सकियो प्रगति पुस्तकालयको आधारभूत चित्रकला तालिम
भदौ २९, २०८१, शनिबार | दिउँसो ०१:४७ बजे | 20
भक्तपुर, २९ भदौ
प्रगति पुस्तकालयको आयोजनामा भएको तीन महिने आधारभूत चित्रकला तालिमको भक्तपुर आदर निकेतनमा शनिवार समापन भएको छ । विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि जेठ १ गतेदेखि भएको उक्त तालिममा विभिन्न विद्यालयबाट २३ जनाको सहभागिता रहेको छ ।
समापन कार्यक्रममा पुस्तकालयका पूर्व अध्यक्ष एवं नेपाल मजदुर किसान पार्टी, सूर्यमढी प्रारम्भिक समितिका प्रतिनिधि प्रेम प्रजापतिले वि.सं. २०३८ सालदेखि हालसम्म निरन्तर रुपमा समाजिक दायित्व बहन गरी समाजलाई सकारात्मक परिवर्तन गरेको बताउनुभयो । उहाँले समाजमा खुलेर विचार राख्न नपाएको त्यस समयदेखि नै पुस्तकालयबाट राजनीतिक, सामाजिक र सांस्कृतिक रुपमा जनचेतना जगाएको उल्लेख गर्नुभयो । समाजका हरेक पक्षलाई लिएर अघि बढेको उक्त पुस्तकालयले अहिले विद्यार्थी केन्द्रित चित्रकलाको तालिमको महत्व बताउँदै विद्यार्थीहरुका सोचलाई समाज परिवर्तनका लागि प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
तालिमका प्रशिक्षक विकास तमखुले निरन्तरको अभ्यासले पछिल्लो समयमा निकै सजिलो बनाउने बताउनुभयो । उहाँले सफल व्यक्तित्व निर्माणका लागि चित्रकलाको महत्व रहेको बताउँदै विभिन्न कला संग्रहालयहरुको अध्ययन भ्रमणले विद्यार्थीहरुमा सकारात्मक प्रभाव परेको बताउनुभयो ।
अभिभावक दिपक माकले एउटा तस्विरले हजार शब्दभन्दा बढी बताउने भएकाले चित्रकारले विषयवस्तुको महत्वअनुसार उतार्नुपर्नेमा जोड दिनुभयो ।
प्रोविस प्रजापतिले स्वागत गरेको उक्त कार्यक्रममा पुस्तकालयका अध्यक्ष रविन्द्र प्रसाद कुसी, जयराम कोजु, प्रगति बाल क्लबका अध्यक्ष प्रकृति प्रजापति र प्रशिक्षार्थीहरु स्पारा कोजु र विकल्प प्रजापतिले बोल्नुभएको थियो ।
तालिममा सहभागीहरुको मूल्यांकन गरी उक्त कार्यक्रममा सर्वोत्कृष्ट स्थान हासिल आलोक कोजू र प्रत्युशा राजोपाध्यायलाई पुरस्कृत गरिएको थियो । पूर्व अध्यक्ष प्रजापतिले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...