ताथलीमा वागमती प्रदेशस्तरीय प्रथम धिमय बाजा प्रतियोगिता २०८१ हुने


पुष ११, २०८१, बिहीबार | विहान १०:४० बजे | 90


ताथलीमा वागमती प्रदेशस्तरीय प्रथम धिमय बाजा प्रतियोगिता २०८१ हुने

चाँंगुनारायण । वागमती प्रदेशस्तरीय प्रथम धिमय बाजा प्रतियोगिता २०८१ हुने हुने भएको छ । चाँंगुनारायण नगरपालिकाले विहीबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । सम्मेलनमा चाँंगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले प्रतियोगिता पुस २० गते शनिबार ताथलीमा हुने जनाए ।
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु, 
आजको कार्यक्रममा हाम्रो निमन्त्रणा स्वीकार गरी यस परिसरमा आउनु हुने सम्पूर्ण सञ्चारकर्मी तथा विभिन्न तह र तप्काबाट आउनुहुने सबैमा हार्दिक स्वागत गर्न चाहन्छौं । 
कला संस्कृतिको राजधानी नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुरको चार पालिकामध्ये चाँगुनारायण नगरपालिका पुरातात्त्विक, ऐतिहासिक, धार्मिक, पर्यावरणीय र पर्यटकीय नगरी हो । विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण मन्दिरले मात्र यो नगरपालिका सुशोभित छैन । यो नगरपालिकाका वडा नं. १ देखि ९ नं. वडा विभिन्न सांस्कृतिक सम्पदाहरू युक्त छन् । नेवार, तामाङ, मगर, क्षेत्री, बाहुनलगायतका जातजातिहरूमा विद्यमान कला संस्कृतिको धनी शहर चाँगुनारायण यस क्षेत्रमा रहेका अनगिन्ती मूर्त– अमूर्त सम्पदामा पनि सम्पन्नशाली छ । यस्तै सम्पदाहरूमध्ये एक महत्त्वपूर्ण सम्पदा हो, ’धिमय् बाजाझ । 
पृष्ठभूमि एवम् किंवदन्ती 
धिमेबाजाको प्रचलन महादेव र भगवतीको किंवदन्तीमा जोडिन्छ। कुनै समय महादेव र भगवतीबीच मतभेद भयो। मतभेदसँगै सन्तानलाई कसले राख्ने विवाद भयो। विवाद लुछाचुडीमा बदलियो। सोही क्रममा एक जनासँग कंकाल (हड्डीमात्र भएको शरीर) र अर्कोसँग ख्याक (मासु मात्र भएको शरीर) भए।  कालान्तरमा कंकाल र ख्याक नकारात्मक शक्तिको रूपमा विकसित भए। यसले महादेवलाई दुखित तुल्यायो। उनी पृथ्वीको जंगलमा आएर लठ्ठीले ढ्याङग्रो जस्तो बाजा बजाए। जुन पछि गएर धिमेको रूपमा परिणत भयो। 
नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका लागि नरेश प्रजापतिले तयार पारेको ‘नेवारी समाजमा प्रचलित धिमे बाजा समूह (खलः),नामक शोधपत्रमा धिमे शब्दमा ‘धि’ भनेको नेपाल भाषामा काठको धिक्का, डल्लो र ‘मे’ भनेको छाला अर्थात् मन नपर्ने छाला भनिएको छ। शोधपत्रका अनुसार प्राचीनकालमा मानिसहरू जनावरको मासु खाने तर छाला मन नपराउने भएकाले त्यसलाई फालिन्थ्यो। यसरी फाल्दा काठको धिक्का अर्थात् भित्र खोक्रो परेको काठको ढिक्कामा राखी त्यसमाथि केही कुरा फाल्दा या त्यो सुकिसकेपछि हान्दा आवाज निस्कियो। यसरी यसबाट आवाज निस्कँदा यसको प्रयोग बिस्तारै जनावर धपाउनमा पनि हुन थालेको शोधपत्रमा उल्लेख छ।
