स्वदेश परदेशको एक साहित्यिक परिचर्चा


चैत २०, २०८१, बिहीबार | विहान १०:२१ बजे | 85


स्वदेश परदेशको एक साहित्यिक परिचर्चा

प्रस्थान विन्दु
डा इन्दुल केसी  
सामान्यतया मानिस जन्मि हुर्कि बढेका स्थानलाई स्वदेश र अन्य स्थानलाई परदेश भनिन्छ । स्वदेश र परदेशको भौगोलिक क्षेत्र भिन्न भिन्नै गाउँ, शहर, जिल्ला, मुलुक, देश हुन सक्दछन् । प्रशासनिक, राजनैतिक कारणले स्थान स्वदेश  र परदेशको नामले विभक्त साहित्यकका स्रष्टाहरु विभिन्न स्थानको बारे आफूले देखेका, भोगेका कुराहरुको वर्णन गरी रचना – साहित्य सिर्जना गरिन्छ । यसैक्रममा कवि मिठू थापा र उहाँले लेखेको पुस्तक ‘स्वदेश परदेश’ पाठकसमक्ष आइपुगेको छ । यो लेख यसै विषयमा चर्चा परिचर्चा गर्न केन्द्रीत छ ।
मिठू थापाको जिवनी
भक्तपुर जिल्ला निवासी राजनीतिज्ञ एवम् साहित्यकर्मी श्री गणेशबहादुर खत्रीकी सुपुत्री मिठू थापाको जन्म ई.सं. १९५६ मा शान्ति गाउँ, नलिन्चोक, भक्तपुरमा भएको थियो । उहाँले भक्तपुरको श्रीपद्म हाई स्कूलबाट एस.एल.सी. परीक्षा उत्तीर्ण गरिसकेपछि त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर डिग्री हासिल गर्नुभयो र स्वास्थ्य सहायकको पेशामा लागि लामो समय सेवा गरिसकेपछि अवकाश पाउनुभयो । उहाँले अमेरिका, जर्मनी, इजरायल, भारत तथा नेपालका विभिन्न ६२ वटा जिल्लाहरुमा भ्रमण गरी थुप्रै अनुभव हासिल गर्नुभएको रहेछ । 
प्रभाव र पे्ररणा
आफ्नो पिताको प्रेरणाले गर्दा साहित्यमा गहन अभिरुचि राखी नेपाली साहित्यका मुर्धन्य साहित्यकारहरु – बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, भूपी शेरचन, वी.पी. कोइराला, विजय मल्लसमेतका प्रकाशित पुस्तकहरु पढेकाले त्यसको प्रभाव आफूलाई परेको कुरा थापाजीले यस पुस्तकमा ‘म र मेरो कविता यात्रा’ शीर्षक लेखकीयमा उल्लेख गर्नुभएको छ । जीवनमा आइपर्ने संघर्ष र चुनौतिहरुको सामना कसरी गर्ने भन्ने शिक्षा आफ्ना हजुरआमा र सासु गोमा थापाबाट पाएको कुरा पनि उल्लेख गर्नुभएको छ । मिठू थापाज्यूले आफू ७ वर्ष अमेरिकामा बस्दा अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज, केन्द्रिय कार्यसमितिका अध्यक्ष गीता खत्रीज्यूको सल्लाह अनुसार यो पुस्तक तयार गर्नुभएको रहेछ । मिठूजी भन्नुहुन्छ, “यस कविता सङ्ग्रहमा मैले आफ्ना जीवनयात्रामा आफूले भोगेका र मनमा आएका भावनाहरुलाई पाठक सामुन्ने पस्कने प्रयास गरेकी हुँ ।”

