गृहिणीका नदेखिने व्यथाहरु


असार ३१, २०८१, आइतबार | दिउँसो ०१:४५ बजे | 0


गृहिणीका नदेखिने व्यथाहरु

सागर गुरागाईं 
सामान्यतया घरभित्रको र भान्छाको सम्पूर्ण काम महिलाहरुको भन्ने बुझाइ नेपाली समाजमा छ । तर महिलाहरुको काम घर सरसफाई, भान्छाको काम, भाँडाकुँडा सफा गर्ने, लुगा धुने जस्ता कार्य मात्रै होइनन् । ती काम त पुरुषहरुले पनि गर्न सकिन्छ । यद्यपि नेपाली समाजमा अझै पनि घरायसी कामहरु महिलाहरुले नै गर्नुपर्छ भन्ने सोच अनि व्यवहार देखिन्छ ।
गृहिणी अर्थात् घर सम्हाल्ने मान्छे । सोझो अर्थमा गृह व्यवस्थापक । घरपरिवोर, भान्सामा चाहिने सबै सामानको जोहो र व्यवस्थापन गर्ने मान्छे । खाना पकाएर खुवाउने र भान्सा सम्हाल्ने मान्छे । घर–परिवारमा सबैभन्दा धेरै समय काम गर्ने गृहिणी हुन् । सबैको चित्त बुझाउनुपर्ने पनि उनैले हो। कोही तातो खाने भए अर्कोले चिसो खाने भन्छ । कसैले पीरो मागे अर्कोले गलियो खान खोज्छ । तर, गृहिणीको कामको गणना हुँदैन । घर बस्ने न हो, अरु काम छैन भनेर दिनहुँजसो टिप्पणी गरिन्छ । यसले जीवनभर घर सम्हालेर बसेका महिलाले आत्मग्लानि महसुस गरेका छन् । घर सम्हाल्ने पुरुष पनि हुन सक्छन् । तर, हाम्रो समाजमा महिला धेरै छन् । घरजस्तै विद्यालय, कार्यालय, उद्योग प्रनिष्ठान सम्हाल्ने पनि व्यवस्थापक हुन्छन् । व्यवस्थापकको ओहोदा अरुभन्दा माथि हुन्छ । उनीहरुको खटनपटन र निर्देशन चल्छ । कसैले पदीय दायित्व, सोधे, उनीहरु गौरवसाथ भन्छन्, ’म व्यवस्थापक ।’ तर, घर सम्हाल्ने गृहिणीले कहिल्यै गौरव गर्दैनन् । बरु ’म गृहिणी मात्रै हो’ भनेर आफूलाई बेकामे ठानिरहेका छन्। सधैं घरपरिवारको सेवा–सुसारमा खटिने गृहिणीको काम किन देखिदैन ? सोझो जवाफ छ– अन्य व्यवस्थापकले काम गरेको पारिश्रमिक पाउँछन् । नगद आर्जन गर्छन् । तर, गृह व्यवस्थापक अर्थात् गृहिणीले जति नै काम गरे पनि पारिश्रमिक पाउँदैनन् । नगद नकमाउनेलाई हाम्रो समाजमा काम गरेको मानिँदैन । सामान्य गृहिणीको दिनचर्या हेरौं । बिहान ५ देखि सांढे ५ बजेभित्र उठिसक्नुपर्छ । त्यसपछि घरको सरसफाइ, नुहाइधुवाइ, मन्दिरको सरसफाइ र पूजाआजो । बच्चाबच्चीलाई दूध वा लिटो चियापानीको प्रबन्ध । स्कुले छोराछोरीलाई ९ बजेभित्रै र ठूलालाई खानाको जोहो र सिंगारपटार । श्रीमान् तथा परिवारको अफिस तयारी र खानपिन गृहिणीकै जिम्मा । भाँडावर्तन माझ्ने, लुगाफाटो धुने गरेर फुर्सद नहुँदै फेरि स्कुलबाट फर्कने बच्चाबच्ची र पाका पुस्ताको खाजाको जोहो । साना छोराछोरी छन् भने गृहकार्य गराउने जिम्मा गृहिणीकै । गाउँ हो भने मेलापात र पशु स्याहारको काम । बजार हो भने पनि घरयासी सामग्री किनमेल । साझको खाना र त्यसपछिको व्यवस्थापन । यति सक्दा रातिको १० बजिसक्छ । कम्तीमा पनि गृहिणी दैनिक १६ देखि १८ घण्टा काममा घोटिन्छन् । बिडम्वना, उनीहरुको कामलाई काम गर्निदैन । अन्तर्राष्ट्रिय श्रम ऐन भन्छ, ’८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम ।’ तर, दैनिक १८ घण्टासम्म काममै घोटिएका गृहिणीले यस्तो सुविधा कहिल्यै पाउँदैनन् । बाहिर काम गर्नेका लागि साप्ताहिक बिदा हुन्छ । चाडपर्व बिदा हुन्छ । तर, हाम्रा गृहिणीहरुको कहिल्यै बिदा हुँदैन । अरुको बिदा हुँदा अझ बढी काममा घोटिनुपर्छ । चाडपर्वमा झनै धेरै खटिनुपर्छ । जीवनैभर काम गर्ने बिनातलबका श्रमिक हुन्– गृहिणी । आफू नखाएर पनि परिवारलाई खुवाउने, आफूले दुःख खेपेर पनि परिवारलाई सुख दिने व्यक्ति हुन् गृहिणी । यो अनवरत खटाइको मूल्यांकन कसैले गरेको छैन । 
काम दुई प्रकारका हुन्छन् सेवामूलक र आयमूलक । पितृसत्तात्मक समाजले सैवामूलक धेरै काम महिलालाई सुम्पेको छ । उस्तै होस्, रकम आउने काम भए पुरुषले गर्छन् । तर, सेवा मात्रै भए महिलाले । केही उदाहरण हेरौं– मन्दिरमा पूजा गर्दा पैसा आउँछ, त्यो पुरुषले गर्छन् । घरमा पैसा आउँदैन, महिलाले पूजा गर्नुपर्छ । ठूलाठूला होटल–रेस्टुराँमा खाना बनाउने भान्से पुरुष हुन्छन् । तर, घरमा महिलाले पकाउनुपर्छ । पैसा पाइने भएपछि लक्का जवान केटाहरु पनि होटलमा हाँस्दै खाना पस्कन र जुठा भाँडा उठाउन आउँछन् । तर, तिनैले घरमा त्यस्ता काम गर्दैनन् । कार्यालयमा सहयोगी पुरुष हुन्छन् । उनीहरु कत्ति पनि असजिलो नमानी कार्यालय सैरसफाइ गर्छन् । तर, तिनै पुरुष घरमा सरसफाइको काम गर्दैनन्, गृहिणीलाई लगाउँछन् । हेपिएका र च्यापिएका छन्, गृहिणी । महिलालाई भान्सामा लगाउन उत्साहित गर्ने यौटा उखान छ, ’खाना त चुरा बजेकै मिठो । बेसवाल हाम्रा आमा, दिदी भाउजू यही उखानमा मक्ख परेर घर सम्हाले र गौरव महसुस गरे । अहिले महिला पढालेखा भए । आयआर्जन हुने बाहिरका काम पनि गर्न सक्ने भए । त्यसैले जीवनभर सेवामूलक घरयासी काममा अल्झाएर ’तिम्रो काम छैन’ भन्ने वचन सुनाउने समाजबाट गृहिणी दिक्क छन् । पुरुषको स्थायी काम हो– वीर्य उत्पादन र महिलाको स्थायी काम– गर्भवती हुनु, सुत्केरी हुनु, स्तनपान गराउनु । अरु सबै काम बाँड्न सकिन्छ । त्यसैले घरको काममा पुरुषले पनि सघाउने गरौं । महिला–पुरुष मिलेरै भान्सा सम्हालौं । मिलेर घर बाहिरको काम गरौं । महिला चाहन्छन् – खुरुखुरु कमाएर ल्याउनेभन्दा तिमीलाई सन्चो छ=छैन ? खायौ=खाएनौ ? सोधिदिने श्रीमान् । महिलाले परिवार सम्हालेकै कारण पुरुषलाई कति सहज भएको छ ? त्यसको लेखाजोखा गरौं । घर सम्हाल्ने महिलालाई बेकामे र बेरोजगार नभनौं । अब गृहिणी होइन, गृह व्यवस्थापक भनौं ।

Comments