भनपा ९ ले गरयो धुम्रपान तथा मध्यपानविरुद्ध जनचेतना


असार २९, २०८१, शुक्रबार | दिउँसो ०१:४१ बजे | 40


भनपा ९ ले गरयो धुम्रपान तथा मध्यपानविरुद्ध जनचेतना

भक्तपुर, असार २८ । भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा विहीबार स्थानीय वडावासी युवा, खेलाडी तथा महिलाहरुको भेला गरी धुम्रपान तथा मध्यपानविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न भयो । 

कार्यक्रममा वडाध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्तामा धुम्रपान र मध्यपान फेसन जस्तो बनेकोमा चिन्ता व्यक्त गर्दै कुलतमा फस्दा व्यक्ति एक जनालाई मात्र हानी नभई पूरै समाजलाई नकारात्मक प्रभाव पर्ने बताउनुभयो । सडक दुर्घट्ना, घरेलु हिंसा र सामाजिक अपराधको प्रमुख कारण धुम्रपान तथा मध्यपानको सेवन भएको तथ्यांकले पुष्टि गरेको चर्चा गर्दै उहाँले समाजलाई सभ्य, सुसंस्कृत र सुरक्षित बनाउन युवा पुस्तालाई कुलतबाट टाढा राख्नुपर्नेमा जोड दिनुभयो । 

ख्वप अस्पतालका डाक्टर रत्नसुन्दर लासिवाले विश्वमा सुर्तीजन्य पदार्थको सेवनले प्रत्येक ६ सेकेन्डमा एक जनाको मृत्यु भएको र प्रत्येक दिनमा १६ हजार ४३९ जनाको निधन भएको तथ्यांक प्रस्तुत गर्नुभयो । उहाँले नेपालमा पनि प्रत्येक घण्टामा २ जना र प्रत्येक दिनमा ४२ जनाको मृत्यु सुर्तीजन्य पदार्थ सेवनकै कारण भइरहेको बताउनुभयो । धुम्रपानले कसैलाई पनि फाइदा नगर्ने उल्लेख गर्दै डा. लासिवाले धुम्रपानको कारण शरीरदेखि पाइतलाको औंलासम्म पनि गम्भीर प्रकारको रोग लागी अंग नै काट्नुपर्ने अवस्था आएको तर्फ सचेत रहन आग्रह गर्दै बुवा आमाको कुलतले नवजात शिशुमा समेत असर पर्ने बताउनुभयो । 

कार्यपालिका सदस्य छोरीमैया सुजखूले धुम्रपान र मध्यपानकै कारण घरमा झगडा भई सम्पति समेत नष्ट भएका उदाहरणहरु प्रस्तुत गर्दै सरकारले गाँजा खेतीलाई प्रोत्साहित गर्नु गलत रहेको बताउनुभयो । उहाँले धुम्रपान र मध्यपानकै कारण कलिलै उमेरमा क्यान्सर, मृगौला फेल, दीर्घ दमखोकी लगायतका रोगहरु देखिएको बताउनुभयो ।

वडा सदस्य इन्द्र बहादुर प्याथले फिल्टरयुक्त चुरोट र विदेशी रक्सी तथा वियरले स्वास्थ्यलाई हानी गर्दैन भनी गलत प्रचार भईरहेकोमा सचेत हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा ९ नं. वडा खेलकुद समितिका अध्यक्ष राजेश प्रजापति र नगर स्वास्थ्य केन्द्रका कृष्णशोभा मिलापतिले धुम्रपान र मध्यपानको कारण हुने रोगहरुबारे प्रस्तुती गर्नुभयो । 


Comments