमानी’ बलराम विष्ट,कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ कमला शाक्य ‘सृष्टि’ गौरी तिमल्सीना, लेखनाथ सिकारु, प्रकाश ढुङ्गाना,प्रतिमा बोहोरा,रुबी सत्याल ,बिनोद अधिकारी,नारायण शर्मा फुयाल, गायक नरहरि ‘प्रेमी’ लगायत सयौंको उपस्थितिमा ललिता दोषी, रश्मि रिमाल,केशवराज पन्त,राममणी ढुङ्गेल,बासुदेव अधिकारी,पी.पी कोइराला आदिले झ्याउरे छन्दलयका सिर्जना बाचन गरिएका थिए । कार्यक्रमलाई काव्य घर नेपालकी अध्यक्ष तथा झ्याउरे छन्दलय कविता लेखन पुनर्जागरण अभियानकी अभियन्ता रेणुका भट्टराईद्वारा सहजिकरण गरिएको उक्त कार्यक्रम सभ्य तथा भव्य रुपमा सम्पन्न गरिएको थियो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *