स्वास्थ्य, खुशी र ज्ञानको यात्रा थाइल्याण्डसम्म


चैत २४, २०८२, मङ्गलबार | दिउँसो १२:४० बजे | 50


स्वास्थ्य, खुशी र ज्ञानको यात्रा थाइल्याण्डसम्म

ध्वनि चिकित्सा तालिमले अन्तर्राष्ट्रिय स्तरमा नयाँ सम्भावना उजागर
ब्याङ्कक, थाइल्याण्ड —
पूर्वीय आध्यात्मिक ज्ञान र आधुनिक जीवनशैलीबीच सन्तुलन कायम गर्ने उद्देश्यले श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेसन ले थाइल्याण्डको राजधानी ब्याङ्ककमा पाँच दिवसीय साउन्ड हिलिङ (ध्वनि चिकित्सा) तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।
एप्रिल १ देखि ५ तारिखसम्म सञ्चालन भएको ४८ घण्टे तालिम हिमालयन इनोभेट को आयोजनामा तथा दुर्गा आर्ट एन्ड हेन्डिक्राफ्ट, काठमाडौँ को संयोजनमा सम्पन्न भएको हो। तालिमलाई श्रीहरि सेल्फ रियलाइजेसनल  फाउन्डेसन, भक्तपुरका संस्थापक चन्द्रहरी कायस्थ ले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा थाइल्याण्ड, भियतनाम, भारत र नेपालका गरी १० जना सहभागी थिए। सहभागीहरूमा गृहिणी, विद्यार्थी, व्यवसायी, समाजसेवी, प्राध्यापक तथा स्वास्थ्यकर्मीहरू समेत रहेका थिए। तालिममा योग, ध्यान, आयुर्वेद, जीवनशैली व्यवस्थापन तथा नादयोगसँग सम्बन्धित सिद्धान्त र अभ्यासलाई समेट्दै ध्वनि चिकित्सालाई वैज्ञानिक र आध्यात्मिक दुवै दृष्टिकोणबाट प्रस्तुत गरिएको थियो।
 स्वास्थ्य र आत्मचेतनामा जोड
तालिमको क्रममा प्रशिक्षक कायस्थले व्यक्तिगत स्वास्थ्य व्यवस्थापनमा आत्म-जिम्मेवारीको महत्व उल्लेख गर्दै “स्वास्थ्य हाम्रो आफ्नै हातमा हुन्छ” भन्ने सन्देश दिनुभयो। उहाँका अनुसार सन्तुलित आहार र जीवनशैलीले शारीरिक स्वास्थ्य सुदृढ बनाउँछ भने सकारात्मक सोच र ध्यान अभ्यासले मानसिक तथा आत्मिक सन्तुलन कायम गर्न मद्दत पुर्‍याउँछ।
उहाँले ध्वनि चिकित्सालाई हालको तनावग्रस्त विश्व परिवेशमा उपयोगी, सुरक्षित र सुलभ उपचार विधिको रूपमा प्रस्तुत गर्दै यसले तनाव व्यवस्थापन र समग्र स्वास्थ्य प्रवर्द्धनमा योगदान पुर्‍याउन सक्ने बताउनुभयो। साथै, यस क्षेत्रमा सीप हासिल गर्नु व्यक्तिका लागि नयाँ पेशागत अवसरका रूपमा समेत विकास हुन सक्ने उहाँको भनाइ थियो। चैत्र नवरात्र जल उपवास साधना  पश्चात लगत्तै उहाँ थाइल्याण्ड पुग्नुभएको पनि बताउनुभयो
अन्तर्राष्ट्रिय सहकार्य र विस्तार
कार्यक्रमको समापन सत्रमा नेपालका लागि थाइल्याण्डस्थित राजदूत धनबहादुर ओली ले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै यस्ता कार्यक्रमहरूले योग, ध्यान र वैकल्पिक उपचार पद्धतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो। उहाँले भविष्यमा यस्ता पहलहरूलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
हिमालयन इनोभेटकी सहसंस्थापक शर्मिला स्याङतानका अनुसार थाइल्याण्डमा यो चौथो पटक तालिम सञ्चालन गरिएको हो र आगामी दिनमा थप कार्यक्रमहरू आयोजना गर्ने तयारी भइरहेको छ।
संस्थापक अनिश ब्लोन लामाले यस्ता आध्यात्मिक पहलहरूले व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्दै भविष्यमा अस्ट्रेलिया र चीन जस्ता देशहरूमा समेत विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।
 
फाउन्डेसनले हालसम्म १०५ भन्दा बढी देशका व्यक्तिहरूसम्म आफ्नो ज्ञान र अभ्यास पुर्‍याइसकेको जनाएको छ। यसक्रममा थाइल्याण्ड ३३औँ देश बनेको छ, जहाँ प्रत्यक्ष रूपमा तालिम सञ्चालन गरिएको हो।
सहभागीहरूले तालिमलाई प्रभावकारी, व्यावहारिक र जीवनशैली परिवर्तनमा सहयोगी अनुभवको रूपमा वर्णन गरेका छन्।
  
ध्वनि चिकित्सा जस्तो परम्परागत ज्ञानलाई आधुनिक सन्दर्भमा पुनःप्रस्तुत गर्दै यस्ता कार्यक्रमहरूले विश्वभर स्वास्थ्य, मानसिक सन्तुलन र आत्मचेतनाको प्रवर्द्धनमा योगदान पुर्‍याइरहेका छन्। साथै, यसले व्यक्तिलाई सीप, आत्मनिर्भरता र अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने सम्भावना समेत देखाएको छ।

Comments