धिमे नेवार समुदायमा सर्वाधिक प्रचलित बाजा हो । नेवाः समुदायमा धिमे बाजा उत्सवको बाजा हो। जात्रा, पर्व मात्र नभई व्रतबन्ध जस्ता सामाजिक कार्यमा पनि बजाइन्छ । धिमे मनोरञ्जनको लागि पनि प्रयोग हुने गरेको छ। धिमेको ताल संरचनाको कारण पनि यो बाजा अन्यको तुलनामा भिन्न छ । उक्त बाजाबाट निस्कने आवाज र त्यसको घनत्वले हरकोही स्रोताको मस्तिष्कमा झंकार गर्ने र उत्तेजना पैदा गर्ने गर्दछ। धिमेसँगै बज्ने भुस्या (काशबाट बनेका दुई ठूला बाजा) को समिश्रणबाट पनि सुन्दर ध्वनी पैदा गर्छ।  । यसैले पछिल्लो समयामा यो बाजाप्रति नेवार समुदायका अलावा अन्य समुदायको विशेष आकर्षण छ ।
किन वागमती प्रदेशस्तरीय धिमय् बाजा प्रतियोगिता ?
पछिल्लो समयमा धिमय् बाजाप्रति नयाँ पुस्ताको आकर्षण बेग्लै छ । धिमय् प्रशिक्षण बढ्दो छ । काठमाडौं उपत्यकाका तीन जिल्लाहरूमा मात्र नभई धिमय् वागमती प्रदेशका अन्य जिल्लाहरूमा पनि विद्यमान छ । मौलिक कला संस्कृतिको द्योतकको रूपमा परिचित धिमय् बाजाप्रति बढ्दो आकर्षणलाई हामीले चाँगुनारायण नगरपालिकामा विद्यमान पर्यटनको सम्भावनासँग जोड्नका लागि यो प्रतियोगिताको कल्पना गरिएको हो । चाँगुनारायण नगरपालिकाले वि. सं. २०८२ लाई नगरकोट भ्रमण वर्ष घोषणा गरिसकेको अवस्थामा उक्त भ्रमण वर्षलाई वडावडामा पुर्याउन तथा भ्रमण वर्ष सफल बनाउनका लागि वागमती प्रदेशस्तरीय प्रथम धिमय् बाजा सम्पन्न गर्न लागेका हौं । यसका साथै यस प्रतियोगिताका उद्देश्यहरू निम्न छन् ः
१. परम्परागत बाजामा युवा आकर्षण तथा पुस्तान्तरण  ।
२. नेपाली पराम्परा संस्कृति, कला, बाजा तथा भाषाको संरक्षण र संवद्र्धन गर्ने ।
३. चाँगुनारायणमा आन्तरिक पर्यटकहरु बढाउने।
४. नगर भित्र (वडागत)का मूर्त–अमूर्त कला संस्कृतिको जगेर्ना गर्ने ।
प्रतियोगिता सम्बन्धि जानकारी
प्रतियोगिता मितिः २०८१ पुस २० गते शनिबार
स्थानः चाँगुनारायण न.पा. वडा नं. ९, ताथली फाँट
फाराम पाइने स्थानः चाँगुनारायण न.पा.को कार्यालय, खरिपाटी र नगरपालिकाको वेभसाइट ।
फाराम बुझाउने स्थानः चाँगुनारायण न.पा.को कार्यालय, खरिपाटी
फाराम बुझाउने अन्तिम मितिः २०८१ पुस १५ गतेसम्म 
दर्ता शुल्कः प्रति समूह रु. १०००÷– मात्र
निर्णय प्रक्रिया र अङ्कभार 
प्रतियोगितामा निम्न अनुसारको अंक भार प्रदान गरिने छ ।
बोल ः २०%
ताल ः १५%
स्पष्टता ः १५%
लय ः १०%
हाउभाउ ः १०%
अनुशासन ः १०% 
