विस्का जात्राबारे बैठकः कसले के भने ?
चैत २४, २०८२, मङ्गलबार | साँझ ०४:२७ बजे | 85
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा बिस्का जात्रा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ। बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रालाई सभ्य, सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक तयारी भइरहेको जानकारी गराउनुभयो। उहाँले जात्रालाई व्यवस्थित समयमा सणचालन गर्न नगरबासीहरुलाई आग्रहगरी पर्चा वितरण कार्य समेत भइरहेको बताउँदै जात्रा मर्यादित रुपमा सम्पन्न गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। साथै उहाँले बिस्का जात्रा शान्तिपूर्ण रूपमा मनाउन र कुनै किसिमको अप्रिय घटना हुन नदिन सबैलाई सचेत रहन आग्रह गर्नुभयो।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बिस्का जात्रा हाम्रो मौलिक सम्पदा भएको उल्लेख गर्दै यसलाई अनुशासित र सभ्य ढंगले मनाउनुपर्ने बताउनुभयो। उहाँले जात्राको वेला विदेशी पर्यटकसमेत आउने भएकाले सभ्य व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो। विगतमा अवाञ्छित गतिविधिमा संलग्नलाई कारबाही गरिएको स्मरण गराउँदै यस वर्ष पनि त्यस्ता गतिविधि नियन्त्रण गरिने स्पष्ट पार्नुभयो। साथै, जात्रामा प्रयोग हुने काठहरू नयाँ तथा सुरक्षित बनाउन निर्देशन दिनुभयो।
गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले बिस्का जात्राको कार्यतालिकाबारे विस्तृत जानकारी गराउनुभयो।
बैठकमा नगरपालिकाका जनप्रतिनिधि, जात्रा व्यवस्थापन समिति, विभिन्न मन्दिरका पुजारी, भैल नायो, ख्वप अस्पताल, नेपाल विद्युत प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकम, भैरवनाथ नौबाजा दाफा भजन समूह, जिल्ला प्रहरी परिसर भक्तपुर, ट्राफिक प्रहरी, जुद्ध वारुण यन्त्र तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैठकका मुख्य निर्णयहरू यसप्रकार छन् ः
१. भक्तपुरको ऐतिहासिक तथा साँस्कृतिक विस्का जात्रा मर्यादित र भव्य रुपमा सम्पन्न गर्न सरोकारवाला संघ संस्थाहरुबाट हालसम्म भए गरेका तयारी बारे छलफल गरियो ।
२. बिस्का जात्रा मर्यादित र भव्य रुपमा सम्पन्न गर्न गुठी संस्थान भक्तपुरबाट तयार पारेको कार्य तालिका अनुसार मिति २०८२ चैत्र २७ गते दिनको ३ः०० बजे भैरवनाथको रथ तानी जात्रा शुरु गर्ने र साँझ ६ः०० बजे सम्पन्न गर्न सम्बन्धित सबैले आ–आफ्नो जिम्मवारीका पूजा–आजा, भजनलगायत सम्पूर्ण गतिविधि समयमै सम्पन्न गर्ने ।
३. बिस्का जात्रा व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न मिति २०८२ चैत्र २७ गते र मिति २०८३ बैशाख ५ गते भैरवनाथको रथ पूर्वमा सुकुलढोका बुलबुल हिटीसम्म र पश्चिममा नासमनासम्म मात्र लान सम्पूर्ण जनसमुदायमा अनुरोध गर्ने ।
४. बिस्का जात्रालाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न जनसमुदायमा अनुरोध गर्दै भक्तपुर नगरपालिकाबाट बिस्काजात्रा सम्बन्धी पर्चा वितरण गर्ने ।
५. भक्तपुरको प्रसिद्ध बिस्का जात्रा र नयाँ वर्ष २०८३ सम्बन्धी शुभकामना याली र सभा देहायको मिति, समय र स्थानमा गर्ने ः मिति ः २०८२ चैत्र २७ गते, शुक्रबार याली सुरु हुने समय ः बिहान ७ः०० बजे याली सुरु हुने स्थान ः भ.न.पा १, इनागबाट (१ देखि ५ वडासम्मका सहभागीहरु) ः भ.न.पा ९, दत्तात्रयबाट (६ देखि १० वडासम्म सहभागीहरु) सभा हुने स्थान ः भ.न.पा ५, टौमढी
