बिस्का जात्राको तयारी तीव्र: गुठी संस्थानद्वारा कार्यतालिका सार्वजनिक
चैत २४, २०८२, मङ्गलबार | साँझ ०५:०२ बजे | 70
भक्तपुर भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक बिस्का (बिस्केट) जात्रा २०८२/०८३ लाई व्यवस्थित रूपमा सञ्चालन गर्न गुठी संस्थान शाखा कार्यालय भक्तपुरले औपचारिक कार्यतालिका सार्वजनिक गरेको छ।
जात्राको सुरुआती चरणका धार्मिक विधिहरूलाई समेटेर सार्वजनिक गरिएको यस तालिका अनुसार चैत्र २६ गतेदेखि विशेष पूजाआजा र जात्राका प्रक्रियाहरू सुरु हुनेछन्।
प्रमुख धार्मिक विधि र कार्यतालिका:
१. चैत्र २६ गते: जात्राको प्रारम्भिक दिनमा पूजा सामग्री, सुकुन्दा र बाजागाजासहित भक्तपुर सल्लाघारीस्थित च्वंगा गणेशस्थानमा जाने र त्यहाँबाट 'खड्ग' ल्याई गुठी कार्यालयमा भित्र्याउने कार्यक्रम रहेको छ। यस कार्यमा खड्ग बोक्ने, छाता ओढाउने र सुकुन्दा बोक्ने व्यक्तिहरूका साथै कुस्लेहरूले बाजा बजाउने व्यवस्था गरिएको छ।
२. चैत्र २७ गते (भैरवनाथको पूजा र रथारोहण): यस दिन बिहानैदेखि श्री भैरवनाथको विशेष पूजा र रथमा देवता विराजमान गराउने मुख्य कार्यहरू हुनेछन्:
-
बिहान ५:०० बजे: पुजारी बालकृष्ण कर्माचार्यद्वारा भैरवनाथको नित्य पूजा।
-
बिहान ६:०० देखि ११:०० बजेसम्म: नगरका विभिन्न टोलका भक्तजन, भजन टोली, र गुठीयारहरूबाट पालैपालो पूजाअर्चना।
-
बिहान ११:०० बजे: बेताल देवतालाई बाहिर ल्याई पूजा गर्ने र श्री भैरवनाथको विशेष पूजा गर्ने।
-
दिउँसो २:०० बजे: तलेजुका पुजारी राजोपाध्यायलाई 'खड्ग' बुझाउने र तलेजुमा उपस्थिति भई भैरवनाथतर्फ प्रस्थान गर्ने।
-
दिउँसो २:१५ र २:३० बजे: श्री भैरवनाथ र श्री भद्रकालीको गुह्य पूजा सम्पन्न गरी देवताहरूलाई आ-आफ्नो रथमा विराजमान गराइनेछ।
सांस्कृतिक महत्व र व्यवस्थापन
नेवारी संस्कृति र भक्तपुरको पहिचानसँग जोडिएको यो जात्रालाई मर्यादित बनाउन विभिन्न समुदाय र निकायको भूमिका तोकिएको छ। जसमा भैरव नाइकेहरू, सिकर्मी नाइके, मानन्धर समुदाय, र कुस्ले बाजा टोलीको विशेष सहभागिता रहने गुठी संस्थानले जनाएको छ।
यो जात्रा हेर्न र सहभागिता जनाउन भक्तपुरका स्थानीय लगायत देशभरबाट दर्शनार्थीहरूको ठूलो घुइँचो लाग्ने गर्दछ। संस्थानले जात्रालाई शान्तिपूर्ण र समयमै सम्पन्न गर्न सबै सरोकारवालाहरूलाई अनुरोध समेत गरेको छ।
फाेटाेमा हेर्नुहाेस्...
.jpg)