पहिरन ः १५%
समयः ५%
जम्माः  १००%
यी माथिका अङ्कभारका लागि बेग्लाबेग्लै निर्णायकको बन्दोबस्त गरिने छ । निर्णायकहरू सम्बन्धित विषय र क्षेत्रमा विशेषज्ञता हासिल गरेका हुने समेत जानकारी गराउँदछौ ।
थप जानकारी 
१.वागमती प्रदेशको जुनसुकै ठाउँको समुदाय÷क्लब÷संघ÷संस्था÷समूह÷दाफा÷भजन÷खलः÷विद्यालयका १ टोलीले मात्र यस प्रतियोगितामा नाम दर्ता गर्न पाउने छ । नाम दर्ता गराउँदा समूहको नाम र सहभागीहरुको नाम पनि समावेश गर्नुपर्नेछ । साथै, नगरपालिकाबाट प्रकाशन गरिने बुलेटिन प्रयोजनार्थ समूहको सामूहिक फोटो पनि समावेश गर्नुपर्नेछ ।
२. यस प्रतियोगितामा सहभागी समूहहरुले परम्परागत धिमय् बाजाको बोललाई विशेष प्राथमिकता दिइनेछ ।
३. प्रतियोगितामा धिमय् बोली अन्तर्गतको “घुँ”, “ख”, “ता” स्पष्ट सुनिनु पर्नेछ ।
४. प्रत्येक सहभागी समूहलाई धिमय् बजाउन ५ मिनेटको समय दिइने छ । ४ मिनेट पछि समय सकिन लागेको संकेत स्वरुप जनाउ संकेत दिइनेछ र त्यसपछिको १ मिनेटभित्रमा प्रस्तुति सकाउनु पर्नेछ । समयभन्दा बढी समय लिएमा प्राप्ताङ्क घटाइनेछ ।
५. सहभागी समूहले प्रतियोगिताको लागि आवश्यक धिमय्, भुछ्या र सिछ्या वा अन्य बाजाको व्यवस्था आफैले गर्नुपर्नेछ ।
६. प्रतियोगितामा नेवारी संस्कृति ख्यालमा राखी अनुशासित भई धिमय्, भुछ्या र सिछ्यासहित स्टेज कभर गरी हाउभाउ दिनुपर्नेछ । भड्किलो हाउभाउ भएमा प्रतियोगितामा मान्यता दिइने छैन ।
७. धिमय् बाजाको बोल÷ताल भन्नाले धिमय् बाजा बजाउँदा धिमय् र भुछ्या वा सिछ्याको ताल÷सुरको समायोजन भन्ने हुने जानकारी गराउँदछौ ।
८.प्रतियोगितामा परम्परागत नेवारी पोशाक हुनुपर्ने छ । आधुनिक शैलीको नेवारी पोशाकलाई मान्यता दिइनेछैन्।
९. प्रतियोगितामा प्रत्येक समूहबाट ४ जनाले मात्र प्रस्तुति दिन पाउनेछ । जसअन्तर्गत धिमय् बादक २ जना, भुछ्या वा सिछ्या बादक २ जना हुनुपर्ने छ ।
१०. निर्णायक मण्डलको निर्णय नै अन्तिम निर्णय हुनेछ । कुनै विवाद आएमा निर्णायकहरुको राय, सल्लाह बमोजिम नगरपालिकाले गर्ने निर्णय नै अन्तिम निर्णय हुने छ ।
११.सहभागी प्रतियोगीहरुले प्रतियोगिता शुरु हुनु आधा घण्टा अगाडी नै टाइसेट बुझी लिनु पर्ने छ र सोहि अनुरुप उपस्थित नभई प्रतियोगिताबाट बहिरिएमा आयोजक जिम्मेवार हुने छैन ।
पुरस्कारः
१. प्रथम ः रु. ५०,०००÷– सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या २ थान, सिछ्या   २ थान
२. द्वितीय ः रु. २५,०००÷– सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या१ थान, सिछ्या १ थान
३.तृतीय ः रु. १०,०००÷– सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या१ थान
