रङ्गकर्मीको दृष्टिमा डा. इन्दुल के.सी. 


चैत १४, २०८१, शुक्रबार | विहान ०९:४३ बजे | 90


रङ्गकर्मीको दृष्टिमा डा. इन्दुल के.सी. 

हरिबहादुर थापा 
प्राज्ञ एवम् वरिष्ठ रङ्गकर्मी
कटुञ्जे, भक्तपुर
९८४१५९५८८१
१. अतितको सम्झना
    २०४५–२५ साल तिरको कुरा हो म भक्तपुरको श्री पद्म हाइ स्कुलमा ७–८ कक्षामा अध्ययन गर्दै थिएँ । इन्दुल केसी सोही स्कुलका शिक्षक हुनुहुन्थ्यो । उहाँ कक्षा भित्र पस्दा रमाईलो मुस्कान लिएर पस्नुहुन्थ्यो । हामी विद्यार्थीहरुलाई उहाँले प्रेम, स्नेह देखाउँदै कक्षा शुरु गर्दा हामी खुशीले गद्गद् हुन्थ्यौं । उहाँले विद्यार्थीहरुलाई हेर्ने दृष्टि अरु गुरुहरुको भन्दा अलि फरक थियो । हामी विद्यार्थीहरुपनि उहाँलाई आदरपूर्वक मान सम्मान गदथ्र्यौ । त्यति बेलादेखि उहाँसँग मेरो चिनारी भएको हो ।
    मलाई लाग्छ, उहाँले २०२६ साल तिर उक्त श्री पद्म हाई स्कुलबाट बिदा भएर शिक्षा मन्त्रालयमा अधिकृत पदमा सेवा गर्न शुरु गर्नुभयो । शिक्षाको विकास कसरी गर्न सकिन्छ भन्ने अध्ययन हेतुले देशका अधिकांश जिल्लाहरुमा भ्रमण  गर्नुभयो । यसै क्रममा शिक्षा हासिल गर्नको लागि उहाँले बेलायतमा पोष्ट ग्य्र्राज्युयट डिग्रीको अध्ययन गर्नुभयो र पछि भारतको कलकत्ताबाट वैकल्पिक उपचार विषयमा पि.एच.डी. डिग्रीसमेत हासिल गरी डाक्टर बन्नुभयो । 
२. वर्तमान
    उहाँले शिक्षा क्षेत्रको अलावा कला, संस्कृति, साहित्यमा पनि आफूलाई समर्पण गर्दै विभिन्न सामाजिक संघ संस्थाहरुको विभिन्न पद – अध्यक्ष, संस्थापक अध्यक्ष, सल्लाहकार भएर भक्तपुर शहरका मठमन्दिर, भजन, पाटी, पौवा निर्माण गर्ने कार्य गर्नुभयो । यसरी नै भक्तपुरको बाराही पीठ मन्दिर परिसरमा विभिन्न सटल पाटी निर्माणको साथै उहाँकै अध्यक्षतामा वाद्य संग्रहालयको स्थापना गर्नुभयो । यस संग्रहालयको समुद्घाटन संगीतज्ञ श्री श्रीराम आचार्यज्यूले गर्नुभएको थियो । 
    विशेषगरी उहाँको लगाव भजन गीत लेखन, गायन र संगीतसमेत आफैले गरी अरुलाई पनि यस क्षेत्रमा संलग्न गराउनुभयो । उहाँले गाउनु भएका भजनहरु युट्युबमा हामीले सुन्न सक्दछौं । यी भजनहरु सुनेर कति श्रोताहरुले मन पराए र प्रशंसासमेत गरेको मैले देखेँ । भक्तपुर जिल्ला आफै पनि कला, संस्कृतिले सम्पन्न जिल्ला भनेर विश्वमा परिचित छ । यस जिल्लाको सांस्कृतिक विकासका लागि उहाँको पनि ठूलो योगदान छ । 
    भक्तपुर जिल्लामा विभिन्न साहित्यिक संस्थाहरु र साहित्यकारहरु छन् । मैले यस लेखमा दुईजना साहित्यिक व्यक्तिको साहित्यिक गतिविधिका बारेमा यहाँ केन्द्रित हुन खोजेको छु । ती दुई व्यक्ति श्री गणेश बहादुर खत्री तथा डा. इन्दुल केसी हुनुहुन्छ । म एक रङ्गकर्मीको नाताले उहाँहरु दुवैलाई सधैं नै उच्च सम्मानका साथ नजिकबाट हेरेको छु । यसमा मलाई गर्व पनि लाग्दछ । सायद श्री गणेशबहादुर खत्रीज्यू र डा. इन्दुल केसीज्यूबीचमा धनिष्ठ सम्बन्ध पनि थियो । खत्रीजी जिल्लाका तत्कालीन जिल्ला सभापति भई अविस्मरणीय सेवामा आफूलाई समर्पण गर्नुभयो । र उताद्र्धमा आएर आफूलाई साहित्यिक विधामा स्थापित गर्नुभयो । डा. इन्दुल केसीजीले कविता, कथा, निबन्ध, समीक्षा, सम्पादनसमेत कार्यमा लाग्नुभयो । संस्कृतिविद् डा. सत्यमोहन जोशीज्यूले डा. केसीजीको बारेमा “दुई थुंगा फुल” शीर्षकको कविता लेखी पत्रिकामा प्रकाशन पनि गर्नुभयो ।
दुई थु“गा पूmल
विविध भाषाका ज्ञाता 
मातृभाषाका पुजारी 
विविध उपचारका ज्ञाता 
विकल्पका प्रयोगवादी 
सच्चा समाजसेवी 
बहुमुखी प्रतिभाका धनी 
डाक्टर इन्दुल केसी ।१।

