भक्तपुर क्यान्सर अस्पताल रेफर सेन्टर बन्दै


असार २८, २०८१, बिहीबार | दिउँसो ०३:३१ बजे | 80


भक्तपुर क्यान्सर अस्पताल रेफर सेन्टर बन्दै

भक्तपुर । अनेक आरोह अवरोह पार गरी क्यान्सर बिरामीको आशा र भरोसाको केन्द्र बन्न सफल भक्तपुर क्यान्सर अस्पताल अहिले आएर निजी अस्पतालहरूको निम्ति बिरामी रेफर गर्ने सेन्टर जस्तै बन्दै गएको अनुभव बिरामी र बिरामीका परिवारले गर्न थालेका छन् ।
अस्पतालमा उपचार गर्न पुगेका बिरामी र बिरामीका आफन्तका अनुसार त्यही अस्पतालमा पहिले १–२ दिनमा सम्पन्न हुने गरेको सिटी स्क्यानको प्रक्रिया अहिले आएर १०–१२ दिन लाग्ने बनाइएको छ । सिटी स्क्यानको पालो पाउन नै ७ दिन कुर्नुपर्ने र त्यसको रिपोर्ट पाउन थप ५ दिन कुर्नुपर्ने स्थिति बनाइएको छ ।
त्यस्तै अस्पतालको फार्मेसीमा औषधिको कमी अचाक्ली बढेको छ, आजको आजै हुने गरेको यूएसजीको प्रक्रियालाई तीन दिन लाग्ने बनाइएको छ र रेडियोथेरापी उपचारको पालो पाउन १ देखि डेढ महिना कुर्नुपर्ने अवस्था बनाइएको छ । जसले गर्दा जटिलता देखिएका बिरामीहरू डाक्टरहरूकै अनौपचारिक सुझावबमोजिम काठमाडौँ उपत्यकाभित्रका विभिन्न निजी अस्पतालहरूमा उपचार गराउन जान बाध्य भइरहेका छन् ।
एक बिरामीका परिवारका सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भन्नुभयो, “हप्तौँ पालो कुरेर उपचारको निम्ति जाँदा पनि कतिपय डाक्टरहरूले राम्ररी चेकजाँच गर्नुहुन्न, उल्टो छिटो बिरामी निको पार्ने हो भने विभिन्न निजी अस्पतालमा जान सुझाव दिनुहुन्छ ।”
डाक्टरले लेखिदिएका स्वास्थ्य बीमामा परेका औषधि पनि अस्पतालको फार्मेसीले छैन भन्ने गरेको र अधिकांश औषधिहरू बाहिरबाट किन्नु परेको भन्ने गुनासो पनि छ । उही औषधि अस्पतालको फार्मेसीमा नपाइने तर बाहिरका औषधि पसलमा पाइनुले औषधि अभावमा अस्पताल प्रशासनको कमजोरी स्पष्ट देखिएको छ ।
नेपाल सरकारले पूर्णतया आफ्नो स्वामित्वमा लिएको ४–५ वर्ष प्रगति र प्रतिष्ठाको उकालो चढ्न लागेको अस्पतालको प्रतिष्ठामा आँच पुग्ने क्रियाकलाप अहिले अस्पतालभित्रै देखिन थालेको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले अस्पतालमा अहिले पूर्ण योग्यता प्राप्त कार्यकारी निर्देशक नियुक्त गरेको छैन । करिब चार महिनाअघि प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठको कार्यकाल समाप्त भएपछि अर्को कार्यकारी निर्देशक नियुक्त नगरी अस्पतालका कनिष्ठ चिकित्सक डा. उज्ज्वल चालिसेलाई निमित्त कार्यकारी निर्देशक बनाइएको छ । अस्पतालको गठन आदेश–२०७७ मा अस्पतालको निमित्त कार्यकारी निर्देशक बन्न एघारौँ तहको चिकित्सक मात्र योग्य हुने स्पष्ट व्यवस्था छ तर तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीले नवौँ तहका चिकित्सक डा. चालिसेलाई निमित्त निर्देशकमा नियुक्त दिएका थिए ।
प्रशासनिक अनुभव खासै नभएका डा. चालिसेकै कारण अहिले अस्पतालको व्यवस्थापनमा कमी र लापरबाही देखिन थालेको बिरामी र सर्वसाधारणको कथन छ । कनिष्ठ चिकित्सक डा.चालिसेले कार्यकारी निर्देशकको भूमिकामा वरिष्ठ डाक्टरहरूलाई उचित आदर दिई अस्पतालको सेवा सुदृढ गर्न नसकेको बताइएको छ ।
अस्पतालको गठन आदेशमा अस्पतालको कार्यकारी निर्देशकमा रही काम गरिरहेको व्यक्तिले अन्य अस्पतालमा काम गर्न नपाउने बन्दोबस्त छ । तर, त्यस बन्दोबस्तको उल्लङ्घन भइरहेको पनि बताइएको छ ।
डा.चालिसे नेपाली काङ्ग्रेसको स्वास्थ्य विभागको वाग्मती प्रदेश समितिको सदस्य रहनुभएको र पार्टीकै सिफारिसमा निमित्त कार्यकारी निर्देशकमा नियुक्त भएको बताइएको छ ।
अस्पतालको सेवामा कुनै कमी नआएको बरू सेवा बढ्दै गएको तर स्वास्थ्यकर्मी र कर्मचारीहरूको तदारूकतामा कमी देखिएको अस्पतालका अस्पतालमै चर्चाको विषय बनेको छ । सेवामा तदारूकता नदेखाउनुमा पदीय व्यवस्थापनमा उनीहरूको असन्तुष्टि रहेको छ । नेपाल सरकारले आफ्नो मातहतमा लिइसकेपछिको गठन आदेश र नियमावलीमा पहिले नै लामो समयसम्म सेवा गरी स्थायी भइसकेका स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई करार भनिएको छ र त्यसले स्वास्थ्यकर्मी र कर्मचारीहरूको मनोबल र तदारूकता घटाएको छ । सरकारले उक्त नियमावली तत्काल संशोधन गर्नुपर्ने र २०–२५ वर्षदेखि कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई स्थायी गर्नुपर्ने माग उनीहरूको रहेको छ ।

Comments