४. सान्वना ः रु. ५,०००÷– सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान
५. उत्कृष्ट प्रस्तुति (निर्णायक छनोट) ः धिमय् बाजा १ थान
६. उत्कृष्ट छैटौंदेखि १० औं स्थानसम्म ः भुछ्या १–१ थान
७. सहभागी सम्पूर्ण समूहलाई मायाको चिनो
विशेष आकर्षणः नेवारी खाजा÷ खाना स्टल ः स्थानीय मौलिक खाना÷ खाजालाई प्राथमिकता दिन र सो खानाको प्रवद्र्धनका लागि विशेष आकर्षणका रूपमा नेवारी खाना÷ खाजाको स्टल रहने छ । 
ताथलीमै किनः
’कृषि, पर्यटन र सामाजिक पूर्वाधार, समृद्ध चाँगुनारायणको मूल आधारझ को नारा बोकेको यस नगरपालिकाले वडा नं. ९ ताथलीलाई चिन्न र चिनाउन, यस वडामा रहेका विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्वका सम्पदाहरूको पहिचान, प्रवद्र्धनमा सहयोग पुर्याउनमा लागि पनि ताथली रोजिएको हो। साथै नगरकोट भ्रमण वर्ष २०८२ लाई वडा तहमै पुर्याइ यसलाई सफल बनाउने सिलसिला अन्तरगत यो कार्यक्रम वडा नं. ९ मा गर्न लागेका छौ । यसले भ्रमण वर्षलाई थप प्रभावकारी बनाउने हाम्रो अपेक्षा हो । यो स्थान ऐतिहासिक महत्त्वका साथै एसियामै दुर्लभ मानिएको चट्टान अभिलेख र धार्मिक महत्त्वको आदि ब्रम्हायणी( ठूली ब्रम्हायणी)को काखमा रहेको छ । चाँगुनारायण नगरपालिकाको गौरवको आयोजनाको रूपमा रहेको चाँगुनारायण फाष्टट्रयाक सडक खण्डको सुडाल– ताथली खण्डको बाला टोलमा रहेको छ । कार्यक्रम स्थलबाट कलमसी, खावाको सहजै दृष्यपान गर्न सकिन्छ र सो ठाउँ हुँदै सहजै पर्यटकीय नगरी नगरकोट पुग्न सकिन्छ ।
बजेट
यो प्रतियोगिताका लागि हामीले ११ लाख रूपैयाँको बजेट अनुमानित गरेका छौं । 
अपेक्षाः
यस प्रतियोगितामा काठमाडौं उपत्यकाका साथै काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, नुवाकोट, धादिङ लगायतका जिल्ला र ती जिल्लाका नगरपालिका, गाउँपालिकामा रहेका  समुदाय÷क्लब÷संघ÷संस्था÷समूह÷दाफा÷भजन÷खलः÷विद्यालय गरि करिब ५० वटा टोलीको सहभागिता रहने अपेक्षा गरेका छौं । यसका लागि हामीले यस प्रदेशमा रहेका सबै स्थानीय तह ( ८४ वटा गाउँपालिका, ४१ वटा नगरपालिका, १ वटा उपमहानगरपालिका र ३ वटा महानगरपालिका) लाई इमेलमार्फत पत्राचार गरिसकेका छौं।
अन्त्यमा, यस प्रतियोगिताको बारेमा यहाँहरुको प्रतिष्ठित सञ्चार माध्यमहरुबाट समाचार प्रकाशन तथा प्रशारण गरी प्रचार प्रसारमा सहयोग गर्नुहुने कुरामा हामी आशावादी छौं। आजको कार्यक्रममा तपाईंहरूको सक्रिय सहभागिताको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
आयोजकः
चाँगुनारायण नगरपालिका खरिपाटी, भक्तपुर, वागमती प्रदेश, नेपाल
मितिः २०८१ पुस ११ गते ।

Comments