आठजनालाई शब्दयात्रा सम्मान
2025-04-08 02:38:52
शब्दयात्रा प्रकाशनले कोशकार प्रा. शङ्करराज पाठक, आध्यात्मिक प्रवाचिका डा. कान्ता भट्टराई, पत्रकार आदित्यमान श्रेष्ठ, समालोचक प्रा. डा. उषा ठाकुर, बालसाहित्यकार कन्हैया नासननी, महाकाव्यकार माधव वियोगी, हास्यव्यङ्ग्यकार नरनाथ लुइटेल र अनुसन्धाता डा. दुर्गाबहादुर घर्तीमा सम्मान समर्पण गरेको छ । उहाँहरूलाई २०८१ सालको अन्तिम चरणको सम्मान समर्पण गरिएको हो । शब्दयात्रा प्रकाशनले हरेक वर्ष विभिन्न विधाहरूमा तीन चरणमा सम्मान समर्पण समारोहको आयोजना गरी राष्ट्रिय ख्याति आर्जन गरेका व्यक्तित्वहरूमा सम्मान समर्पण गर्ने गरेको छ । प्रा. शङ्करराज पाठकमा भीमप्रसाद–पद्मकला सुवेदी भाषासेवा सम्मान, डा. कान्ता भट्टराईमा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान, आदित्यमान श्रेष्ठमा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, प्रा. डा. उषा ठाकुरमा हरिगोपाल प्रधान समालोचना सम्मान, कन्हैया नासननीमा विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मान, माधव वियोगीमा वसन्त शर्मा कविताकाव्य सम्मान, नरनाथ लुइटेलमा रुद्रलाल शर्मा हास्यव्यङ्ग्य सम्मान र डा. दुर्गाबहादुर घर्तीमा जयदेव अधिकारी अनुसन्धान सम्मान समर्पण गरिएको हो । यी सम्मानहरूका लागि प्रा. लालानाथ सुवेदी, कृष्णहरि मैनाली, सुनील सापकोटा, हरिगोपाल प्रधान, गोपाल पराजुली, कविप्रसाद प्याकुरेल, शारदाप्रसाद शर्मा र राजेन्द्र विरहीले कोष व्यवस्थापन गर्नुभएको छ । स्वास्थ्यसम्बन्धी समस्याका कारण समारोहमा उपस्थित हुन नसक्नुभएका आदित्यमान श्रेष्ठ र कन्हैया नासननीको सम्मान सामग्री उहाँहरूको घरमा लगेर हस्तान्तरण गर्ने गरी शिव बन्जाराले तथा इन्डियामा उपचाररत प्रा. डा. उषा ठाकुरको सम्मान सामग्री उहाँका छोरा अभिषेक ठाकुरले ग्रहण गर्नुभएको थियो । सावित्री जङ्गम थापा सभापति रहनुभएको उक्त समारोहको सञ्चालन शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले र अभिवन्दनापत्रको वाचन आजीवन सदस्य कृष्णमणि कुइकेलले गर्नुभएको थियो ।
प्रतिक्रिया