राजाबाट फाइदा लिने राप्रपाका नेताहरु राजसंस्थाको मुद्दा त्याग्न कोठे वैठक
चैत २३, २०८२, सोमबार | राति ०९:५२ बजे | 35
काठमाडौं । राजाबाट सबैभन्दा बढी फाइदा लिने राप्रपाका नेताहरु राजाविरुद्ध परिचालित भएर राजसंस्थाको मुद्दा त्याग्न कोठे वैठक गरिरहेको राप्रपा केन्द्रीय सदस्यले खुलासा गरेका छन् ।
‘जसले राजाको नाममा सबभन्दा बढी फाइदा लिए तिनिहरु नै राजाको विरुद्ध क्याम्पेन चलाइरहेका छन्,’ राप्रपाका केन्द्रीय सदस्य गोपाल पौडेलले भने । ‘राजाको एजेन्डा छोड्नुपर्छ भनेर कोठे छलफल चलाइरहेका सुनिन्छ ।’
लज्जास्पद चुनावी हारलगत्तै राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले ‘एजेन्डा परिवर्तन’ गर्ने जनमत प्राप्त भएको बताएका थिए । प्रवक्ता श्रेष्ठ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको मुखपत्र मानिन्छ । त्यस्तै पूर्वअध्यक्ष कमल थापाले हिन्दु राष्ट्रको मुद्दामा बालेन्द्र शाह सरकारलाई सहयोग गर्ने भनेर संवैधानिक राजसंस्थाको विषयमा अर्थपूर्ण मौनता साँधेका थिए ।
राप्रपा स्रोत अनुसार, यसबीच पार्टी उपाध्यक्ष बुद्धिमान तामाङ समेतको सहभागितामा उपाध्यक्ष ध्रुवबहादुर प्रधानको निवासमा लिङदेननिकट नेताहरुको वैठक सम्पन्न भएको थियो जसमा राजसंस्थाको एजेन्डा परिवर्तन गर्ने छलफल चलेको थियो । पूर्वसांसद दिपक सिंह र सांसद खुश्ब ओलीले पनि पार्टीभित्र एजेन्डा परिवतन गर्नुपर्दछ भनेर धारणा राख्ने गरेका छन् ।
राप्रपाभित्र विकसित घटनाक्रम इंतिग गर्दै पौडेलले सामाजिक संजालमा आइतबार भने, ‘जस जसले राप्रपाबाट बढी फाइदा लिए तिनिहरु नै अहिले राप्रपा विरुद्ध रोइलो गरिरहेका छन । राप्रपा सकिन्छ अब उठ्दैन पार्टी छोडनुपर्छ भनेर एकथरी सामाजिक संजालमा रोइलो गरेको देख्छु ।’
राप्रपा कहिल्यै सकिदैन र पार्टीको एजेन्डा पनि परिवर्तन हुन सक्दैन, उनले भने ।
पौडेलको भनाइमा सहमति जनाउँदै केन्द्रीय सदस्य सुरेश आचार्यले भने, ‘राप्रपा मर्दैन’ किनकि स्वार्थ र आशक्ति भएका सानो झुण्डले राप्रपालाई निजी हित जगेर्ना र फाइदा उठाउन चलाइरहन्छन् । ‘कोमा मै गए पनि राप्रपा चलिरहन्छ । यो कुरामा सत्यता छ ।’
आचार्यले भने, ‘तर मेरो विचारमा राप्रपा हरेक राजनीतिक दृष्टिकोणले ह्रासोन्मुख दल हो, यो राजनीतिक रूपमा धरासायी हुने अन्तिम घिडघिडोको अवस्थामा पुगेको छ ।’
गणीतिय, वैज्ञानिक आधारमा २०४८ को चुनावभन्दा २०८२ मा राप्रपाको तीन चौथाई जनसमर्थन र गुण समाप्त भइसकेको छ, उनले भने ।
लोकेन्द्रबहादुर चन्द र सुर्यबहादुर थापाको नेतृत्वकालदेखि राजेन्द्र लिङदेन अध्यक्ष भएको वर्तमान अवस्थामा पुग्दा राप्रपा ‘बाल-बाल’ राष्ट्रिय पार्टी भएको छ । ‘यही औसत दरमा ह्रास हुने हो भने राप्रपा अर्को चूनावदेखि कहिले पनि राष्ट्रिय स्तरको पार्टी बन्नै नसक्ने अथवा प्रजा परिषदमा सिमित रहने मेरो निष्कर्श हो,’ नेता आचार्यले भने ।
राप्रपा छाडेका रवीन्द्र मिश्रले भने राप्रपा सच्चिने कि सक्किने भनेर लेख लेखेका छन् । राप्रपाभित्रको शीर्ष एक तहले राप्रपालाई सुधार हुनै नदिने संकेत गर्दै पूर्वउपाध्यक्ष मिश्रले राप्रपा नसच्चिए अर्कैै राष्ट्रवादी धारको मध्यम दक्षिणपन्थी दलबाट राप्रपा विस्थापित हुने निष्कर्ष प्रस्तुत गरेका छन् ।