भजन–कीर्तनका गायक 
कविता आदिका लेखक
कलाकृति र संस्कृतिका अनन्य भक्त साधक 
सरल स्वभावका मृदुभाषी 
क्रियाकर्ममा परोपकारी 
व्यक्ति एक प्रतिभा अनेक
डाक्टर इन्दुल केसी ।२। 
उक्त कवितालाई शब्दयात्रा प्रकाशन, बनेपाले यही २०८१ साल मंसिर १० गते डा. इन्दुल केसीको ८४ औं जन्मदिनको अवसरमा पुस्तकको रुपमा विश्वका विभिन्न ३० भाषामा अनुवाद गरी प्रकाशित गरेको छ । सम्भवतः यो किताब नेपालमा नै एउटा उल्लेखनीय रुपमा रहेको पुस्तकको रुपमा अभिलेख हुनु वाञ्छनीय देख्दछु । 
मैले लेखेको “रङ्गमञ्चमा म” पुस्तकको विमोचन यही २०८१ आश्विन महिनामा भएको थियो । उक्त विमोचन कार्यक्रममा डा. इन्दुल केसीजीलाई अतिथिको रुपमा आमन्त्रण गरेको थिएँ । कार्यक्रममा उपस्थित सबै महानुभावहरुलाई मेरो उक्त पुस्तक एक–एक प्रति उपहारको रुपमा प्रदान गरेको थिएँ । यो पुस्तक करिव २०० पृष्ठको छ । डा. इन्दुल केसीजीले यस पुस्तकलाई गहन अध्ययन गरी किताबको समीक्षात्मक लेख लेखी प्रकाशन गर्नुभयो । मेरो जीवनको बारेमा त्यतिबेला नाटकमा गरेको अभिनयका साथै विविध पाटोलाई चर्चा गरेर बाल्यकालको सम्झना गराइदिनुभएकोमा उहाँप्रति म ज्यादै नै आभारी छु । 
अन्तमा
डा. इन्दुल केसीलाई उहाँको उमेरको हिसाबले अहिलेसम्म सक्रिय जीवनबाट धेरै मानिसहरुलाई पे्ररणा मिलेको छ, त्यसभित्र म पनि परेको छु । म एउटा रङ्गकर्मीले देखेको डा. केसीजीको क्रियाकलापहरुको वर्णन गर्न मैले सकुँला र ? तैपनि केही शब्दहरु लेख्न साहस गरेँ । उहाँप्रति म सदैव आभारी छु । भक्तपुर जिल्लाका गहणाका रुपमा डा. इन्दुल केसी थापित भइसक्नुभएको छ । यसरी उहाँको सक्रिय जीवनले नेपाली साहित्य, कला, संस्कृति र समाजसेवामा अझै उहाँको शक्ति बढोस् भन्दै शुभकामनाका साथ शुभभावना व्यक्त गर्दछु । 

 

Comments