भक्तपुर अस्पतालमा आइसीयु कक्ष र पीसीआर प्रयोगशाला उद्घाटन
कार्तिक २७, २०७७, बिहीबार | विहान ०८:३२ बजे | 5
भक्तपुर । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पतालमा ल्याइएको पीसीआर परीक्षण सेवा र सघन उपचार कक्ष (आइसीयु) को बिहीबार एक समारोहबीच उद्घाटन गर्नुभयो । भक्तपुर जिल्लामा कोरोना संक्रमण तीव्र बन्दै गएपछि समुदायस्तरमा कोरोना फैलिन नदिनको लागि भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित भक्तपुर अस्पतालमा प्रदेश सरकारको सहयोगमा पीसीआर परीक्षण सेवा औपचारिक रुपमा आजबाट सुरु गरिएको हो ।
उद्घाटन कार्यक्रममा प्रदेश मन्त्री दुलालले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक समीक्षा गर्दा भक्तपुर अस्पतालको प्रगति अरु अस्पतालको भन्दा उत्कृष्ट भएसँगै भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट अस्पताल हुन सफल भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल सावित भएकोमा खुशी प्रकट गर्नुभयो । उहाँले भक्तपुर अस्पताल हाल भक्तपुरलगायतका क्षेत्रहरूका बिरामीहरूको विश्वास जित्न सक्नु सबैको लागि खुशीको विषय भएको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले व्यवस्थित आइसोलेसन सञ्चालन गरी कोरोना संक्रमितहरूलाई आवश्यक परामर्श सेवा पनि दिइरहेको बताउनुहुँदै कोरोना जोखिमलाई ध्यानमा राखेर अनलाइनमार्फत शारीरिक व्यायाम पनि सुरुवात गरिसकेको बताउनुभयो ।
कोभिड महामारीबीच निजी अस्पताल जनताको सेवा भन्दा नाफा र संस्थागत फाइदाको निम्ति सञ्चालन भएको कुरा पुष्टि भएको बताउनुहुँदै प्रमुख प्रजापतिले सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय सकारात्मक भएको बताउनुभयो ।
बागमती प्रदेशका प्रदेश सदस्य डा. राजेन्द्रमान श्रेष्ठले वर्तमान समयमा भक्तपुर अस्पताल सञ्चालनमा ठूलो विकास भइरहेको बताउनुहुँदै जनप्रतिनिधि, प्रशासन, अस्पताल व्यवस्थापन, चिकित्सक र कर्मचारीहरूको सामूहिक प्रयासका कारण अस्पतालको प्रगति सम्भव भएको बताउनुभयो ।
मन्त्री दुलाल, नगर प्रमुख प्रजापति, प्रदेश सांसदलगायतले पीसीआर प्रयोगशालाको औपचारिक उद्घाटन पश्चात अस्पतालको सघन उपचार कक्ष (आइसीयु) को स्थलगत अवलोकन गर्नुभयो ।