नेकमा गरियो नवआगन्तुक विद्यार्थीलाई स्वागत


कार्तिक २९, २०८१, बिहीबार | विहान ०८:२४ बजे | 40


नेकमा गरियो नवआगन्तुक विद्यार्थीलाई स्वागत

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा सन् २०२४ मा भर्ना भएका नयाँं व्याचका नवआगन्तुक विद्यार्थीहरुलाई विहीबार भव्य कार्यक्रम गरी स्वागत गरिएको छ । नेक २०२४ व्याचलाई आरेन्टेशन गरिएको कार्यक्रमको उदघाटन प्राचार्य दुर्गाप्रसाद भण्डारीले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए । 
कार्यक्रममा कार्यरत प्राध्यापकहरुले दिगो विकासमा इन्जिनियरहरु लाग्नुपर्ने आवश्यकता औंल्याए । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका प्राचार्य सहप्राध्यापक दुर्गाप्रसाद भण्डारीले नवअहागन्तुक विद्यार्थीलाई स्वागत गर्दै विद्यार्थीलाई प्रमाणपत्र मात्रै नदिई शीप पनि दिएर पठाउने प्रतिवद्धता जनाए । उनले विद्यार्थीको शैक्षिकलगायतको विकासमा कलेज प्रतिवद्ध भएर लाग्ने बताए । 
नवनियुक्त उपप्राचार्य एवं सहप्राध्यापक मोहनध्वज केसीले इन्जिनियरहरुले दिगो भौतिक निर्माणमा पनि ध्यान दिनुपर्ने बताए । उनले देश विकासमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने पनि चर्चा गरे ।   
४० वर्षदेखि पुल्चाक इन्जिनियरिङमा शिक्षण गराई सेवा निबृत भई नेकमा सेवा थालेका प्राध्यापक दीपक पन्तले नयाँं इन्जिनियरिङका विद्यार्थी यस विषयमा अहिले नै संवेदनशिल हुनुपर्ने बताए । उनले नेपालका कुरुप सहरहरुलाई सुन्दर बनाउन इन्जिनियर लाग्नुपर्ने  आवश्यकता पनि औंल्याए । सिभिल, आर्र्किटेक्टलगायतका इन्जिनियरहरु पेशाका साथसाथै समग्र समाजको भौतिक अवस्थालाई सुन्दर बनाउन पनि लाग्नुपर्ने उनले बताए । 
कार्यक्रममा कलेजका प्रशाशन प्रमुख श्रीमा शर्मा, मिडिया सिलेसन्स अफिसर आशिशकुमार झा, परीक्षा प्रमुख सम्झना श्रेष्ठ, प्रवेश परीक्षा परीक्षा संयोजक रुपेश दही श्रेष्ठ, आर्किटेक्ट विभागका प्रमुख अनिलकुमार रेग्मीलगायतले देश विकासमा इन्जिनियरको भूमिकाबारे चर्चा गरे । कलेजमा स्नातक सिभिल, आर्किटेक्ट, कम्प्युटर, इलेक्ट्रोनिक्स एवं कम्युनिकेशन,  सिभिल फर डिप्लोमा होल्डर्स, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स र सिभिल एण्ड रुरल विषयमा पढाई हुन्छ । नेकलाई पुल्चोकपछि यसलाई दोश्रो राम्रो इन्जिनियरिंगको पढाई हुने कलेज भनेर चिनिन्छ ।  

Comments