यस पुस्तकको आकार प्रकार
यो पुस्तकमा जम्मा ६४ पृष्ठ छन् । यसमा विभिन्न शीर्षकका २४ वटा गद्य कविताहरु समावेश छन् । पुस्तकको आवरण – अग्रपृष्ठमा अमेरिकाको न्यूयोर्क शहरमा रहेको स्टाच्यु अफ लिबर्टी र नेपालको हिमाल र पहाडको आकर्षक रङ्गिन चित्र रहेको छ । यस पुस्तकमा रहेका २४ वटा कविताहरुको निम्न लिखित शीर्षकहरुले नै पुस्तकको झलक दिनेछ ः
१) घडीको सुई २) आमा तिमी नरुनू ३) अमेरिका ४) मन ५) शान्तिको शङ्खघोष ६) उनीहरुका लागि ७) यस्तै छ मान्छेको जिन्दगी ८) शुभेच्छा ९) जीवन १०) खुसी ११) नाता १२) समय १३) सन्तानको माया १४) डराइरहेछु  १५) प्रिय १६) दर्शन देऊ १७) प्रेम दिवस १८) बूढो रुख १९) सन्तान २०) चखेवाका जोडीजस्तै २१) निदाउन नसकेको रात २२) मायालुलाई २३) इच्छा २४) महाकवि महान् छन् 
कवि र कविता
यो पुस्तक कवि र कवितासँग सम्बन्धित भएकोले सर्वप्रथम कवि र कविता के हो ? भन्ने बारे केहि चर्चा गर्नु सान्दर्भिक हुनेछ । तसर्थ नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित सङ्क्षिप्त साहित्यिक शब्दकोषमा उल्लेख भएका केहि कुराहरु निम्न अनुसार छन् ।
कवि ः कविता वा काव्य रचना गर्ने व्यक्ति, यसले काल्पनिक शक्ति, सरल र प्रभावकारी अभिव्यक्ति क्षमता, अनुभवको विशिष्ट सम्वेदनशीलता र भाषिक प्रयोगका चेतना भएको र ती सबैलाई रचनामा संयोजन गर्न सक्ने व्यक्तिलाई कवि भनी बुझाउँछ । 
कविता ः शब्दलाई ध्वनिसँग जोड्ने ताल र छन्दका साथै अनुप्रास, विम्ब, अनुभूति, विचार, आदिलाई विशेष रुपमा प्रयोग गरिने साहित्यिक विधा विशेष कविता गद्य र बोलिचाली भन्दा बढी सघन हुनाले त्यसको वाक्य गठन पनि विशिष्ठ प्रकारको हुन्छ ।
उक्त शब्दकोषमा उल्लेख भएका कवि र कविताको आधारमा हेर्दा कवि मिठू थापाको यो पुस्तक धेरै नै मेल खान्छ, तादमव्यता भएको पाइन्छ । 
नमूनाका दुई कविताहरुबारे
कवि मिठू थापाका उक्त २४ वटा कविताहरुमध्ये निम्न दुईवटा कविताहरु बारे उदाहरणको रुपमा यहाँ चर्चा गर्दछु ।
१) शान्तिको सङ्खघोष शीर्षकको कतिवालाई स्वदेको प्रतिकको रुपमा प्रस्तुत ः
हाम्रो देशमा शान्ति ल्याउनु छ
गोली र वारुदले होइन
साहित्य कला, संस्कृतिका माध्यमले
शान्तिको सङ्खघोष गर्नुपर्छ ।
विश्वलाई शान्तिको सन्देश दिने गौतम बुद्ध जन्मेको देश नेपालमा शान्ति ल्याउनुपर्छ तर गोली र बारुदले होइन भनी साहित्यसमेतको माध्यमले शान्तिको सङ्खघोष गर्नुपर्छ भन्ने कविको भावले स्वदेशको अवस्थालाई चित्रण गर्नुको साथै शाान्ति ल्याउने माध्यमसमेत उल्लेख गर्नुभएको छ । यसबाट कविको स्वदेशको माया ममता अति गहिरो रुपमा प्रस्तुत भएको छ । कवि सच्चा राष्ट्रवादीको रुपमा देखापर्नु भएको छ । 
