मौन स्पर्श


चैत ८, २०८१, शनिबार | विहान ०१:४४ बजे | 35


मौन स्पर्श

सायद यो शब्दले मेरो मनमा अनौठो ज्वाला सल्काउँथ्यो। कुनै अस्पष्ट तृष्णा, कुनै अधुरो सपना—सबै यही शब्दभित्र कैद भएजस्तो लाग्थ्यो। पहिलो पटक विद्यालयको पछाडि रहेको बगैंचामा पुग्दा मैले उनलाई देखें। लामो, कालो कपाल, उज्यालो अनुहार, अनि गालामा सानो कोठी—एक अनौठो परिचय बोकेको त्यो मुहार। उनको आँखामा केही चिरपरिचित जस्तो झल्किन्थ्यो, मानौँ हामी कतै, कहिल्यै भेटिसकेका थियौँ। उनको नजर मेरो अनुहारमा अडियो। "तिमी तक्षक होइनौ न?" मेरो मुखबाट आवाज निस्केन। बोल्न चाहन्थेँ, तर शब्दहरू अड्किए। केही समयपछि बल्ल संकलन गर्दै भनेँ, "म... मेरो नाम तक्षत हो।" उनले हल्का मुस्काउँदै भनिन्, "तिमी मलाई चिन्नौ त? म तिलान्जली। हामी कार्यक्रममा भेटेका थियौँ, सम्झन सक्छौ?" उनको स्वर नम्र थियो, सरल थियो। तर, त्यसभित्र कुनै बेग्लै स्पर्श थियो, जसले मेरो मनलाई अर्को संसारमै पुर्यायो। त्यो दिन अत्यधिक गर्मी थियो। लोकल बसको भीडमा सबै पसिना-पसिनाले छटपटाइरहेका थिए, तर मलाई कुनै असजिलो लागेको थिएन। "किन उभिएको? बस्नू न, यहाँ सिट खाली छ," उनले भनिन्। म केही नबोली बस्न पुगेँ। मेरा छालाहरूमा पसिनाका थोपा थिए, अनुहारमा केही थकान झल्किन्थ्यो। उनी केही बेर मलाई नियालिरहिन्। "तिमी पहिलाभन्दा धेरै दुब्लाएका छौ। सबै ठीक त छ?" मैले हल्का मुस्कानसहित भनेँ, "त्यस्तो केही होइन, सबै ठीक छ।" अचानक, उनले गम्भीर भएर भनिन्, "मैले सामाजिक सञ्जालमा तिमीलाई खोजेकी थिएँ। भेटिनँ।" मैले हतारमै जवाफ दिएँ, "के काम थियो त?" उनले हल्का आँखा तेस्र्याउँदै भनिन्, "साथीसँग कुरा गर्न पनि कुनै काम हुनुपर्छ र?" त्यो वाक्य सुनेर म केही छक्क परेँ। मेरो मनमा अनेकौं प्रश्नहरू उत्पन्न भए। म केही बोल्न चाहन्थेँ, तर बस मेरो स्टपमा रोकियो। "अब म जान्छु है!" भन्दै म गाडीबाट ओर्लिएँ। त्यो दिन काममा अल्झिएर दिनभरि फोन हेरिनँ। राति करिब साढे नौ बजे जब बिस्तारमा पल्टिएर फोन खोलें, उनको म्यासेज आइसकेको थियो— "के तिमी खाली छौ?" मैले शिष्टतासाथ जवाफ दिएँ, "दिउँसो काम थियो, अहिले खाली छु।" त्यसपछि हाम्रो कुराकानी दिनदिनै हुन थाल्यो। एक हप्ता, दुई हप्ता, अनि एक महिना बितिसकेको पत्तै भएन। ‘हजुर’ बाट ‘तिमी’ सम्मको यात्रा कसरी भयो, थाहा नै भएन। सायद यो प्रेम थियो। म आफूलाई रोक्न चाहन्थेँ। उनीसँग नजिकिन नचाहेर पनि उनको शब्दहरू, उनको मिठासले मलाई तानिरहेको थियो। उनी कहिले ‘पढाइ कस्तो छ?’ भन्थिन्, कहिले ‘खाना खायौ?’ मात्र सोध्थिन्। म भने बिस्तारै टाढा हुन खोज्दै थिएँ। मेरो गरिबी, मेरो सीमितता—सबै कारण बनेर। एक दिन, म मौन भएँ। सन्देशहरू कम हुन थाले। पहिले सातामा एक दिन, अनि महिनामा दुई दिन मात्र। सायद मैले आफ्नो कारणले उनीबाट टाढा हुनुपर्ने अवस्था थियो। तर, मनले त्यो दूरी स्विकार्न सकेको थिएन। मौन स्पर्श! सायद उनको माया शब्दहरूमा सीमित थिएन, त्यो मौनतामा थियो, त्यो हल्का मुस्कानमा थियो, त्यो नजरमा थियो। अनि मेरो प्रेम? म स्वयं बुझ्न सकिरहेको थिइनँ| सागर बहादुर बडुवाल

Comments