भाजुपोखरी परिसरमा बृहत छिकोङ खेल प्रदर्शन


साउन २८, २०८१, सोमबार | विहान १०:५४ बजे | 50


भाजुपोखरी परिसरमा बृहत छिकोङ खेल प्रदर्शन

भक्तपुर, साउन २८
भक्तपुर नगरपालिकाबाट नगरको १० वटै वडाहरुमा सञ्चालित छिकोङ खेल प्रदर्शन कार्यक्रम सोमबार भक्तपुर नपा वडा नं. १ स्थित भाजुपोखरी परिसरमा सम्पन्न भयो । 
विभिन्न वडामा प्रशिक्षणरत ४५० जना सहभागी भएको बृहत छिकोङ खेल प्रदर्शनीमा सम्बोधन गर्दै नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले छिकोङ श्वासप्रश्वाससँग सम्बन्धित शारीरिक व्यायाम भएको बताउँदै शारीरिक अभ्यास नियमित गर्न सके रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि हुने बताउनुभयो ।
नियमित शारीरिक अभ्यासले शरीरलाई सन्तुलित बनाउन मद्दत पु¥याउनुका साथै सन्तुलित खानपान र शरीरलाई आराम दिन सके स्वस्थ जीवनयापन हुने बताउनुभयो ।
पत्रु खाना (जंक फुड) ले पनि शरीरमा विभिन्न रोगहरु लाग्ने सम्भावना बढाउने भन्दै यस्ता खानेकुराको सेवन घटाउँदै जानुपर्ने भन्दै उहाँले सन्तुलित मात्रामा भोजन गर्न सके शरीर स्वस्थ हुने बताउनुभयो ।
समाजवादी व्यवस्थामा जनताका आवश्यकता र समस्याहरु सरकारले सम्बोधन गर्ने बताउँदै उहाँले धुम्रपान र मद्यपानबाट टाढा राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुदलाई मानव जीवनको अभिन्न अंगको रुपमा विकास गर्ने उद्देश्यले विद्यालयस्तरदेखि विद्यार्थीहरुलाई खेलकुद प्रशिक्षण, विभिन्न खेलहरुको प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।
नगरबासीहरुलाई स्वस्थ बनाउन नगरका विभिन्न ठाउँहरुमा व्यायामशाला स्थापना गरेको बताउँदै उहाँले छिकोङ व्यायाम शरीरको निम्ति महत्वपूर्ण भएकोले प्रशिक्षक नियुक्ति गरी सबै वडाहरुमा यसका प्रशिक्षण सञ्चालन गरेको स्मरण गर्नुभयो ।
शारीरिक व्यायाम मनोरञ्जनको हिसाबले नभई नागरिकहरुलाई स्वस्थ राख्ने उद्देश्यले सञ्चालन गरिएको बताउँदै उहाँले नागरिकहरुलाई स्वस्थ बनाउने भक्तपुर नपाको उद्देश्य भएको बताउनुभयो ।
नसर्ने रोगको जोखिम बढिरहेको हुँदा नागरिकहरुलाई यसबारे सचेतना जगाउने काम पनि नपाले गर्दै आएको बताउँदै उहाँले नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले निःस्वार्थ रुपमा देश र जनताको सेवा गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र भनपा ४ का वडाध्यक्ष उपेन्द्र सुवालले छिकोङ खेल प्रशिक्षणले नागरिकहरुको स्वास्थ्यमा रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि हुने भएकोले यो खेल निकै महत्वपूर्ण भएको बताउनुभयो । उक्त कार्यक्रममा भनपा वडा नं. ८ का वडा सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

भाजुपोखरी परिसरमा बृहत छिकोङ खेल प्रदर्शन
भाजुपोखरी परिसरमा बृहत छिकोङ खेल प्रदर्शन
भाजुपोखरी परिसरमा बृहत छिकोङ खेल प्रदर्शन
भाजुपोखरी परिसरमा बृहत छिकोङ खेल प्रदर्शन
भाजुपोखरी परिसरमा बृहत छिकोङ खेल प्रदर्शन

Comments