‘राष्ट्रिय खेल अधिकार संगठन’ गठन, अध्यक्षमा मोहन दँगाल
चैत २४, २०८२, मङ्गलबार | साँझ ०४:०० बजे | 85
काठमाडौं, २४ चैत्र । बालबालिकाको खेल्न पाउने नैसर्गिक अधिकारको वकालत गर्न ‘राष्ट्रिय खेल अधिकार संगठन नेपाल’ गठन गरिएको छ । चाइल्ड नेपालको अगुवाइमा भएको भेलाले अधिकारकर्मी मोहन दँगालको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
चाइल्ड नेपालका कार्यकारी निर्देशक रहेका दँगाल संगठनको संस्थापक अध्यक्ष र चेन्ज एक्सन नेपालकी कार्यकारी निर्देशक इन्दिरा घले संस्थापक सचिवमा चयन भएका छन् ।
बालअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूलाई समेटेर बनाइएको यस सञ्जालमा संरक्षण नेपाल, युनाइटेड कम्युनिटी नेपाल, दृष्टिविहीन क्रिकेट संघ, खेतान स्पोर्ट फाउन्डेसन, दिशा फाउन्डेसन, भ्वाइस अफ चिल्ड्रेन र रोयम नेपाल संस्थापक सदस्य रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष दँगालले खेल बालबालिकाको अतिरिक्त क्रियाकलाप मात्र नभएर समग्र विकाससँग जोडिएको मौलिक अधिकार भएको बताए ।
“खेलमार्फत बालबालिकाले सामाजिक सम्बन्ध निर्माण गर्छन्, आत्मविश्वास र सिर्जनशीलता बढाउँछन्,” उनले भने, “तर, अहिले सहरीकरण, खुला चौरको अभाव, शैक्षिक दबाब र मोबाइल/इन्टरनेटको लतले बालबालिकाको खेल्न पाउने अधिकार खोसिएको छ ।” नेपालमा खेललाई बालअधिकारको आँखाबाट हेर्ने दृष्टिकोण कमजोर रहेको भन्दै उनले त्यसलाई नीति र बजेटसँग जोड्न संगठनले काम गर्ने स्पष्ट पारे ।
नवगठित समितिले आगामी दिनमा बालबालिकाको सुरक्षित खेल वातावरणका लागि अनुसन्धान गर्ने, जनचेतना जगाउने र स्थानीय तहदेखि केन्द्र सरकारसम्म नीतिगत पैरवी गर्ने जनाएको छ ।
.jpeg)