सहजै स्वास्थ्य सेवा पाउने वातावरण बनाउन लागिपर्छु ः स्वास्थ्यमन्त्री थापा
साउन २६, २०८१, शनिबार | विहान ०१:३६ बजे | 45
भक्तपुर ः बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेशअन्तर्गतका स्वास्थ्य संस्थाको विकासका लागि प्रदेश सरकारले हरेक किसिमले सहयोग गर्ने बताएका छन् ।
भक्तपुर उद्योग वाणिज्य संघले शुक्रबार संघको सभाहलमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले बागमती प्रदेशका सबै सरकारी एवं निजी अस्पताल लगायतका स्वास्थ्य संस्थालाई व्यवस्थित रुपमा संचालन गर्नको लागि प्रदेश सरकारले गर्नुपर्ने हरेक सहयोग गर्ने बताए । उनले स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकारलाई ध्यानमा राखी सबै क्षेत्रका जनताले सहजै स्वास्थ्य सेवा पाउने वातावरण बनाउन आफू लागिपर्ने भन्दै स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने सुझावहरु आफूलाई दिन आग्रह गरे ।
‘जनताले स्वास्थ्य सेवा पाउन कुनै पनि प्रकारले कठिनाइ भोग्नु नपरोस्, सहज रुपमा सेवा पाउन सकोस् भन्ने लक्ष्यका साथ स्वास्थ्य मन्त्रालयले काम गर्नेछ’, उनले भने, ‘जनताले स्वास्थ्य संस्थाबाट सहज रुपमा सेवा पाउने गरी आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ ।’ उनले ग्रामीण क्षेत्रका जनताले सामान्य स्वास्थ्य सेवा पाउन समेत निकै कठिनाइ भोगिरहनुपरेको भन्दै दूरदराजका जनतासम्म स्वास्थ्यको पहुँच पु¥याउने योजनाका साथ आफूले काम गर्ने बताए ।
आफूले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालिरहेको भए पनि शिक्षा, स्वास्थ्य र पर्यटनको विकासका लागि आफू लागिपर्ने उनको भनाइ छ । उनले भक्तपुर जिल्लाबाट प्रतिनिधित्व गरी आफू बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय सम्हालिरहेको हुँदा भक्तपुरवासीको शिर निहुरिने गरी कुनै किसिमको गलत काम नगर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जा, पूर्वअध्यक्ष एवं सल्लाहकार कृष्णप्रसाद ताम्राकार, निवर्तमान अध्यक्ष शिवप्रसाद मानन्धर, वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, महासचिव नविन प्रजापति लगायतले नवनियुक्त स्वास्थ्यमन्त्री थापालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।
फाेटाेमा हेर्नुहाेस्...