डा. सुरेशराज शर्माकाबारेमा लेखिएको गान सार्वजनिक
काठमाडौँ विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति डा. सुरेशराज शर्माका विषयमा उहाँकी श्रीमती उर्मिला शर्मा ढुङ्गेलले १५ वर्षजति अघि लेख्नुभएको एउटा गीत उहाँको निधन भएको पाँच महिनापछि स्वराङ्कन गरी सार्वजनिक गरियो ।
सङ्गीतकार हरि मञ्जुश्रीको सङ्गीतमा योजना खड्गीले उक्त गीत गाउनुभएको थियो । यही चैत २३ गते शनिबार शब्दयात्रा प्रकाशनद्वारा आफ्नै सभाकक्षमा आयोजित कार्यक्रममा प्राज्ञ, प्राध्यापक तथा नृत्यविद् बेटी बज्राचार्यले उक्त गीतलाई सार्वजनिक गर्नुभयो । गीतको सार्वजनिकीकरणका अवसरमा गायिका योजना खड्गीलाई आध्यात्मिक प्रवाचिका तथा पूर्वमन्त्री डा. कान्ता भट्टराईले र बाद्यसंयोजक बालकृष्ण सेवाचार्यलाई अनुसन्धाता डा. दुर्गाबहादुर घर्तीले शब्दयात्रा प्रकाशनका तर्फबाट आभारपत्र प्रदान गर्नुभएको थियो । गीतिभास्कर मच्छेश्वर सापकोटाको सुपरिवेक्षण र कृष्णमणि कुइकेलको व्यवस्थापनमा तयार भएको उक्त गीत ‘सुरेशराज शर्मा गान’ टाइप गरी ‘अक्षरधाम’ यु–ट्युब च्यानलबाट सुन्न सकिने कुरा शब्दयात्रा प्रकाशनले जनाएको छ ।