२) परदेशको सम्बन्धमा ः अमेरिका शीर्षकको कवितालाई प्रस्तुत गर्नुभएको देखिन्छ ।
    यस कवितामा – अमेरिकाको न्यूयोर्क शहरमा रहेको “म्यानह्याटनको सेन्ट्रलपार्क, हड्सन नदी, स्टाच्यु अफ लिबर्टी (स्वतन्त्रताको प्रतिक), त्यस शहरमा रहेका अग्ला–अग्ला भवनहरु, बाटो, त्यहाँको मौसमका बारे उल्लेख गर्नुभएको छ ।” यस कवितामा 
नेपालको सगरमाथा
कतै बसाइँ सर्न लागेको हो कि ?
नेपालका धेरै मानिसले आफ्नो देशलाई छोडेर अमेरिकामा बसाइँ सराइ गरी सकेको र त्यहाँको वातावरणमा रमाइ रहेको अवस्थालाई कविताको माध्यमबाट प्रस्तुत गर्नुभएको छ । 
स्वदेश र परदेशबारे प्रतिनिधिमूलक यी दुईवटा कविताहरुको संरचना कविको आफ्ना भोगाइ, यथार्थता स्पष्ट झल्केको पाइन्छ । 
अरुको विचार
यस पुस्तकबारे विभिन्न व्यक्तिहरुको अभिव्यक्तिहरु
१) राष्ट्रकवि माधव घिमिरे, ‘मिठूका मिठा कविता’ ः उनका कविताहरु निकै मार्मिक छन् । 
२) कवि एवम् नाट्यकर्मी अशेष मल्ल, ‘काव्यिक चेतनाका प्रस्तुति’ ः उहाँको अमेरिका बसाइ, अमेरिका भोगाइ र देशभन्दा टाढा रहँदाको तीक्तता, भावुकता भावको कुनै गहिरो सागर भएर उर्लिएका छन् । कवितामा कहिँपनि वृ्रmत्रिमता छैन । ती स्वभाविक शिल्पमा पोखिएका छन् । सबै कविता सहज, सरल र स्वाभाविक रुपमा व्यक्तिएका छन् । 
३) अध्यक्ष, गीता खत्रीको शुभकामना ः उहाँका कवितामा विभिन्न समय र परिस्थितिमा मन भित्रका चोट, खुसी तथा आवेगलाई भावमय किसिमले प्रस्तुत गरिएका छन् । हृदयलाई छुने कविताहरु छन् । यो कविता सङ्ग्रहले विदेशिनेहरुको नेपाल र नेपाली प्रतिको माया र ममताको निश्चल लगावको उदाहरण पेश गरेको छ ।
४) रङ्गकर्मी हरिबहादर थापाको शुभकामना ः उनको कल्पनाशीलता, सिर्जनशीलताले शिखर चुमोस्, साहित्यिक यात्रा निरन्तर अघि बढि रहोस् । यस्तै–यस्तै सार्थक प्रयासका निम्ति मेरो धेरे धेरै शुभकामना छ । 
अन्तमा
    यो पुस्तक साहित्य प्रेमीहरुको लागि एउटा कोशेलीको रुपमा आएको छ । यसमा रहेका कविताहरुले स्वदेश परदेशको एउटा साहित्यिक ऐनाको रुपमा रहेको छ । कविताहरु सबै सरल तर भाव गाम्भिर्य छ । विभिन्न कारणले परदेशमा बसाइँ सराइ गरेकालाई आफ्नो देशको माया ममता कस्तो हुन्छ भन्ने दर्शाएको छ । कवि मिठू थापाको यो पुस्तक पठनिय तथा संग्रहनिय छ । तसर्थ थापाजीको प्रयत्न सफल छ । उहाँको कलमबाटा आगामी दिनमा अरु साहित्यिक कृतिहरु प्रकाशित हुनेछ भन्ने शुभकामना छ । धन्यवाद ।
०००
 

Comments